‘जारी’ ले महिलालाई हिंसा नसहने सन्देश दिन्छ, बुढा छोड्न सिकाउँदैन : उपेन्द्र सुब्बा – Nepal Press

‘जारी’ ले महिलालाई हिंसा नसहने सन्देश दिन्छ, बुढा छोड्न सिकाउँदैन : उपेन्द्र सुब्बा

काठमाडौं । वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको चलचित्र हो ‘जारी’, जसको आज राजधानीमा एक कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजनिक गरियो । चलचित्रको मौलिक टिजरले जसरी प्रशंसा बटुलेको थियो, त्यसैगरी ट्रेलरले पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

आजको कार्यक्रममा चलचित्रको सम्पूर्ण टिमको उपस्थिति रहेको थियो । नायिकाहरु प्रियंका कार्की र शिल्पा मास्के पनि कार्यक्रममा आएर साथ दिएका थिए । यो चलचित्रबाट उपेन्द्र सुब्बा निर्देशनमा डेब्यू गर्दैछन् भने लेखन पनि उनकै हो । यो चलचित्रको कथा लिम्बू समुदायमा रहेको जारीप्रथामा आधारित छ ।

जारी भनेको सामान्यतय कसैको पत्नीले श्रीमानलाई छोडेर हिँडिन् भने माइती पक्षले ज्वाईंलाई क्षतिपूर्ति तिर्नुपर्ने प्रथा हो । तर लिम्बु समुदायमा भने ‘जारी’ लाई फरक तरिकाले लिने गरिन्छ । ‘जारी’ले लिम्बु छोरीचेलीको स्वतन्त्रता दर्शाउने लेखक सुब्बाले बताए ।

‘जारी लिम्बु समाजको कथा हो । लिम्बु समुदायका छोरी चेलीहरुले प्राकृतिक रुपमा आफ्नो जिवनसाथी छनौट गर्न पाउने स्वतन्त्रतालाई चलचित्रले उजागर गर्छ,’ उनले सुनाए ।

‘कबड्डी’ जस्तो सुपरहिट सिरिजका लेखक सुब्बाले सो चलचित्रभन्दा ‘जारी’को कथावस्तु फरक भएको जानकारी दिए ।

उनले व्याख्या गर्दै भने, ‘लिम्बु समुदायमा बाध्यता वा परिस्थितिवस विवाह हुँदा कुनै पनि छोरीचेलीले श्रीमानबाट पीडित हुनुपर्यो भने स्वैच्छाले आफूले रोजेको जीवनसाथीसँग दोस्रो विवाह गर्न पाउँछन् । यो हाम्रो छोरीचेलीहरु कोहीबाट उत्पीडित वा अपहेलित नहुन् भनेर दिईएको सुविधा हो । र यही नै जारी हो ।’

यस चलचित्रले महिलाहरुलाई श्रीमान छोडेर अर्कोसित हिँड्न हौसला दिने त होइन ? भन्ने प्रश्नमा सुब्बाले हाँस्दै जवाफ दिए, ‘त्यसरी हौसला त दिँदैन । हामी अहिले विश्वका धेरै कुरा मोबाइलबाटै थाहा पाउँछौं, तर आफ्नै देशभित्रका समुदायको चालचलन र रितिरिवाजबारे अनविज्ञ छौं । यो लिम्बु समाजकोे रीतिरिवाज र संस्कृति कस्तो छ भन्नेबारे बुझाउन बनेको चलचित्र हो ।’

उनले थपे, ‘जारीले महिलालाई हिंसा नसहनु भन्ने पाठ सिकाउँछ । तर बुढा छोड्न सिकाउने होइन । मनमुटाव त सबैमा हुन्छ । जिन्दगी भनेको मिलेर चलाउने हो।’

‘कबड्डी ४’ पछि दयाहाङ राई र मिरुना मगरको हिट जोडी यो चलचित्रमा दोस्रोपटक देखिँदैछ । कार्यक्रममा मिरुनाले आफ्नो आमा पनि लिम्बु नै भएको र त्यहीँ संस्कृति देख्दै आफू पनि हुर्केकाले गर्दा आफूलाई चलचित्र गर्न थप उत्साह मिलेको बताईन् ।

‘जारी’ सँगै एउटै मितिमा दयाहाङ अभिनित अर्को चलचित्र ‘विहे पास’ पनि रिलिज हुँदैछ । मतलव वैशाख १ गते दयाहाङ आफ्नै चलचित्रसँग प्रतिस्पर्धा गर्दैछन् ।

‘जारी’ र ‘बिहे पास’ दुवै चलचित्रबारे बोल्दै दयाहाङले भने, ‘दुई चलचित्र एकैदिन आउँदैछन् । त्यसलगत्तै म अर्को चलचित्रको सुटमा पनि जाँदैछु । म यसलाई भार मान्दिन । म एउटा कलाकार हो र कलाकार भएपछि मैले गर्ने काम नै यही हो, सिनेमा र नाटक । एक त हाम्रो समय नै यस्तै पर्छ । सिजन पनि हो । छायांकन र रिलिज दुवैको समय चापाचापमा पर्छ । यो एउटा प्रकृया हो । त्यसैलाई यसलाई भार भन्दा पनि एउटा प्रकृया सम्झेर आनन्दले लिएको छु ।’

विभिन्न समुदायहरुको कथावस्तुमा बनेको चलचित्रमा काम गर्दा आफूलाई रमाइलो लाग्ने दयाहाङले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *