च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन गर्न नमुना संकलन – Nepal Press

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन गर्न नमुना संकलन

मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादन गर्न च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमुना सङ्कलन तालिम सुरू भएको छ । एक साता लामो सो तालिमपछि स्थानीय किसानका १६० च्याङ्ग्रा गोठमा गई तालिम प्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८०० वटा च्याङ्ग्राको भुवा नमुना सङ्कलन गरिनेछ ।

नेपालमा पहिलो चोटि गर्न लागिएको च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ । मुस्ताङमा उत्पादन हुने च्याङ्ग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भुवाको नमुना सङ्कलन गर्न लागिएको हो ।

यही चैत १३ गतेसम्म च्याङ्ग्राको भुवा सङ्कलन तालिम र चैत १४ देखि २२ सम्म भुवाको नमुना सङ्कलन गरिनेछ ।

युरोपियन युनियनको सहयोगमा सञ्चालित ईयू-नेपाल व्यापार तथा लगानी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्याङ्ग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा मुस्ताङको घारापजोङ, दामोदरकुण्ड, बाराजोङ-मुक्तिनाथ, लोमाङथान र लो-घेकर गाउँपालिकामा यो तालिम तथा भुवा सङ्कलन कार्यक्रम सञ्चालन गरिँदैछ ।

उच्च गुणस्तरको ठानिएको नेपाली च्याङ्ग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुनसकेको थिएन । च्याङ्ग्रापालक कृषकबाट सङ्कलन हुने भुवाको गुणस्तरबारे पश्मिनाका ग्राहकहरू जानकार हुनु आवश्यक छ ।

कृषकका १६० गोठमा रहेका च्याङ्ग्राका बथानबाट प्रतिगोठ पाँच-पाँचवटा गरी ८०० वयस्क च्याङ्ग्रा छनोट गरिनेछ । सङ्कलित नमुना परीक्षण गर्न सुविधा सम्पन्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त पशु फाइबर परीक्षण प्रयोगशालामा पठाइनेछ ।

यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यको ओडिसा सेन्टर लिमिटेडकी डा. क्यारोल कर्भिङले आठ जना स्थानीय ऊन सङ्कलक किसानलाई ऊन कात्ने तालिम दिँदैछन् । तालिमका सहभागीले यसअघि सन् २०२२ मा गुणस्तरीय कश्मिरी ऊन कात्ने तालिम पाइसकेका छन् ।

‘नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङ्ग्रा भुवाको नमूना सङ्कलन अनिवार्य छ । नेपाली पश्मिनाको मूल्यलाई मजबुत बनाउन यो च्याङ्ग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भुवा सङ्कलन कार्यक्रम आयोजना गरिएको हो’, प्रशिक्षक क्यारोलले भने ।

स्थानीयस्तरमा यस तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले सङ्कलित भुवाको नमुनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा थाहा हुन सहयोग पुग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *