पढाउने भन्दै सोलुखुम्बुबाट काठमाडौं ल्याइएका बालकसँग ४ महिना लगातार अप्राकृतिक मैथुन – Nepal Press

पढाउने भन्दै सोलुखुम्बुबाट काठमाडौं ल्याइएका बालकसँग ४ महिना लगातार अप्राकृतिक मैथुन

काठमाडौं । जर्मन नागरिक माइकल यगल काठमाडौं ओर्लिएलगत्तै एक वर्षअघि सोलुखुम्बु पुगे । ४८ वर्षीय माइकल खुम्बु पासाङ ल्हामु गाउँपालिका- ३ चौरीखर्कमा खाजा पसल सञ्चालन गर्ने एक परिवारसँग नियमित सम्पर्कमा रहे ।

आर्थिक अवस्था सामान्य रहेका परिवारका १२ वर्षीय छोरामाथि उनको नजर पर्‍यो । माइकलले ती बालकलाई काठमाडौं लगेर आफूले पढाइदिने भनेपछि परिवार दंग पर्‍यो । असोजको अन्तिम साता माइकलको जिम्मा लगाएर बालकलाई काठमाडौं पठाइयो ।

बालकका अनुसार उनीहरु बौद्धस्थित मन्डला होटलमा बसे । तर, बालकले आफू स्कुल जान पाउने सम्भावना नदेखेपछि माइकललाई सोधे- कहिलेबाट स्कुल जाने ?

माइकलले अहिले आफूसँग पैसा नभएकाले बैशाखबाट मात्र भर्ना गरिदिन्छु भने । एक सातापछि माइकलले अस्वाभाविक व्यवहार देखाउन थाले ।

उक्त व्यवहार चार महिनासम्म निरन्तर रह्यो । प्रहरीले विशेष सूचनाका आधारमा फागुनको पहिलो साता बालकलाई कपनको मेजेस्ट्री इटरी होटलबाट उद्धार गरी माइकललाई नियन्त्रणमा लियो । उनीहरु बस्ने कोठाबाट पुरुषको जनेन्द्रिय जस्तै देखिने प्लास्टिकका दुइटा वस्तु फेला पारिएकाको छ । बालकमाथि अप्राकृतिक मैथुन भइरहेको सूचना प्रहरीले पाएको थियो ।

पीडित बालकका अनुसार काठमाडौं आएको एक सातापछि माइकलले उनलाई अप्राकृतिक मैथुन गराएका थिए । कहिले प्लास्टिकको त कहिले आफ्नै यौन अंग बालकको मलद्वारमा छिराउने गरेको आरोप जाहेरीमा छ ।

माइकलले बालकलाई आफूले एकपटकमात्र अप्राकृतिक मैथुन गराउन खोजेको दाबी गरेका छन् । बालकले आफैं त्यसलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

सरकारी वकिलसँगको बयानमा माइकलले आफू विगत १४ वर्षदेखि नेपाल आउजाउ गरिरहेको बताएका छन् । माइकल र पीडित बालक दुई महिनाअघि मेजेस्टी इटरी होटलमा बसाइ सरेका थिए । त्यसअघि आफूहरु स्वयम्भूस्थित पहेंलो गुम्बामा करिब एक महिना बसेको माइकलको बयान छ ।

मन्डला होटलका म्यानेजर सागर लामा तामाङका अनुसार उनीहरु सुरुमा होटलमा बस्न आउँदा माइकलले बालकलाई कपन गुम्बामा पढाउन ल्याएको बताएका थिए । साँझको समयमा माइकल लामा ड्रेस लगाएर बाहिर निस्कने गरेको उनले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

सागरका अनुसार माइकलले चेक आउट हुने बेलामा सबै पैसा दिने बताएका थिए । तर, होटल बसेको ३१ दिनपछि आफ्नो पैसा आउँदैछ, अहिले बालकलाई भर्ना गरेर आउँछु भन्दै सक्कली पासपोर्ट जमानत राखेर दुवै जना निस्किएको उनले बताए ।

मेजेस्टी इटरी होटल व्यवस्थापनले पनि माइकल बालकसहित पुस २१ गते बस्न आएको बताएको छ । होटलमा ५० दिनसम्म बस्दा जम्मा १३ हजार ५ सय रुपैयाँमात्र दिएको र बाँकी पैसा आउँदैछ भन्दै भाका राख्ने गरेको म्यानेजर सुमन श्रेष्ठको भनाइ छ ।

माइकलविरुद्ध मुलुकी अपराध संहिताको दफा २२६ अनु्सार ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने सजाय माग गरिएको छ । अप्राकृतिक मैथुन गर्न नहुने कसुरअन्तर्गत उक्त सजाय माग गरिएको हो । यस्तै जबरजस्ती करणी गर्न नहुने कसुरअन्तर्गत दफा २१९ को व्यवस्थाअनुसार १४ देखि १६ वर्षसम्म कैद सजाय दाबी लिएर अदालतमा मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर