कसरी गर्ने दाँत-मुखको सुरक्षा ? – Nepal Press
विश्व मुख स्वास्थ्य दिवस

कसरी गर्ने दाँत-मुखको सुरक्षा ?

दिवसका रुपमा कुनै दिनलाई विशेष प्राथमिकता दिई देशव्यापी/अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नुको उद्देश्य सोसम्बन्धी जागरण बढाउनु, नीति-नियमका बारेमा छलफल गर्नु र आवश्यक कदम चाल्न कार्ययोजना तर्जुमा गर्नु हुन्छ । स्वास्थ्य र सोअन्तर्गत पर्छ मुख स्वास्थ्य । एकै महिनामा दुइटा दिवस मनाउँदै गर्दा यससम्बन्धी राज्य र आमजनता कतिको सजग छन् भन्ने विषय महत्वपूर्ण छ । एकातिर स्वास्थ्य दिवस भनेर हामी ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा : निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नारासहित अघि बढेका छौं । तर, यहाँ थुप्रै कुरा व्याख्या गर्नुपर्ने देखिन्छ । दक्ष जनशक्ति भनेको कस्तो र को ? गुणस्तरीय स्वास्थ्य सेवा केलाई भन्ने ? त्यसलाई मापन गर्ने प्रणाली के छ ?

पछिल्लो समयमा स्वास्थ्य क्षेत्रलाई स्थानीय तहमा विस्तारित गर्ने क्रममा ५-१०-१५ शय्या अस्पतालको निर्माण देशव्यापी रुपमा गर्ने निर्णय गरियो । हालै स्वास्थ्य क्षेत्रमा देखिएको घटनाक्रम हेर्दा अहिले बिरामी/जनताको स्वास्थ्य क्षेत्रको अपेक्षा र सरकारले स्वास्थ्यप्रति लिएको नीतिमा ठूलो विभेद देखिन्छ । अहिलेको विश्वव्यापीकरणको समयमा विभिन्न विकसित देशका स्वास्थ्य प्रणाली र सेवाका बारेमा नागरिक सचेत छन् । स्वास्थ्य समस्या भई उपचार सेवाप्रति सेवाग्राहीले अपेक्षाअनुरुप सेवा नपाउँदा र विशेषगरी उपचार सेवापछि जटिलता आएमा चिकित्सकको ‘लापरबाही’ भन्ने नामकरण तत्काल हुने गरेका कैयौं घटना सर्वविदितै छ ।

यस्ता घटना हुनुमा एउटा प्रमुख कारण भनेको राज्यले संविधानअनुरुप जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसक्नु रहेको छ । सस्तो लोकप्रियताका लागि सबै राजनीतिक नारामा स्वास्थ्य समेटिने तर नियम, कानून र योजना तर्जुमामा ती कुरा प्राथमिकीकरण हुन नसक्दा समस्या उत्पन्न हुने गर्दछ । नागरिकको स्वास्थ्य अवस्थाको संरक्षण गर्न बनेको बीमा कार्यक्रमले गर्दा अस्पतालमा अनावश्यक भीड सिर्जना गर्दै गुणस्तरीय सेवामा झन् जटिलता थपेको देखिन्छ । स्वास्थ्य मन्त्रालय आफैंले स्वास्थ्य संस्थाअनुरुप त्यहाँ उपलब्ध हुने सेवा वर्गीकरण गर्न नसक्दा उपचारमा एकरुपता हुन सकेको छैन । अहिले ५-१०-१५ शय्या अस्पतालको औचित्य के ? त्यहाँबाट कस्तो उपचार सेवा लिने र सोको गुणस्तरको रक्षा गर्ने जिम्मा कसको ?

स्वास्थ्य मन्त्रालय आफैंले स्वास्थ्य संस्थाअनुरुप त्यहाँ उपलब्ध हुने सेवा वर्गीकरण गर्न नसक्दा उपचारमा एकरुपता हुन सकेको छैन । अहिले ५-१०-१५ शय्या अस्पतालको औचित्य के ? त्यहाँबाट कस्तो उपचार सेवा लिने र सोको गुणस्तरको रक्षा गर्ने जिम्मा कसको ?

विभिन्न निजी र सामुदायिक स्तरबाट सञ्चालित मेडिकल शिक्षण संस्था र अस्पताललाई नसमेटेर कसरी उपचार सेवालाई थप सुघारोन्मुख बाटोमा लान सकिन्छ ? अहिले सरकारीस्तरबाट भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा थप जटिल ल्याएको छैन ? यी र यस्ता थुप्रै अनुत्तरित प्रश्नका बीच निजी/सरकारी क्षेत्रबाट सबै स्वास्थ्यकर्मी/चिकित्सकलगायतले सकेसम्मको सेवा निरन्तर प्रदान गरेका नै छन् । त्यसैले स्वास्थ्य सेवा दिवस मनाउँदै गर्दा र आउँदा दिनमा स्वास्थ्यकर्मी/चिकित्सकलाई पनि केन्द्रमा राखेर कार्यक्रम आउन आवश्यक छ ।

मुलुकको भौगोलिक, आर्थिक र स्वास्थ्य अवस्था सुहाउँदो कार्यक्रम अहिले टड्कारो आवश्यक छ । यथार्थमा भन्नुपर्दा प्रत्येक नागरिकको घरदैलोमै सबै सुविधायुक्त, विशेषज्ञ सेवा भएको गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्य प्राप्ति गर्न ठूलो चुनौती छ । मुलुकको स्वास्थ्य सेवालाई हेर्ने दृष्टिकोणमा बृहत परिवर्तन आउन आवश्यक छ । मार्च २० मा मनाइन्छ ‘विश्व मुख स्वास्थ्य दिवस’ । २०१३ पहिला सेप्टेम्बर १२ मा मनाइन्थ्यो । नेपालको स्वास्थ्य नीति तथा कार्यक्रममा ‘मुख स्वास्थ्य’ले पनि स्थान पाओस् र प्राथमिकतामा पर्न सफल रहोस् भन्ने हो ।

मुख स्वास्थ्यमा बृहत जनचेतनाका कार्यक्रम गर्न आवश्यक छ । जुन अत्यावश्यक गैर-संक्रामक रोग हस्तक्षेप प्याकेज (PEN–package of essential noncommunicable disease intervention) अन्तर्गतका कार्यक्रमसँगै समावेश गर्नेतर्फ मन्त्रालय/विभागको ध्यानाकर्षण हुनुपर्छ । स्वास्थ्य विभागअन्तर्गतको सम्बन्धित शाखा अझ सशक्त रुपमा मुख स्वास्थ्यसम्बन्धी दीर्घकालीन योजनासहित अघि बढ्नुपर्छ । यस क्षेत्रमा आएका समस्याहरु, सहयोगीस्तरको कमीलगायतका थुप्रै समस्या लामो समयदेखि थाती रहेको छ । स्वास्थ्य मन्त्रालयले यस विधालाई छुट्टै पहिचान गरी कम्तीमा प्रादेशिक अस्पतालस्तरबाट दन्त सेवाका सबै विधाअन्तर्गतका बहुविशेषज्ञ (डेन्टिष्ट्रीअन्तर्गत ९ विभिन्न विशेषज्ञता हुन्छन्) सेवा र जिल्ला अस्पताल साथै स्थानीयस्तरमा दन्त चिकित्सकद्वारा आधारभूत दन्त सेवा प्रदान गर्ने व्यवस्था गर्नुपर्छ ।

हामीले नगरे कसले गर्ने ?

स्वास्थ्य सेवा र यस क्षेत्रलाई स्वास्थ्यकर्मी/चिकित्सक र बिरामी सबैको हकहितको संरक्षण हुने गरी विकास गर्न सबै क्षेत्रबाट पहल हुनुपर्छ । यसो भएमा यस क्षेत्रले मुलुकको दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ ।

(लेखक लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर