गठबन्धनमा संघदेखि प्रदेशसम्म नेकपा एसको दाबी, मन्त्रालयबारे आन्तरिक मतभेद – Nepal Press

गठबन्धनमा संघदेखि प्रदेशसम्म नेकपा एसको दाबी, मन्त्रालयबारे आन्तरिक मतभेद

जनतासँग जोडिएको कृषि, सिँचाइलगायत मन्त्रालय लिन सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा सरकारमा जाँदा लिने मन्त्रालयको विषयमा भतभेद भएको छ । सरकारमा सहभागिताबारे छलफल गर्न बसेको सचिवालयले बैठक पार्टीले लिने मन्त्रालयको विषयमा नेताहरूबीच मतभेद भएको हो ।

सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार अधिकांश नेताहरूले जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय आफूहरूले लिनुपर्ने धारणा राखेको बताए ।

ती नेताले भने, ‘अधिकांश नेताहरूले बैठकमा जनतासँग प्रत्यक्ष जोडिएको सिँचाइ, खानेपानी, शिक्षा, खेलकुद, स्वाथ्यलगायत मन्त्रालय लिनुपर्छ भन्ने राख्नुभएको छ । भने केही अन्य पार्टीले ठूला संवैधानिक पद लिइसकेकाले गृह, अर्थजस्ता ठूला मन्त्रालय लिनुपर्नेमा जोड दिनुभएको छ ।’

बैठकले गठबन्धन संघदेखि प्रदेशसम्मका भागबन्डाको विषय टुंग्याउन पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल छन् ।

पार्टीका मन्त्रीहरूले गर्ने काम, कस्ता नीति कार्यक्रमम, केन्द्रदेखि प्रदेशसम्मको विषयमा गृहकार्य गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले पार्टीले कति मन्त्रालय लिने भन्ने विषयमा आफूहरूले कतै नभनेको बताए । तीन वटा दाबी गरेर दुई मन्त्रालयमा चित्त बुझाउने तयारी भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामीले मन्त्रालयबारे केही बोलेका छैनौं । तपाईंहरूले यस्तो अनुमान गर्नुभएको छ भने तीनवटै भन्दिनुस् ।’

उनले विभिन्न क्षेत्रमा काम गर्ने मन्त्रालयहरू भएकाले अध्ययन गरेर कार्यदलले निर्णय लिने बताए ।

खतिवडाले भने, ‘मन्त्रालयहरूको वर्गीकरण गरेर कसरी काम गर्न सकिन्छ भन्ने गृहकार्य गर्छौँ । अहिलेसम्म गृहमन्त्रालको हामीले दाबी गरेका छैनौं । पाए त हुने हो । त्यसमा धेरैजनाको रुचि भइहाल्छ । तर, अहिलेसम्म व्यवस्थित छलफल गरेर यही मन्त्रालय चाहिन्छ भनेका छैनौं । अब कार्यदलले अध्ययन गरेर निर्णय गर्छ ।’

त्यसो त बैठकपछि सम्मानित नेता झलनाथ खनालले पनि सरकारमा जानुको उद्देश्य प्रष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘सकारमा कसरी जाने के उद्देश्यले जाने ? के नीति कार्यक्रमले जाने सरकारमा के कति हिस्सेदारी हुन्छ ? यस विषयमा छलफल गरेपछि मात्रै एउटा टुंगोमा पुग्ने भन्ने भएको छ । मन्त्रीमात्रै बन्नेभन्दा नीति कार्यक्रममा पनि प्रष्टता खोजेका छौं ।’


प्रतिक्रिया

4 thoughts on “गठबन्धनमा संघदेखि प्रदेशसम्म नेकपा एसको दाबी, मन्त्रालयबारे आन्तरिक मतभेद

  1. तिमीहरूले पाउने भनेको महिला मन्त्रालय हो ।

  2. घरमा काम गर्न राखेको नोकरलाई मालिकले जे काम लगायो त्यहि गर्छ । आफ्ना कुरा नसुनिए कहिलेकाही घुर्की लगाएर छोडिदिन्छु भन्छ । तर मालिकलाई थाहा छ त्यसको छोडेर जाने हैसियत छैन । त्यसैले मालिक उसको घुर्कीलाई सुने नसुने झै गर्छ । अन्त्यमा नोकर मुण्टिएर लुरूलुरू काम गर्छ । माधव नेपालको हैसियत पनि गठबन्धनमा त्यहि बेलाबेलामा घुर्की लगाउने नोकरको जस्तो भएको छ । रोज्ने पालो हाम्रो हो भन्छन । मालदार नपाए सरकारमा नजाने हो भन्छन । प्रचण्ड र देउवालाई थाहा छ यिनको जाने ठाउँ कहि छैन भनेर । अरू पछि दिउला भनेर अहिलेलाई महिला मन्त्रालय दिन्छन यिनलाई र त्यहि मन्त्रालय लिएर सरकारमा जान्छन । नीति त गठबन्धनको एउटै हो दिल्लीको आदेश पालन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर