झापामा पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट, राजसंस्था पुनर्स्थापनाबारे छलफल – Nepal Press

झापामा पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट, राजसंस्था पुनर्स्थापनाबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले झापा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेटवार्ता गरेका छन् । भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशम्शेर राणा पूर्वराजालाई भेट्न झापा पुगेका थिए । पूर्वराजाकै प्रस्तावमा यो भेटघाट भएको बुझिएको छ ।

राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले भेटवार्ताका क्रममा पूर्वराजाबाट देशको अवस्थाबारे चिन्ता प्रकट भएको बताए ।

‘अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो,’ डा. लोहनीले भने । सबै राजनीतिक शक्तिहरुले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे ।

डा. लोहनीले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा पनि छलफल भएको बताए ।

‘मुख्य एजेन्डा यही नै थियो । उहाँबाट समग्र राजनीतिक विश्लेषण भयो, तर कसरी जाने भन्ने चाहीँ राजनीतिक दलहरुले निर्णय गर्ने विषय हो भन्ने धारणा व्यक्त गर्नुभयो,’ उनले भने ।

पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा छन् । केही दिनअघि उनी त्यतैबाट भारत भ्रमणमा गएर फर्किएका हुन् । उनी झापामा नै राजनीतिक भेटघाटहरु गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर