धनगढीका पत्रकारलाई टाउको फुटाउने धम्की, कारबाहीको माग गर्दै प्रहरीमा उजुरी – Nepal Press

धनगढीका पत्रकारलाई टाउको फुटाउने धम्की, कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

कैलाली । धनगढीका पत्रकार टेकसिंह धामीलाई ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । पत्रकार धामीलाई आफू नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् ।

धामी सम्पादक रहेको महेन्द्रनगर पोस्टमा प्रकाशित भएको ‘कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की’ शीर्षकको समाचारको विषयलाई लिएर धामीलाई धम्की आएको हो ।

‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दबाब दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसाबकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउँदै भनेका थिए ।

पत्रकार धामीलाई धम्की दिने अवस्थीलाई कारबाही गर्न पत्रकार महासंघ कैलालीले दबाब दिएको छ । आज जिल्ला प्रहरी कार्यालय कैलालीमा अवस्थीविरुद्ध उजुरी दर्ता गर्दै पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमालय जोशीले अवस्थी माथि कडा कारबाहीको समेत माग गरेका छन् ।

समाचारको विषयलाई लिएर यसरी धम्की दिनेलाई तत्काल पक्राउ गरेर कारबाही गरियोस् उनले प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पाललाई बताए ।

पत्रकार महासंघको नेतृत्वका धनगढीका करिब दुई दर्जन पत्रकार अवस्थीलाई कारबाहीको माग लिएर जिल्ला जिल्ला प्रहरी कार्यालय पुगेका थिए । पत्रकारको टोलीलाई प्रहरी प्रमुख जोशीले समाचारको बिषयमा धम्की लिने व्यक्तिलाई पक्राउ गरि तत्काल कारबाही गर्ने जनाए ।

यसैबीच पत्रकारलाई धम्की दिएको विषयमा पत्रकार महासङ्घ कैलाली, प्रेस चौतारी कैलाली र प्रेस चौतारी सुदूरपश्चिम प्रदेश, नेपाल प्रेस युनियन कैलाली लगायतले विज्ञप्ति जारी गरेर अवस्थीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर