मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै वडाध्यक्षहरु आन्दोलित, हातमा कालोपट्टी बाँधेर विरोध – Nepal Press

मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै वडाध्यक्षहरु आन्दोलित, हातमा कालोपट्टी बाँधेर विरोध

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे समय सीमा सकिएपछि वडा अध्यक्षहरुले आन्दोलनका थप कार्यक्रम अघि बढाएका छन् ।

धरानका मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले निर्देशनात्मक पत्र पठाएको विषयमा कार्यपालिका बैठकमा कुरा उठाउने वडा अध्यक्षलाई मेयर साम्पाङले स्पष्टीकरण सोधेपछि थप विवाद भएको थियो ।

वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिएका थिए । तर, समय सीमाभित्र मेयरले माफी नमागेपछि वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर नियमित कामकाज गरेका छन् ।

त्यस्तै धरान कार्यपालिकामा नेतृत्व गर्ने दलका नेताहरुले नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु कार्यपालिका सदस्यको सहमतिविना नगर्न, नगराउन कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र सबै शाखालाई ध्यानाकर्षण विज्ञप्ति बुझाउँदै दलका नेतृत्वले मेयर साम्पाङ गैरजिम्मेवार भएकाले आन्दोलित हुनुपरेको बताए ।

दलका नेताहरुले धरानका सामाजिक विकास महाशाखा, सामान्य प्रशासन, स्वास्थ्य, योजना तथा इन्जिनियरिङ, आर्थिक विकास महाशाखा, शिक्षा महाशाखा, वातावरण तथा विपद् व्यवस्थापन, राजस्व परामर्श महाशाखा, नगर प्रहरीलगायतका शाखालाई ध्यानाकर्षण गराएका छन् ।

मेयरका निजी सचिवको हैसियतमा धरानका २० वटै वडामा अनधिकृत व्यक्तिले फागुन २९ गते निर्देशनात्मक पत्राचार गरेका थिए । पत्र सम्बन्धमा चैत १ गते कार्यपालिका बैठकमा मेयर साम्पाङले ‘मैले अह्राएको’ भनेपछि वडाध्यक्ष र मेयरबीच विवाद भएको थियो ।

बैठकमा १० नं वडाका अध्यक्ष विवेक राईले आफूले बोल्न पाउनुपर्ने र फरक मत राख्न पाउनुपर्ने बताएका थिए । उनले निर्वाचित जनप्रतिनिधिलाई अनधिकृत व्यक्तिले निर्देशनात्मक पत्राचार गरेकामा विरोध जनाएका थिए । सोही विवादका आधारमा चैत ३ गते मेयर साम्पाङले १० नं वडाध्यक्ष राईलाई नियमविपरीत लिखित स्पष्टीकरण सोधेका थिए ।

मेयर साम्पाङले ज्यादती गरेको भन्दै चैत ५ गते सम्पूर्ण कार्यपालिका सदस्यले प्रेस विज्ञप्तिमार्फत मेयरको ध्यानाकर्षण गराएका थिए । उनीहरुले अनधिकृत पत्राचार गर्ने निजी कर्मचारीलाई कारबाही गर्न र साम्पाङलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।

मेयर साम्पाङले समस्या समाधान गर्न कुनै पनि प्रयास नगरेकाले कार्यपालिकाका सम्पूर्ण सदस्यहरुको समन्वय र सहमतिविना दैनिक नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने किसिमका कुनै पनि निर्णय नगर्न, नगराउन कार्यपालिकाका संसदीय दलका नेताहरुले विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा धरान १८ नम्बरका वडाध्यक्ष नरेन्द्र राई, १५ नम्बरका वडाध्यक्ष नरेश ईवारम र १७ नम्बरका वडाध्यक्ष सूर्यबहादुर भट्टराईले हस्ताक्षर गरेका छन् ।

मेयर साम्पाङले अल्टिमेटमका विषयमा सम्बोधन गर्नुको सट्टा सामाजिक सञ्जालमार्फत् वडाध्यक्षलाई गाली गर्दै आएका छन् ।


प्रतिक्रिया

2 thoughts on “मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै वडाध्यक्षहरु आन्दोलित, हातमा कालोपट्टी बाँधेर विरोध

  1. धर्तीकाे बाेज, अन्नकाे नाश यी वडाध्यक्ष र कार्यपालिका सदस्यहरू । तिमारूकाे काम छैन।।।।।।।।

  2. Galat k garyo tyo lekha na hau Emaleko jhole haru. K chai gatal vayo tyo lekha. Mayer le afno wadadksha lai instruction dina pauchha nee. Sakine vayau timiharu yetai talale

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर