हामी सबैको एउटै भनेको पार्टी देश र जनताको सेवा गर्नु हो : मन्त्री मोदी – Nepal Press

हामी सबैको एउटै भनेको पार्टी देश र जनताको सेवा गर्नु हो : मन्त्री मोदी

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाईहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो’ मन्त्री मोदीले आफूले सबैलाई न्यायको आँखाले हेर्ने समेत बताए । उनले भने, ‘मेरा लागि सबै बराबर हो, कसैप्रति मेरो आग्रह र पूर्वाग्रह रहँदैन, सबैलाई म न्यायको आँखाले हेर्छु ।’

मन्त्री मोदीले कर्मचारी जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेकाले पहिलो जनताको कामलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिए ।

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन

मन्त्री मोदीले पूर्वाग्रह भावना राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने समेत बताए । उनले भने, ‘निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छ भन्दा केही मान्छेमा छटपटि भएको छ । वृद्धि विकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।’

निजामती प्रशासनभित्रको बेथितिलाई सुधार गर्ने घर नै सामान्य प्रशासन मन्त्रालय भएको भन्दै मन्त्री मोदीले भने, ‘केही सुधार त गर्नैपर्छ, सही सुझाव र सल्लाहका लागि मेरो ढोका सदैव खुला छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर