भरतपुरकी मेयर रेणु दाहाललाई प्रश्न- रंगशालाबारे ‘खुशीको खबर’ कहिले आउँछ ? – Nepal Press

भरतपुरकी मेयर रेणु दाहाललाई प्रश्न- रंगशालाबारे ‘खुशीको खबर’ कहिले आउँछ ?

'प्रधानमन्त्री कार्यालयमा छलफल हुँदैछ, मन्त्रिपरिषदमा चाँडै प्रस्ताव जान्छ'

काठमाडौं । डेढ वर्षदेखि अलपत्र अवस्थामा रहेको चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुचारु गर्न गम्भीर पहल सुरु भएको छ । नेपालले एक दिवसीय मान्यता सुरक्षित गर्दै विश्वकप क्वालिफायर्समा पनि स्थान बनाएपछि उच्च राजनीतिक नेतृत्वसमेत रंगशालाका विषयमा गम्भीर देखिएको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले जनसहयोगमा निर्माण थालेको रंगशाला आर्थिक स्रोत अभावका कारण रोकिएको थियो । करिब ४० प्रतिशत काम सकिएको अवस्थामा रंगशालालाई निर्माणलाई निरन्तरता दिन नसकेपछि फाउन्डेसनले एक वर्ष अगाडि नै भरतपुर महानगरलाई स्वामित्व हस्तान्तरणका लागि पत्राचार गर्यो ।

तर, रंगशाला निर्माणका क्रममा १८ करोडभन्दा बढीको उधारो कसले कुन प्रक्रियाबाट भुक्तानी गर्ने भन्ने उपाय ननिस्किँदा स्वामित्व हस्तान्तरण हुन सकेको छैन । अहिले पनि रंगशालाको रेखदेख फाउन्डेसनले नै गरिरहेको छ ।

यसैबीच आज फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रंगशाला निर्माणस्थलमा नै पुगेर सरकारलाई चाँडो निर्णय लिन आग्रह गरे । उनले आफूमाथि लागेका आरोपहरुबारे स्पष्टीकरण दिँदै सरकारी निकायले रंगशालाको छानबिन प्रतिवेदन सार्वजनिक नगर्दा आफूलाई अवगाल आएको गूनासो गरेका थिए ।

प्रतिवेदन लुकाएको विषयमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई सम्पर्क गर्दा उनले बोल्न चाहिनन् । ‘उहाँले के भन्नुभएको छ भन्ने मैले सुन्न पाएको छैन । सुनेपछि मात्रै जवाफ दिन्छु,’ दाहालले भनिन् ।

मेयर दाहाल गत साता काठमाडौंमा आयोजना भएको नेपाल र यूएईबीचको म्याच हेर्न त्रिवि मैदान पुगेकी थिइन् । त्यहाँ उनलाई क्रिकेट समर्थकले छिटो रंगशाला निर्माण गर्न आग्रह गरेका थिए । त्यसपछि दाहालले सामाजिक सञ्जालबाट रंगशाला छिट्टै सुचारु हुने आश्वासन दिएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ ।’

दाहालले यसअघि पनि पटक–पटक रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गर्दै आएकी हुन् । यसपाली चाहीँ केही दिनमै खुशीको खबर आउने आश्वासनले क्रिकेटप्रेमीहरु आशावादी बनेका थिए । तर, त्यो खुशीको खबर अहिलेसम्म आएको छैन ।
यस विषयमा नेपाल प्रेसले दाहाललाई प्रश्न गर्दा उनले ठोस जवाफ दिइनन् ।

‘प्रक्रियाहरु मिलाएर निर्माण कार्य अगाडि बढाउने कुरा भइरहेको छ । हामी यसमा गम्भीर भएर लागेका छौं,’ उनले भनिन् ।
रंगशालाको विषयमा अब महानगरले नभएर केन्द्र सरकारले नै निर्णय लिने उनको भनाइ छ ।

‘महानगरले गर्नेजत्ति गरिसक्यो । अब केन्द्रले गर्ने हो । हामीलाई गाह्रो पारेको ऋणले हो । अरु केही पनि रोकावट छैन,’ उनले भनिन् ।

रंगशाला निर्माणमा आर्थिक समस्या नरहेको उनको दावी छ । यो आर्थिक वर्षमा पनि केन्द्रले २२ करोड र प्रदेशले ५ करोड छुट्याएको भन्दै दाहालले उधारो भुक्तानी हुनासाथ काम अघि बढाउन सकिने बताइन् ।

‘छुट्याएको बजेट पनि खर्च हुन नसकेर आर्थिक वर्ष अन्त्य हुन लागिसक्यो । ऋण तिर्न पनि आर्थिक अभाव भएर होइन । १८ करोड कुन ठूलो रकम हो र ? तर, कसरी तिर्ने भन्ने कानूनी आधार खोज्दाखोज्दै ढिलाइ भइरहेको छ,’ उनले थपिन् ।
दाहालले रंगशालाको विषयमा प्रधानमन्त्री कार्यालयमा विज्ञ टीमहरुले छलफल गरेर प्रस्ताव तयार गरिरहेको जानकारी दिइन् । छिट्टै यो प्रस्ताव मन्त्रीपरिषदमा पेश हुने उनको दाबी छ ।

‘केही न केही उपाय निकाल्ने गरी छलफल भइरहेको छ । आशा गरौं छिट्टै निकास निस्किएला,’ दाहालले भनिन् । स्वामित्व हस्तान्तरणपछि महानगरले टेन्डर प्रक्रियाबाट रंगशाला निर्माणका लागि ठेकेदार नियुक्त गर्ने दाहालले बताइन् । ठेकेदारले अहिलेकै डीपीआरमा काम गर्न सक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर