सरकारमा जान ‘हेभिवेट’ नेताहरूकै लर्को लागेपछि कांग्रेसले तोक्यो मापदण्ड – Nepal Press

सरकारमा जान ‘हेभिवेट’ नेताहरूकै लर्को लागेपछि कांग्रेसले तोक्यो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा मन्त्री पठाउन मापदण्ड तोकेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेक सबै शीर्ष नेताहरू सरकारमा जान इच्छुक भएपछि मापदण्ड तोकेको हो।

आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मिलाएर पठाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए।

उनले भने, ‘प्रधानमन्त्रीले भोलि विश्वासको मत दिएपछि सरकारमा जाने प्रक्रिया अघि बढ्छ। हामीले कति मन्त्रालय पाउँछौँ भन्ने गठबन्धन दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। नेतृत्व तहले मोटामोटी गृहकार्य गरिरहेकै अनुसार हुन्छ। त्यसका लागि योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई पनि ध्यान दिएर पार्टी नेतृत्वले निर्णय गर्छ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने दाबी गरे। कांग्रेसबाट अहिले उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङसहित अधिकांश शीर्ष नेताहरू सरकारमा जाने पक्षमा छन्।

कांग्रेसबाट सरकारमा जाँदा उपप्रधानमन्त्रीसहित गृह, अर्थ, परराष्ट्रजस्ता महत्त्वपूर्ण मन्त्रालय पाउने भएकाले शीर्ष नेताहरु नै हौसिएका छन्।

उपसभापति खड्कासहित प्रकाश शरण महत, ज्ञानेन्द्र कार्की, उदय शमशेर जबरा, डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, किशोरसिंह राठोर, बद्री पाण्डे, मोहन बस्नेत, आरजु राणा देउवालगायत शीर्ष नेताहरूको नाम चर्चामा छ।

सत्ता गठबन्धनमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना छ। तर, पार्टीका शीर्ष नेताहरू नै मन्त्रीको दौडमा लागेपछि पार्टी सभापति देउवालाई मिलाउन हम्मे हम्मे पर्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर