घरेलु मैदानमा भारतले व्यहोर्‍यो इतिहासकै ठूलो हार, अष्ट्रेलियाले ११ ओभरमै भेट्यो लक्ष्य – Nepal Press

घरेलु मैदानमा भारतले व्यहोर्‍यो इतिहासकै ठूलो हार, अष्ट्रेलियाले ११ ओभरमै भेट्यो लक्ष्य

काठमाडौं । अष्ट्रेलियाले भारतविरूद्धको दोस्रो एक दिवसीयमा १० विकेटको कीर्तिमानी जीत हात पारेको छ । भारतीय बलिङको धज्जी उडाउँदै अष्ट्रेलियाका ओपनरहरुले ११ ओभरमै ११८ रनको लक्ष्य भेट्टाए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो । अष्ट्रेलियाको धारिलो बलिङमा भारतीय ब्याट्सम्यानहरुले सहजै आत्मसमर्पण गरे ।

अष्ट्रेलियाका मिचेल स्टार्कले आठ ओभरमा ५३ रन खर्चेर पाँच विकेट लिएका थिए ।

भारतका लागि सर्वाधिक रन विराट कोहलीले बनाए । ३५ बलमा ३१ रन बनाएका कोहलीलाई नाथन एलिसले एलबीडब्लू धरापमा पारेपछि भारतीय ब्याटिङ धराशायी बनेको थियो ।

आठौं नम्बरमा आएका अक्षर पटेल २९ बलमा २९ नै रन बनाएर अविजित रहे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

११८ रनको झिनो लक्ष्य अष्ट्रेलियाका दुई ओपनरहरुका लागि ख्यालठट्टा बन्यो । उनीहरुले चौका र छक्काको वर्षा गर्दै ३९ ओभरको खेल बाँकी छँदै लक्ष्य भेट्टाए ।

मिचल मार्स ३६ बलमा ६६ र ट्राभिस हेड ३० बलमा ५१ रन बनाएर नटआउट रहे । मार्सले ६ छक्का र ६ चौका प्रहार गरेका थिए भने हेडले १० चौका हिर्काएका थिए ।

बाँकी बलको हिसाबले आज भारतले इतिहासमै सबैभन्दा फराकिलो हार व्यहोरेको हो । यसअघि न्यूजिल्यान्डले भारतलाई २१२ बल बाँकी छँदै हराएकोमा आज २३४ बल बाँकी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर