उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा उमेशलाल समूहको क्लिनस्वीप – Nepal Press

उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा उमेशलाल समूहको क्लिनस्वीप

७ वटै प्रदेशमा चुनिए सर्वसम्मत अध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरूमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरू सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबारसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समूह समर्थित व्यवसायी प्रदेश अध्यक्ष जितेका छन् ।

महासंघको कोशी प्रदेशमा आजै मात्र राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्ति चयन भएका हुन् । सुरूमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रूपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । यसैगरी सोही समूहबाट बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूरपश्चिममा शंकर बोगटी सर्वसम्मत भएका छन् । महासंघको मधेस प्रदेशमा पनि उमेश समूहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल समूहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भए । महासंघको प्रदेश अधिवेशनमा ७ वटा प्रदेशमा उमेश र दिनेश श्रेष्ठ समूहले अध्यक्षमा उम्मेदवारी उठाउँदा वरिष्ठ उपाध्यक्षमा अन्य प्रत्यासीले भने उम्मेदावर उठाउन सकेका थिएनन् । वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले वरिष्ठमा उमेशलाल श्रेष्ठलाई समर्थन गर्दै आफू पुनः उपाध्यक्षमै उठ्ने घोषणा गरेकाले उनको सम्भावना बलियो भएको एक जिल्ला अध्यक्षले जानकारी दिए ।

‘व्यवसायीका हरेक समस्यामा साथ दिने भएकाले पनि जिल्लार नगरमा दिनेश दाइको राम्रो प्रभाव रहेको छ,’ एक जिल्ला नगर अध्यक्षले भने, ‘उमेश दाइ र दिनेश दाई मिलेर एउटै टीम भएपछि मतका आधारमा जिल्ला नगर सबैभन्दा बलियो बनेको छ ।’

विशेषगरी जिल्ला नगरमा महासंघको प्रदेश अध्यक्षहरुको ठूलो प्रभाव भूमिका हुने भएकाले सबै प्रदेशमा उमेश समूहका अध्यक्षहरु चयन हुँदा त्यसले आगामी दिनमा हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको पकड राम्रो हुने सम्बद्ध जिल्ला अध्यक्षहरूको दाबी छ ।

वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र बस्तुगतको २० प्रतशित मतभार रहन्छ । जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठूलो भुमिका रहन्छ ।

यसैगरी उमेशलाल श्रेष्ठलाई महासंघको पूर्वअध्यक्ष चण्डीराज ढकाल, विनोदबहादुर श्रेष्ठ, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्वउपाध्यक्ष किशोर प्रधानको समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्ष बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफूलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर