कालिकोटमा गठबन्धनका विद्यार्थीको ढुंगामुढाबाट अनेरास्ववियुका दुईजना घाइते – Nepal Press

कालिकोटमा गठबन्धनका विद्यार्थीको ढुंगामुढाबाट अनेरास्ववियुका दुईजना घाइते

फर्जी मत खसाइएपछि अनेरास्ववियुले गर्‍यो मतदान प्रक्रिया बहिष्कार

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसमा स्ववियु चुनावको क्रममा विवाद भएको छ । मतदान भइरहेको बेला फर्जी भोट हालेपछि अनेरास्ववियुले विरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार क्याम्पस प्रमुखले ५० जना फर्जी विद्यार्थी भर्ना गराएर फर्जी मत हालेको भनेर विरोध जनाइएको हो ।

अनेरास्ववियुले मतदान प्रक्रिया बहिष्कार गर्दै ती विद्यार्थी भर्ना खारेजीको माग गरेको छ । यहाँ अनेरास्ववियुबाट धर्मबहादुर शाही सभापतिका उम्मेदवार छन् ।

यस क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच गठबन्धन छ । लक्ष्मणबहादुर बम र अर्का एकजना घाइते भएका छन् ।

गठबन्धनका विद्यार्थीको ढुंगामुढाबाट आफ्ना विद्यार्थी घाइते भएको अनेरास्ववियुले जनाएको छ ।

केही विद्यार्थीले मतपेटिकालगायत मतदान सामग्री तोडफोड गर्न खोजेपछि अश्रुग्याँस प्रहार गरिएको कालिकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

उनले भने, `विवाद उत्पन्न भएपछि प्रहरीले सामान्य प्रहरी बल गरेको हो । अहिले मतदान चलिरहेको छ । कुनै समस्या छैन ।´


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर