खप्तड गोल्डकप सुरु, विजेतालाई २१ लाख नगद पुरस्कार – Nepal Press

खप्तड गोल्डकप सुरु, विजेतालाई २१ लाख नगद पुरस्कार

कैलाली । कैलालीको धनगढीमा बिहीबार मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् ।

मुख्यमन्त्री शाहले प्रदेशलाई विश्वभर परिचित गराउन खेलकुद क्षेत्रले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदले मानिसलाई अनुशासित र स्वस्थ राख्न मद्दत गर्ने उनको भनाइ छ ।

खेलकुद प्रतियोगिताको उद्‌घाटनसँगै आयोजक क्लबले मुख्यमन्त्री शाहलाई दुई बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ । प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्नुपर्ने र क्षेत्रीय रङ्गशाला धनगढीमा रात्रिकालीन खेल प्रतियोगिता सञ्चालन गर्न आधुनिक लाइट जडान गर्नुपर्ने क्लबको माग छ ।

छैटौं संस्करणको प्रतियोगिता चैत १८ सम्म चल्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका ६, दुई विदेशी, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *