भोजपुर-उदयपुर जोड्ने दूधकोसीको पुल : अढाई वर्षसम्म सरेन मेलो – Nepal Press

भोजपुर-उदयपुर जोड्ने दूधकोसीको पुल : अढाई वर्षसम्म सरेन मेलो

काठमाडौं । भोजपुरलाई तराईसँग जोड्न छोटो दूरीमा रहेको दूधकोसी चुहारको मोटरेबल पुल निर्माण थालिएको अढाई वर्षसम्म मेलो सरेको छैन । दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको भोजपुर-उदयपुर सिमानाको यो पुल म्याद थपिएको ६ महिना पुग्न लाग्दासम्म १५ प्रतिशतजति मात्र काम भएको छ ।

गत कात्तिक ४ सम्ममा काम सक्ने गरी २०७७ असोज २१ गते ठेक्का सम्झौता भएको थियो । तर, पिलरको सामान्य कामबाहेक केही भएको छैन । अहिले आगामी असोज १३ सम्मलाई म्याद थप गरिएको छ ।

यातायात पूर्वाधार निर्देशनालय कार्यालय इटहरीका इन्जिनियर लक्ष्मीप्रसाद सापकोटाले सुरूमा गरेको डिजाइनमा केही फेरबदल गर्नुपर्ने देखिएको बताउँछन् ।

‘प्राविधिकहरू बसेर डिजाइन संशोधनको गृहकार्य हुँदैछ । अहिलेसम्म १५ प्रतिशतमात्र प्रगति देखिएकाले कार्यालयले निरन्तर ताकेता गर्छ ‘, सापकोटाले नेपाल प्रेससँग भने ।

पुल निर्माणको जिम्मा कालिका प्यासिफिक जेभीले लिएको छ । कालिका राप्रपा नेता निवर्तमान शहरी विकास मन्त्री विक्रम पाण्डेको कम्पनी हो । पाण्डेका ज्वाइँ ठाकुर कँडेल आयोजनामा आधिकारिक प्रतिनिधिको रूपमा छन् । ठेकेदारले भने सामग्री ढुवानीका लागि पहुँच मार्ग, फेरिएको डिजाइनलगायतका कारण देखाएर काम गर्न नसकिएको जिकिर गर्दै आएका छन् ।

पूर्वमुख्यमन्त्री शेरधन राईको अगुवाइमा सोमबार बसेको सर्वपक्षीय बैठकले थपिएको समयसीमामा पुल बनाइसक्न तातो लगाएको छ ।

राईले आफू मुख्यमन्त्री हुँदा २०७७ असोज २६ गते यो पक्की पुलको शिलान्यास गरेका थिए ।

​प्रदेश सरकारको योजनाअन्तर्गत बन्ने यो पुलको कुल लागत २१ करोड २३ लाख १२ हजार ४०७ रूपैयाँ (भ्याटसहित) छ । डिजाइन बिल (ठेकेदार आफैँले डिजाइन गरी बनाउने) बेसमा बनाउने गरी सुरूमा तीनपटक बोलपत्र खुलाइएकोमा कुनै पनि ठेकेदारले टेण्डर नहालेपछि पछि युनिट बेसमा नयाँ टेण्डर गरी सम्झौता गरिएको थियो ।

शिलान्यासताका मुख्यमन्त्री राईले भनेका थिए, ‘यो मेरो प्राथमिकतामा परेको पुल हो । प्रदेश सरकारको सबैभन्दा ठूलो लगानीमा बन्न लागेको पुल २४ महिना अवधि भएपनि एक वर्षमा सक्न निर्माण व्यवसायीलाई भनेको छु । समयमा गुणस्तरीय काम गरी पुल निर्माण सम्पन्‍न गरेमा यही स्थानमा कार्यक्रम गरेर उहाँलाई प्रदेश सरकारको तर्फबाट पुरस्कृत गर्ने घोषणा गर्न चाहन्छु ।’

यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जितेन्द्रकुमार कर्ण, ठेकेदार, प्रदेश सांसद सिर्जना राईलगायतको बैठकले योजनामा देखिएका समाधानका लागि सरोकारवाला सबैले आवश्यक भूमिका निर्वाह गर्ने, सुपरस्ट्रक्टरको संशोधित डिजाइन मंगलबार बैठक बसेर लिखित निर्णय गर्ने म्याद थपिएको समय २०८० असोज १३ सम्ममा काम सक्ने गरी तत्काल निर्माण अघि बढाउने सहमति गरेको छ ।

पूर्वमुख्यमन्त्री राईले झण्डै फुक्नै नसक्ने गरी गाँठो परिसकेको पाइएको भन्दै समस्याका कुनै पनि किस्ता बाँकी नराख्ने गरी खुलेर छलफल भएको बताए ।

‘केहीले कुप्रचार र स्टण्डबाजीमात्र गरे समस्याको चुरो बल्ल हिजो पत्ता लाग्यो । विकास निर्माणका काममा विधि र प्रक्रियासम्मत सहयोग सहजीकरण र नेतृत्वदायी जिम्मेवार भूमिका खेल्नुपर्छ ‘, उनले भने ।

अब रानीटार, सुन बालुवा र सतिघाटको पुलमा आफूहरूको ध्यान केन्द्रित हुने उनले बताए ।

केही समयअघि मात्र पर्यटनमन्त्री सुदन किराँतीले पनि स्थलगत अनुगमन गर्दै ताकेता गरेका थिए ।

चुहार पुलले भोजपुरको हतुवागढी-९ हसनपुर र उदयपुरको बेलका नगरपालिका-७ मा पर्ने मैनामैनीलाई जोड्छ । पुलको लम्बाइ ९० मिटर र चौडाइ (फुटपाथसहित) साढे १० मिटर छ ।

भोजपुर बजारबाट यो पुल करिब ६५ किलोमिटरको दूरीमा छ । अहिले भोजपुरवासीले धरानसम्म पुग्न हिले-भोजपुर राजमार्ग हुँदै १५४ किलोमिटर यात्रा तय गर्नुपर्छ ।

तराईका जिल्लासँग भोजपुरलाई जोड्ने सबैभन्दा छोटो रुटसँगै भौगोलिक तथा आर्थिकरूपमा पछाडि परेको दक्षिणी क्षेत्रको लाइफलाइनमा पुल महत्वपूर्ण रहेको हतुवाढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई बताउँछन् ।

‘हामीले स्थानीय सरकारको हिसाबले ठेकेदारदेखि यातायात पूर्वाधार निर्देशनालयसम्म पटकपटक ताकेता गर्‍यौं । हिजोको निर्णयले एउटा लय समातेको छ तर अब मनसुन सुरू हुने हुँदा अझै हामी सशंकित छौं । यद्यपि आशा गर्ने ठाउँ छ । निरन्तर सबैले खबरदारी गरौं’, अध्यक्ष राईले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर