जेल बसेर महँगिएका पल शाह : महोत्सवमा जान हेलिकोप्टर चार्टर, म्युजिक भिडियो खेल्न ३ लाखको डिमान्ड ! – Nepal Press

जेल बसेर महँगिएका पल शाह : महोत्सवमा जान हेलिकोप्टर चार्टर, म्युजिक भिडियो खेल्न ३ लाखको डिमान्ड !

काठमाडौं । बलात्कार मुद्दामा अदालतले सफाइ दिएपछि जेलमुक्त भएका अभिनेता पल शाहले आफ्नो ‘स्टारडम’ आफैँले बढाएका छन् । अब उनलाई म्युजिक भिडियो वा फिल्म खेलाउन मात्र होइन, महोत्सवमा उभ्याउन पनि पहिलेजस्तो सजिलो छैन ।

पल जेलबाट निस्किनासाथ उनको तात्कालिक ‘क्रेज’लाई हेरेर विभिन्न अफरहरूको ओइरो लागेको छ । म्युजिक भिडियोदेखि चलचित्रको लगातार अफर आइरहे पनि उनले अहिलेसम्म कसैसँग सम्झौता गरिसकेका छैनन् । उनको रेट सुनेर भने भिडियो निर्माताहरू तर्सिन थालेका छन् ।

जेल पर्नुअघि १ लाख रुपैयाँ लिएर भिडियो खेल्दै आएका पलले अहिले ३ लाखसम्म माग्न थालेको पाइएको छ । हालै उनीकहाँ अफर लिएर गएका एक संगीतकर्मीले एजेन्टमार्फत पलले ३ लाखको डिमान्ड गरेको बताए । सो डिमान्ड सुनेपछि पललाई नखेलाउने निष्कर्षमा उनी पुगेका छन् ।

पलले म्युजिक भिडियोमा कम ब्याक भने आफ्नै युट्युब च्यानलबाट गर्दैछन् । ‘तिमीलाई हेर्ने बानी पर्‍यो…’ बोलको हिट गीतको फिमेल भर्सनमा उनले भिडियो खेल्न लागेका हुन् । भिडियोमा उनकै लगानी रहने छ ।

सो गीतको मेल भर्सन एक वर्षअघि पलकै आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको थियो । पुष्पन प्रधानले गाएको सो गीतको भिडियोमा पल र केकी अधिकारीले अभिनय गरेका छन्, जसले अहिलेसम्म ६८ लाख भ्यूज पाएको छ ।

महोत्सवमा जान हेलिकोप्टर चार्टर

गत १५ फागुनमा जेलमुक्त भएका पल गत साता रुकुम महोत्सवमा सहभागी भए । जेलबाट निस्केपछि यो उनको पहिलो सार्वजनिक कार्यक्रम थियो । आयोजकले उनलाई हेलिकोप्टर चार्टर गरेर महोत्सव स्थलमा पुर्याएका थिए ।

आयोजक निकट स्रोतका अनुसार पलले नियमित उडानमा नजाने बताएपछि हेलिकोप्टर चार्टर गरिएको हो । यसका लागि १५ लाख रुपैयाँ खर्च भएको स्रोतको दाबी छ । सो हेलिकोप्टरमा पलले आफ्नी बहिनी रोशनीलाई सँगै राखेर लगेका थिए ।

पललाई हेलिकोप्टरमा लगेर पनि आयोजकलाई आर्थिक रुपमा घाटा भने भएन । जेलबाट निस्केपछिको पहिलो कार्यक्रम भएकाले रुकुम महोत्सवमा उनलाई हेर्न दर्शकहरूको ओइरो लागिहाल्यो ।

हजाराै‌ दर्शकले टिकट काटेर कार्यक्रम हेरेका थिए । उक्त कार्यक्रममा १०० सय रुपैयाँको टिकट राखिएको थियो भने विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको थियो ।

उक्त महोत्सवमा पलले दुईवटा गीत गाए र केही बेर नाचे । अनि आफ्नो जेल अनुभव पनि सुनाए । यति गर्नका लागि उनलाई ५ लाख रुपैयाँ पारिश्रमिक दिइएको बताइएको छ ।

कुल मिलाएर रुकुम महोत्सवमा पललाई उभ्याउन आयोजकले करिब २० लाख रुपैयाँ खर्चिनुपर्‍यो ।

हेरौं, पलले आफ्नो यो चर्को स्टारडम कति दिन कायम राख्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर