एक घण्टामै आएको रिप्लाई, जसले पूरा गर्‍यो सागरको सपना – Nepal Press

एक घण्टामै आएको रिप्लाई, जसले पूरा गर्‍यो सागरको सपना

धनगढी । स्कुल पढ्दादेखि नै सागर (खनाल)को रुचि इलोक्ट्रोनिक गजेटहरूमा थियो । मार्केटमा केही नयाँ चिज आउँदा उनी उत्साहित हुन्थे । मनमा अनेक जिज्ञासा उठ्थे, कसले बनायो होला ? के बनायो ? कसरी बनायो ? के प्रयोग गर्‍यो ? कहाँ कहाँ प्रयोग हुनसक्छ ? उनी गुगल र यूट्युब सर्च गर्थे र जिज्ञासा मेट्थे ।

यही जिज्ञासु स्वभावले उनको लत इलेक्ट्रिक गजेटहरूमा बस्दै गयो । उनी आफै पनि बिग्रिएका रेडियो, टिभी, उपकरणहरू खोलखाल गर्ने, बनाउने गर्न थाले । बिस्तारै स साना रोबर्टहरुबारे उनी जानकारी हासिल गर्न थाले । स्कुल उमेरबाट नै धनगढी आसपास क्षेत्रमा हुने रोबर्ट प्रतिस्पर्धामा पनि उनी सहभागिता जनाउँथे ।

कक्षा ११ मा उनी धनगढीस्थित एसपीए कलेजमा भर्ना भए । पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै आफूलाई अग्रसर देखाई रहने सागरले एसपीएमा रहेको ग्रीन क्लिन क्लबको सदस्यता लिए । कलेजले धनगढीलाई सफा र सुन्दर बनाउने लक्ष्यसहित उक्त क्लब गठन गरेको हो । जसमा विद्यार्थीहरूले विभिन्न सरसफाइ, वृक्षारोपण, सामाजिक जनचेतनामूलक कार्यक्रम आयोजना गर्थे । अघिल्लो वर्ष मात्रै क्लबमार्फत ५ हजार बढी वृक्षारोपण तथा विभिन्न कार्यक्रम भएका छन् ।

ग्रीन क्लिन धनगढीका निर्देशक हुन्, समुयल न्यौपाने । सागरलाई निकै सक्रिय देखेपछि उनीहरुबीचको सम्बन्ध पनि घनिष्ठ बन्दै गएको थियो । सागर समुयलसँग सुझाव सल्लाह लिन्थे ।

त्यहीक्रममा एकदिन भने, ‘दाइ, सानोतिनो रोबर्टहरु धेरै बनाए । मलाई होममेड कार बनाउन मन छ । तर लगानी ठूलो लाग्न सक्छ ।’

सागरको मनमा होममेड कार बनाउने सपना अलि अगाडि नै आएको थियो । उनले आफ्नो सपना परिवारमा पनि सेयर गरेका थिए । त्यो पहिलो लकडाउनको बेला थियो । सागरको इस्टमेड थियो, कम्तीमा उनले सोचेको कार बनाउन अढाई लाख रुपैयाँ लाग्दछ ।

धनगढी देवरियामा सागरको कच्ची घर छ । बुबा सामान्य अटो चलाउँछन् । आमा गृहिणी हुन् । जसोतसो घर चलिरहेको बुझे पनि उनले आफ्नो सपना सेयर गर्दा एक लाखसम्म जुगाड गरिदिन सक्ने बुबाले प्रतिबद्धता जनाएका थिए । तर एकलाखमा सामान्य कार त बन्थ्यो तर उनले सोचेअनुसारको कार नबन्ने भएपछि उनले सपना थाँती राखे ।

केही समयपछि त्यही सपना समुयलसँग सुनाएपछि समुयलले ग्रीन क्लिन धनगढीका संस्थापक अध्यक्ष सुवाश शाहीसँग एकपटक सम्पर्क गर्न सुझाए र इमेल उपलब्ध गराए ।

‘सुवाश सरको बारेमा धेरै सुनेको थिए । तर कहिले भेट भने भएको थिएन,’ सागर सम्झन्छन्, ‘‘उहाँले युवाहरुलाई प्रोत्साहन गरिरहेको पटक पटक सुनेको हो । समुयल दाईले भनेपछि मैलेपनि आँट गरेर इमेल गरे ।’

‘सर नमस्कार, म एसपीए कलेजमै कक्षा १२ मा पढ्दै छु । मसँग एउटा होम मेड कार बनाउने प्रोजेक्ट छ । एकपटक उक्त प्रोजेक्टबारे यहाँसँग सल्लाह गर्न चाहन्छु’, सागरले अघिल्लो वर्ष माघ १० गते शाहीलाई लेखेको इमेलको ब्यहोरा थियो ।

इमेल लेखेको एक घण्टा मै रिप्लाई आयो, ‘ओके, मेरो नम्बर यो हो, भोलि आएर मलाई अफिसमा भेट्नुहोला ।’

यो त्यही इमेल थियो, जसले सागरको ‘एसपीए इभी मोडल वान कार’ विद्युतीय कार बनाउने सपनालाई मूर्त रूप दियो ।

अर्को दिन सागरले शाहीलाई भेटे । आफ्नो प्रोजेक्टबारे सुनाए । शाहीले विस्तृतमा सोधे । काम गर्न सक्ने नसक्ने बुझेँ । अरूभन्दा के फरक हुन्छ सोधे र के आवश्यक छ बुझे ।

‘त्यसबेला अढाई लाख जति खर्च आउने अनुमान गरेको थिए । सो प्रस्ताव सरलाई राखे । सर सहजै तयार हुनुभयो,’ सागरले भने, ‘म दुई वर्ष एसपीएमा पढ्दा तिर्ने भन्दा त्यो कयौँ गुणा बढी पैसा थियो तर एउटा विद्यार्थीका लागि सरले देखाउनुभएको प्रतिबद्धताप्रति म नतमस्तक भए ।’

‘एकपल्ट पहिले म पढ्ने स्कुलबाट एउटा रोबर्टिक प्रतियोगितामा जाँदा एक हजार रजिस्ट्रेसन फी आवश्यक परेको थियो । तर लेखापालले प्रिन्सिपल, प्रिन्सिपलले लेखापाल, तल देखि माथि गर्दागर्दै मलाई निकै झेलाइएको थियो । अति नै भएपछि मैले त्यहाँ तपाईँहरूको पैसा चाहिन्न भन्दै रजिस्ट्रेसन फाराम नै च्यातेको थिए’ सागरले थपे, ‘यहाँ त हजार होइन लाखौँ रुपैयाँको बात थियो । सोही कारण त्यस्तै झेल्नुपर्ने हो कि भन्ने कता कता डर थियो । तर एसपीए मेरो सपनाको बाधक नभई सहयात्री बन्यो ।’

शाहीबाट ओके भएको दोस्रो दिनबाटै सागर आफ्नो सपनालाई आकार दिन लागेका हुन् । सामानहरू किन्न सुरुमै पैसाहरू चाहिने भयो । प्रस्ताव पास भएको १० दिनमै उनले पहिलो किस्ताबापतको २० हजार रुपैयाँ कलेजबाट पाए । त्यसले उनलाई झन् सहज बनायो । यसरी हरेकपल्ट उनी काम गर्दै आवश्यक परेको रकम कलेजले सहयोग गर्दै आएको थियो ।

त्यसको झण्डै ६ महिनापछि कार बनेर तयार भयो । गत साता धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एक कार्यक्रमबीच कार सार्वजनिक गरेका छन् । एसपीएका विद्यार्थीहरूले नगर परिक्रममा गर्दै उक्त कार बनेको खुशी साटेका थिए ।

कतिपयले उनले कार बनाएको नभई एसेम्बल(जोडजाड)मात्रै गरेको भन्ने गरेका छन् । तर दुवै तरिका अपनाइएको बताउँछन् ।

‘होममेड कारका लागि मोटर, इन्जिनजस्ता कतिपय जटिल पार्टपुर्जा हामीले बनाउन सम्भव हुँदैन । न त्यस्तो प्रविधि हामीसँग छ न त पुजी नै,’ सागरले भने, ‘त्यसबाहेक सम्भव भएसम्मका सम्पूर्ण पार्टपूर्जा मैले आफू बनाएको हुँ ।’

उनले चक्का अड्काउने हबहरु, डिफेन्सरहरु, स्टेरिङ, बडी पार्टहरू काटकुट र जोडजाडको काम आफै गरे । कलेजले उनलाई अत्यावश्यक हुने भएपछि वल्डिङ मेसिन पनि किनिदिएको थियो । रङरोगन, आवश्यकताअनुसार वल्डिङहरु पनि आफै गर्थे ।

कतिपय सामाग्रीहरू धनगढीमा सहजै पाउँथ्यो भने कतिपय सामाग्रीका लागि सीमावर्ती भारतीय बजार र काठमाडौं धाउनुपरेको अनुभव उनीहरूसँग छ ।

स्टेरिङ बनाउन उनले सबैभन्दा बढी समस्या झेल्नुपरेको थियो । कहिले पार्टपुर्जा नमिल्ने, अहिले ब्यालेन्स नमिल्ने, कहिले दायाँ, कहिले बायाँ बढी घुम्ने समस्याले उनको डेढ महिना बितेको थियो । अन्ततः निरन्तरको प्रयास पछि उनी स्मुथ स्टेरिङ बनाउन समेत सफल भए ।

विस्तारै कारले आकार लिँदै गयो, तर उनले सोचेअनुसार स्पोर्टस कार भने बनेन । पार्टपुर्जा र बाटोघाटो रह्यो । उनले कारलाई सकेसम्म सानो बनाउन खोजेका थिए । तर धनगढीको देबरियामा बस्दै आएका उनको घरको बाटोघाटो उबडखाबडयुक्त थियो ।

‘देखिँदा पनि आकर्षक देखिने स्पोर्टस कार बनाउने मेरो योजना थियो’ सागर भन्छन्, ‘तर बाटोघाटोको स्थितिका कारण सानो चक्का राख्न सम्भव भएन । कतिपय कुराहरू सामान उपलब्धता नहुँदा पनि सोचे अनुसार बनेन ।’

बाटोघाटो कै कारण सीमावर्ती भारतीय बजारबाट ल्याएका साना चिटिक्कका पांग्राहरु उनले कारमा राख्न पाएनन् । ती चक्काहरू राख्दा कारको बेसमेन्ट भुईँमा ठोक्किने अवस्था आउँथ्यो । सोहीअनुसार उनले सोचेअनुसार लुक्स दिन सकेनन् ।

त्यसबाहेक कार एकपटक चार्ज गरेमा ८० किलोमिटरको हाराहारीमा चल्न सक्छ । डेढ क्विन्टल भार बोक्न सक्छ । आवश्यकताअनुसार ब्रेकहरू मज्जाले लाग्छन् । ४५ किलोमिटर प्रतिघण्टाको स्पिडमा चलाउन सकिन्छ । चाभीमात्र नभई कार खोल्न पासवर्डको पनि आवश्यकता पर्ने भएकाले चोरी हुने सम्भावना रहन्न । अगाडिपछाडि क्यामरा जडित छ, मान्छे या कुनै बस्तु आउँदा अर्लाम बज्छ ।

६ महिनाको लगातार मिहिनेत र तीन लाखभन्दा बढीको खर्चपछि अन्ततः बुधवार कार सार्वजनिक गरियो । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार सार्वजनिक गर्दै सागरलाई बधाई दिनुभयो ।

‘अनुसन्धानलाई महत्त्व दिने देशले विकास गरेको छ । हामी अनुसन्धान भएका चिज किन्ने उपभोक्ता भयौँ र जहिले पनि पछाडि पर्छौ,’ मेयर हमालले भने, ‘युवाहरूलाई अनुसन्धानमा कसरी लगाउन सक्छौँ भनेर उपमहानगरपालिकाले पनि सोचिरहेको छ । आविष्कार हाम्रो धनगढी हामी बनाउँछाै भन्ने अभियानको पाटो पनि हो । यस्तै क्रियाकलापलाई प्रोत्साहन दिन आविष्कार केन्द्र खोल्ने सोच समेत हाम्रो छ ।’
मेयर हमालले एसपीए इभी मोडल वान कारको सवारी समेत गरेका थिए । सार्वजनिकमा प्रबन्ध निर्देशक शाही, क्याम्पस प्रमुख योगराज उपाध्याय, अध्यापकहरू तथा विद्यार्थीहरूले समेत कार चढेर खुशीयाली साटे ।

सागरले बनाएको कार सार्वजनिक गर्दा तरर… बजिरहेको ताली सुनेर गर्विलो महसुस गरिरहेका थिए, उनका बुबा कृष्णप्रसाद खनाल र आमा खुमादेवी । कार बनाउने क्रममा कयौँ दिन राति अबेरसम्म सागरसँगै बसेकी छिन आमा खुमादेवी ।

राति अबेरसम्म सागर कार बनाउनेक्रममा सागरले टकटक टुकटुक गरिरहँदा आमा खुमादेवी पनि सँगै हुन्थिन । उनले सागरको दुःख प्रत्यक्ष देखेकी छिन् ।

‘उसलाई खाना, पढाइभन्दा पनि यही कार महत्त्वपूर्ण बनेको थियो । दिनरातको उसको मिहिनेतले आज सबैका अगाडि यसरी सार्वजनिक गर्न पाइयो । सबैले ताली बजाउनुभयो,’ खुमादेवीले भनिन्, ‘छोराको सपना साकार बनाउन कलेजले, सुवाश सरले खेल्नुभएको भूमिकाको उच्च सम्मान गर्छु । उहाँहरूले गर्दा आज मेरो छोराले केही सकेको छ ।’

सागर एसपीए इभी मोडल वान कारलाई व्यावसायिक रूपमा पनि विकास गर्न सकिने बताउँछन् । घरमा धनगढी आसपासमा पाइने सामानहरू प्रयोग गरिदा ३ लाखमा बनेपनि व्यावसायिक रूपमा बनाउन १५ लाखसम्म बेच्न सक्ने गरी तयार पार्न सकिने उनको दाबी छ । हाल बजारमा उपलब्ध इलेक्ट्रिक कारहरू न्यूनतम ५० लाखको हाराहारीमा पाइन्छन् । तर थप साथ सहयोग पाए आफू निकै सस्तो मूल्यमा वातावरणमैत्री इलेक्ट्रिक कार बनाउन सक्ने उनको दाबी छ ।


प्रतिक्रिया

One thought on “एक घण्टामै आएको रिप्लाई, जसले पूरा गर्‍यो सागरको सपना

Leave a Reply to Sagar khanal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर