रामचन्द्रको रिक्त स्थानमा शेखरको ‘हकदाबी’, २६ औँ वरियताबाट दोस्रोमा फड्को मार्लान् ? – Nepal Press

रामचन्द्रको रिक्त स्थानमा शेखरको ‘हकदाबी’, २६ औँ वरियताबाट दोस्रोमा फड्को मार्लान् ?

काठमाडौं । नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाकै पालादेखि प्रचलनमा ल्याइएको वरिष्ठ नेताको पदेन हैसियतमा डा. शेखर कोइरालाले दाबी गरेका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको सभापतिपछिको दोस्रो वरियताको सो पदमा डा. कोइरालाले दाबी बढाएका हुन् ।

कांग्रेस नेताहरूका अनुसार कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेर जान खोजेका डा. कोइराला पछिल्लो समय वरिष्ठ नेता पद लिन अग्रसर भएका छन् ।

गिरिजाप्रसाद कोइराला सभापति भएपछि उनीसँग पराजित शेरबहादुर देउवालाई वरिष्ठ नेता बनाएर सभापतिपछिको दोस्रो वरियता दिन थालिएको थियो । यद्यपि कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकता गर्दा देउवालाई सो पद दिइएको थियो ।

सो प्रचलनलाई सुशील कोइराला र शेरबहादुर देउवाले पनि निरन्तरता दिए । कोइरालाका पालामा पनि देउवा वरिष्ठ नेता थिए भने देउवासँग पराजित भएपछि रामचन्द्र वरिष्ठ नेता बनेका थिए ।

पछिल्लो पटक उनी सभापति नउठे पनि वरिष्ठ नेताको हैसियतमै थिए भने शेखरको वरीयता २६ औँ नम्बरमा छ ।

पौडेल राष्ट्रपति भएसँगै रिक्त रहेको दोस्रो वरियतामा आफ्नो हक लाग्ने भन्दै कोइरालाले देउवामाथि दबाब बढाएका छन् । उनी महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका थिए । शेखरले यसबीचमा देउवालाई भेटेरै आफूलाई वरिष्ठ नेता बनाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय देउवा र कोइराला नियमित संवादमा छन् र उनीहरुबीच राम्रो सम्बन्ध छ । अब विधान अनुसार देउवा कांग्रेसको सभापति बन्न नपाउने भएकाले विगतको गुटको आधारमा भन्दा देउवाको साथ खोज्न नेताहरूको प्रतिस्पर्धा छ ।

भविष्यमा देउवाकै समर्थनमा डा. कोइरालालाई सभापति बनाउन सकिन्छ भनेर सुनिल शर्मालगायत उनीनिकट नेताहरू अहिलेदेखि नै वातावरण बनाउँदै छन् ।

कांग्रेसमा विधानमा परिभाषित नभए पनि वरिष्ठ नेताको पद अब पदेन जस्तै भइसकेको छ । सभापतिपछिको शीर्ष वरियता पाइने भएकाले पनि यसको आकर्षण छ ।

वरिष्ठ नेतामा गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । यद्यपि पार्टीभित्रको सन्तुलन मिलाउन र भोलिका लागि आरजु देउवाप्रति सबै कांग्रेसको समर्थन लिनका लागि पनि देउवाले शेखरलाई वरिष्ठ नेता बनाउन सक्ने कतिपयको अनुमान छ । देउवाले शेखरलाई पार्टी कार्यालय सानेपामा बेग्लै कार्यकक्ष बनाइदिएर त्यसको संकेत गरिसकेका छन् ।

तर सभापतिमा प्रतिस्पर्धा गरेबाहेक कांग्रेसमा योगदान र इतिहासका आधारमा डा. कोइराला सिनियर नेता भने होइनन् । उनी २०६२/६३ पछि मात्र कांग्रेसको राजनीतिमा एकैपटक केन्द्रीय तहबाटै क्रियाशील भएका हुन् । सोही कारण कांग्रेसको कार्य सम्पादन समिति र वरियतामा उनी २६ औँ नम्बरमा छन् ।

यद्यपि सभापतिको प्रतिस्पर्धी र ४० प्रतिशत हिस्साको नेता भएकाले उनको दाबी स्वभाविक रहेको नेताहरू बताउँछन् ।

सरकारको नेतृत्व गरेर जान उपसभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा. शशाङ्क कोइराला लगायतका नेताहरू समेत लागेकाले यसपटक शेखर पार्टीमा आफ्नो दोस्रो वरियता स्थापित गर्न अग्रसर भएका हुन् ।

शेखरनिकट नेताहरू देउवा र उनको सम्बन्ध स्थापित गर्न लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर