पुरानो संसद भवन नभत्काउन संसदीय समितिको निर्देशन – Nepal Press

पुरानो संसद भवन नभत्काउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो ।

नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए । उनले भने, ‘विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्‍यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ । पुर्खाको इतिहास मास्न हुँदैन । भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ ।’

निर्माणाधीन संघीय संसदमा संघीय पुस्तकालय समयसापेक्ष र व्यवस्थित ढङ्गको हुनुपर्ने सभापति शर्माले बताए ।

बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको मौलिकता, संस्कृतिलाई संरक्षण गर्न समितिको मार्गदर्शनलाई मन्त्रालयले स्वीकार गर्ने बताए ।

पुराना भवनको प्राविधिक अध्ययनअनुरुप कलाकृति संरक्षण गर्दै नयाँ भवन बनाउँदा पुराना आवरण र महत्व भल्किने हुनुपर्ने उनको भनाइ छ ।

शहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ भवन प्रविधिमैत्री र व्यवस्थित खालको हुने बताउँदै चैत मसान्तसम्म पुरानो संसद भवनको संरक्षणका लागि बाक्लो प्लाष्टिकले छोप्ने र पिपलको रुख हटाउने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा समितिका सदस्य मदनकुमारी शाहले आधुनिक प्रविधिका नाममा नेपालको कला, संस्कृति मास्न नहुने, राणाकालीन समयमा बनेको सिंहदरबार अहिले पनि अनुकूल रहेको तर निर्माणाधीन संघीय भवन साँघुरो रहेकाले समयमा सचेत रहन जरुर रहेको बताइन् ।

समिति र मन्त्रालयले सहकार्य गरेर पुरानो भवनको संरक्षण गर्नुपर्ने समिति सदस्य तुलसा दाहालले बताइन् । उनले शहरी मन्त्रालयलाई तत्काल पुरानो भवनको संरक्षणका लागि काम अगाडि बढाउन आग्रह गरिन् ।

त्यस्तै समितिका सदस्यहरूले पुरानो भवनले पञ्चायत, संसदीय व्यवस्था, गणतन्त्र झल्काउने रहेकाले तत्काल संरक्षण गर्ने काम सुरु गर्नुपर्ने र नयाँ भवन समयसापेक्ष इतिहास जोगाउने हुनुपर्ने, भवनको संरक्षण गर्न समितिले कानूनी सहजीकरण गर्ने विचार व्यक्त गरेका थिए ।

उनीहरूले नयाँ भवन प्रविधिमैत्री र व्यवस्थित ढङ्गको हुनुपर्ने, सिंहदरबारको आकर्षणका रूपमा हुनुपर्ने, कार्यान्वयनको गतिलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर