तिलोत्तमा गोल्डकपमा नेपाल पुलिस क्लबलाई रोक्दै मनाङ मर्स्याङदीको सेमीफाइनल यात्रा – Nepal Press

तिलोत्तमा गोल्डकपमा नेपाल पुलिस क्लबलाई रोक्दै मनाङ मर्स्याङदीको सेमीफाइनल यात्रा

रुपन्देही । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा विभागीय टीम नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै मनाङ मर्स्याङदी क्लब सेमीफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा सुरुवाती अग्रता लिएको मनाङ मर्स्याङदीले अन्तिम समयसम्म त्यसलाई कायम राखेको थियो ।

खेलको ३१ औं मिनेटमा मनाङ मर्स्याङदीका प्रसन्न श्रेष्ठले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यसैगरी पहिलो हापको अन्तिम समयमा अर्को गोल थपिएपछि मनाङका खेलाडी उत्साहित भएका थिए । दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गरेका थिए ।

फुटबलमा नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडी जुमानु राई, भोला सिलवालसहितका प्रभावशाली खेलाडी सहभागी भएपनि नेपाल पुलिस क्लबका लागि मंगलबार खेल प्रभावकारी देखिएको थिएन ।

खेलको दोस्रो हापमा पुलिस क्लबका तर्फबाट १ गोल भएपनि जितका लागि त्यो प्रयाप्त भएन । नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले गोल गरेका थिए । बुधबार सेमीफाइनल खेल सुदूरपश्चिम र थ्रीस्टार क्लबबीच हुनेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको गोल्डकपमा दुई विभागीयसहित आठ टीम सहभागी छन् ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *