को हुन् विश्वका २० प्रमुख अर्थतन्त्रको छाता संस्था ‘जी-२०’ का ‘शेर्पा’ हरू ? – Nepal Press

को हुन् विश्वका २० प्रमुख अर्थतन्त्रको छाता संस्था ‘जी-२०’ का ‘शेर्पा’ हरू ?

काठमाडौं । हालसालै नर्वेका नागरिक तथा ग्रिन बेल्ट एण्ड रोड इन्स्टिच्युटका सभापति इरिक सोलेमले भारतको नीति आयोगका पूर्वसीईओ अमिताभ कान्तलाई भेटे । अमिताभलाई भेट्दा उनले ‘जी-२० का भारतीय शेर्पा’ भनेर ट्विटरमा सम्बोधन गरे । इरिकले मात्रै होइन स्वयं अभिताभले पनि आफ्नो ट्विटर अकाउन्टको बायोको परिचयमा ‘भारतको जी-२० शेर्पा’ भनेर लेखेका छन् ।

आगामी सेप्टेम्बर ९ र १० (भदौ २३ र २४) मा नयाँ दिल्लीमा जी-२० शिखर सम्मेलन हुँदैछ । नेपालको संधियार भारत पहिलोपटक जी-२० शिखर सम्मेलनको आयोजक तथा सभापति भएसँगै शेर्पा शब्दको प्रयोगको बारेमा चासो भएको छ । इन्डोनेसियाले आयोजना गरेको बालीको जी-२० शिखर सम्मेलनपछि भारत जी-२० को सभापति भएको हो । भारतले सभापतित्व सन् २०२२ डिसेम्बर ३१ (२०७९ पुस १६) मा पाएको हो ।

भारतीय मिडिया, कूटनीतिक वृत्तदेखि सरकारी अधिकारीहरुसम्मले यो क्षणलाई ऐतिहासिक मौका भन्दै आएका छन् । संयुक्त राष्ट्रसंघ र सार्कमा जस्तो जी-२० को स्थायी सचिवालयको व्यवस्था छैन । जी-२० मूलतः त्रोइका पद्धतिले चल्छ । त्रोइकामा निवर्तमान सभापति, वर्तमान सभापति र आसन्न सभापति देशहरुले समन्वय गर्छन् । भारत अगाडि सभापति भएको इन्डोनेसिया र भारतपछि हुने ब्राजिल मिलेर त्रोइका समन्वय गरिरहेका छन् ।

विश्वका १९ वटा देश र युरोपेली संघ मिलेर बनेको विश्वको २० आर्थिक ब्लकको सिंगो नाम हो जी-२० । जी-२० ले विश्वको जनसंख्याको दुईतिहाइ, विश्वको जीडीपीको ८५ प्रतिशत र विश्व व्यापारको ७५ प्रतिशत हिस्सा ओगट्छ । जी-२० समूहमा दक्षिण एसियाको एक्लो सहभागी भारतमात्रै हो । एसियाका पनि ६ देश यो समूहमा छन् । भारतबाहेक चीन, जापान, इन्डोनेसिया, दक्षिण कोरिया र साउदी अरब जी-२० का एसियाली सहभागी हुन् । जी-२० का अरु सदस्यहरुमा अर्जेन्टिना, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, रुस, मेक्सिको, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ छन् ।

जी-२० मा जोडिने ‘शेर्पा ट्रयाक’ र ‘शेर्पा’

शेर्पा भन्नाले मूलतः दुई कुरामा बुझिन्छ । एक, नेपालको हिमाली क्षेत्रको जनजाति समुदाय शेर्पा हो । खासगरी नेपालकाे रोल्वालिङ, खुम्बु, मकालु, कञ्चनजंगा क्षेत्र र भारतको दार्जिलिङदेखि सिक्किमको उपल्लो थलोमा बस्ने समुदायलाई शेर्पा भनिन्छ । हिमाल आरोहणमा जोडिएका जनशक्तिलाई पनि पश्चिमाहरुले शेर्पा भन्ने गरेका छन् । शेर्पालाई समुदायमात्रै नबुझेर हिमाली क्षेत्रको कामलाई पनि भन्ने चलन सुरु भएको छ । हालसालै जर्मनीको विश्व च्यानल डीडब्ल्यूले सन् २०२३ जनवरी १२ मा बनाएको नेपालका महिला माउन्टेन गाइडबारेको समाचारमा गैरशेर्पा ट्रेकिङ गाइडहरु स्वस्तिका परियार र तिला रोकालाई पनि ‘शेर्पा’ भनेर सम्बोधन गरेको छ ।

हिमाली क्षेत्रका जनजाति, हिमाली क्षेत्रमा काम गर्नेहरुलाई मात्रै होइन पछिल्लो समयमा केही खास काम गर्ने कूटनीतिज्ञलाई पनि शेर्पा भन्न थालिएको छ । जी-२० का राष्ट्र तथा सरकार प्रमुखको तर्फबाट विभिन्न चरणका बैठक, संवाद, छलफल, अन्तरक्रिया गर्ने कूटनीतिक प्रतिनिधिहरुलाई पनि शेर्पा भन्ने गरिएको छ । जी-२० मा यो तरिकाले हुने छलफलहरुलाई शेर्पा ट्रयाक भन्ने गरिन्छ ।

शेर्पा ट्रयाकमा जोडिएका शेर्पाहरुको बैठक तारन्तार हुने गरेको छ । भारत सभापति भएपछिको जी-२० को शेर्पा बैठक सकिएको छ । पछिल्लो समयमा भारतीय जी-२० शेर्पा अमिताभ कान्तको सभापतित्वमा शेर्पा बैठक भारतले शहर उदयपुरमा सम्पन्न भएको थियो । चार दिन चलेको शेर्पा बैठक सन् २०२२ डिसेम्बर ४ देखि ७ गतेसम्म भएको थियो । भारतको सभापतित्वमा तयार भएका १३ कार्यसमितिका योजनामा शेर्पा बैठक समापन भएको थियो । उक्त शेर्पा बैठकका समाचारहरु विश्वभरमा मिडियाहरुमा आएका छन् ।

जी-२० मा मात्रै होइन जी-७ मा पनि शेर्पा बैठकहरु आयोजना हुने गरेका छन् । विभिन्न मिडियाहरुका अनुसार जी-२० र जी-७ मा प्रयोग हुने शेर्पा शब्द अरु कुनै नाम नभएर नेपाली हिमाली जनशक्तिकै नाममा प्रयोग भएको उल्लेख गरिएको छ । विकिपेडियाले नेपालका हिमाली आरोहणमा सहभागी हुने गाइड र भारी बोक्ने शेर्पा समुदायका जनशिक्तको नामबाटै शेर्पा शब्द लिएर जी-२० र जी-७ मा प्रयोग हुन थालेको लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर