यामलाल कँडेलकाे दाबी : अर्काे निर्वाचनमा जतिसुकै दल मिलेपनि एमालेले बहुमत ल्याउँछ – Nepal Press

यामलाल कँडेलकाे दाबी : अर्काे निर्वाचनमा जतिसुकै दल मिलेपनि एमालेले बहुमत ल्याउँछ

सुर्खेत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आगामी निर्वाचनमा जतिसुकै दल मिले पनि एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

कँडेलले त्यसका लागि अहिलेदेखि नै अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिए ।

मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको तिला गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले वामपन्थी एजेन्डा र सहयात्री छाडेर माओवादी दक्षिणपन्थमा हिँडिरहेको आरोप लगाए । ‘कुनै बेला कम्युनिस्टमाथि झुटा आरोप लगाउने कांग्रेस आज माओवादीको बैशाखीबिना उभिन नसक्ने अवस्थामा पुगेको छ’, उनले भने, ‘आफ्नो नेतृत्वको अवसरवादी चरित्रका बारेमा माओवादीका इमानदार नेता–कार्यकर्ताले अब गम्भीर भएर सोच्नुपर्छ ।’

जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा (एमाले) का लागि सरकारमा जानु वा नजानु प्रधान विषय नभएको उल्लेख गर्दै भने, ‘हामीलाई एउटै कुरामा चिन्ता छ– कांग्रेस र माओवादीका कारण देश पछाडि धकेलिएको छ । दक्षिणपन्थी र उग्रवामपन्थीबीचको अप्राकृतिक गठबन्धनले जनताको समृद्धिको सपनामाथि तुषारापात भएको छ ।’

गाउँपालिका कमिटीका अध्यक्ष धनसिंह बुढाको अध्यक्षतामा आयोजित भेलामा केन्द्रीय सदस्यद्वय नगेन्द्र शाही (नेशनल) र दक्षिणा शाही, जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरी र गोर्ख बुढा, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाहीलगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य कृष्णकान्त चौलागाईंलगायत एमाले प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि कँडेलले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर