कान्छा कप्तानको अभूतपूर्व उपलब्धि – Nepal Press

कान्छा कप्तानको अभूतपूर्व उपलब्धि

काठमाडौं । यदि नेपाल क्रिकेट संघ (क्यान) र सिनियर खेलाडीबीच जुँगाको लडाइँ हुन्थेन भने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने जिम्मेवारी रोहित पौडेललाई यति चाँडो आउने थिएन । अनि सन्दीप लामिछाने निलम्बनमा नपरेको भए पनि रोहितले अहिल्यै यो गहन जिम्मेवारी सायदै पाउने थिए ।

एक वर्षअघि तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुशासनको कारबाही गरेपछि क्यानले सन्दीपलाई कप्तान र पौडेललाई उपकप्तानको जिम्मेवारी दिएको थियो ।

त्यसबेला क्यानको तर्क थियो, ‘उनीहरु युवा छन् र लामो समयसम्म खेल्न सक्छन् । त्यसैले भविष्यलाई हेरेर जिम्मेवारी दिइएको हो ।’

खासमा चर्को आलोचनाबीच पनि क्यान ज्ञानेन्द्र र दीपेन्द्रलाई पुरानै जिम्मेवारीमा फर्काउने पक्षमा थिएन । सन्दीपमाथिको कारबाहीले कप्तानको जिम्मेवारीमा रोहितलाई अघि सार्नुले पनि यो पुष्टि हुन्छ ।

रोहितका लागि यो नसोचेको, सायद तत्कालका लागि नकल्पेको अवसर थियो । तर, उनी गह्रुंगो जिम्मेवारीका लागि तयार भए । नेपाली क्रिकेटसामु चुनौतीको पहाड थियो । जिम्मेवारी पाइरहँदा उनी हरेक खेलमा चर्को आलोचना सहनुपर्ने परिस्थितिले जेलिएका थिए । नतिजाहरुले कप्तानको भूमिकालाई कति संकटमा पार्न सक्छ ? सानै उमेर भए पनि त्यो बुझ्नसक्ने अनुभव उनीसँग कम थिएन ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने र विश्वकपमा पुग्ने छनोट प्रतियोगिताका रुपमा रहेको विश्वकप लिग- २ मा नेपालको दयनीय अवस्थाले खेलाडीहरु सजिलै निदाउन सक्ने अवस्थामा थिएनन् । रोहितलाई कप्तानी दिइँदा नेपाल विश्वकप लिग- २ मा २० खेलबाट १७ अंक जोडेर तालिकाको छैटौं स्थानमा थियो । १६ खेल बाँकी थियो । तर, स्कटल्यान्ड, नामिबिया र यूएई जस्ता बलिया टोलीहरुसँग नेपालले ४-४ गरी कुल १२ खेल खेल्नु थियो । नेपाललाई एक दिवसीय विश्वकपको मान्यता जोगाइराख्न विश्वकप लिग- २ को शीर्ष ५ भित्र पर्नुपर्ने थियो । विश्वकपको विश्वस्तरमा छनोटमा पुग्न आवश्यक शीर्ष ३ भित्रको सफलता नेपालले तत्कालै सोच्न सक्ने अवस्था थिएन त्यसवेला ।

आफ्ना वर्ल्ड क्लास बलर सन्दीप थुनामा रहेका बेला रोहित विश्वकप लिग- २ को श्रृंखला खेल्न गत डिसेम्बरमा नेपाली टोली लिएर नामिबिया पुगे । त्यहाँ नेपालको प्रदर्शन निराशाजनक रह्यो । नेपालले चारमध्ये तीन खेलमा हार व्यहोर्‍यो । एक खेल रद्द भएर अंक बाँडियो ।

रोहितलाई कप्तानी दिइँदा नेपाल विश्वकप लिग- २ मा २० खेलबाट १७ अंक जोडेर तालिकाको छैटौं स्थानमा थियो । १६ खेल बाँकी थियो । तर, स्कटल्यान्ड, नामिबिया र यूएई जस्ता बलिया टोलीहरुसँग नेपालले ४-४ गरी कुल १२ खेल खेल्नु थियो ।

रोहितका लागि व्यक्तिगत रुपमा सम्झनलायक एउटा सफलता भने दुःख नगरी बन्यो- एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गर्ने दोस्रो कम उमेरका खेलाडीको कीर्तिमान । उनी २० वर्ष ७३ दिनको उमेरमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गर्ने खेलाडी भए । अफगानिस्तानका रसिद खानले १९ वर्ष १६५ दिनको उमेरमा पहिलो पटक कप्तानी गरेर विश्व कीर्तिमान बनाएका थिए ।

सन्दीपको कप्तानी डेब्युमा उनको उमेर २१ वर्ष २२६ दिन थियो । तर, रोहित यसलाई सम्झेर खुशी हुने अवस्था थिएन । न त्यसका लागि कुनै मेहनत नै परेको थियो न त कप्तानी पाएकै बेला यस्तो सफलता कोरिने तय भइसकेको थियो । बरु अझ संकट गहिरिएको नेपाली क्रिकेट अन्धकारतर्फ भासिँदो थियो ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको जोगाइराख्न नेपाललाई विश्वकप लिग- २ मा बाँकी रहेका १२ मध्ये कम्तिमा ८ खेल जित्नुपर्ने दबाब थियो । यूएई र पीएनजीसँग ४-४ तथा नामिबिया र स्कटल्यान्डसँग २-२ खेल खेल्न बाँकी थियो ।

नेपालले बाँकी खेल खेल्न सुरु गर्नुअघि घरेलु क्रिकेट चरम विवादमा थियो । पहिलोपटक आयोजना भएको नेपाल टी-२० लिग स्पट फिक्सिङले बद्नाम भएपछि स्वयं खेलाडीहरु मानसिक रुपमा कमजोर बनिरहेका थिए । बलरले फ्याँक्ने वाइड र नोबल अनि ब्याट्सम्यान आउट भएका स्थितिहरु प्रश्न र आशंकामुक्त थिएनन् ।

राष्ट्रिय टोलीमा नयाँ प्रशिक्षकका रुपमा भित्रिएका भारतीय मन्टी देशाईले यी सबै खराब अवस्थालाई चिरेर टीमलाई एकताबद्ध गर्दै सफलताको यात्रा तय गर्नुपर्ने अवस्था थियो । उनीसामु एकमात्र सुखद खबर थियो, सन्दीप धरौटीमा रिहा भएर राष्ट्रिय टोलीमा उपलब्ध हुने । तर, धरौटीमा रिहा भए पनि गम्भीर अपराधका आरोपितहरुलाई राष्ट्रिय टोलीमा राखिनु हुन्न भने आवाज पनि चर्कंदै थियो ।

खासगरी नेपालले अभूतपूर्व ब्याटिङ गर्‍यो । हरेक खेलमा आशा गरिएकामध्ये एकदुई ब्याट्सम्यान जम्नु, बलियो साझेदारी बन्नु र तल्लो क्रमका ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्नु राम्रो भविष्यका बलिया संकेतहरु थिए ।

माहोल नै यस्तो थियो कि सन्दीपसँग कुराकानी गर्नु पनि अपराध हो वा उनीहरु मतियार हुन् भने जसरी लिइन्थ्यो ।

‘सुरुमा अरु खेलाडीहरु पनि सन्दीपसँग नजिक जान, कुराकानी गर्न अप्ठेरो हुने अवस्था थियो । किनभने बाहिरको माहोल नै त्यस्तै थियो’, राष्ट्रिय टोलीका एक सदस्य भन्छन् । तर, समयक्रममा सबै मिल्दै गयो । क्यान र प्रशिक्षक देसाईले बाहिरी दुनियाँको वास्ता गरेनन्, टीमलाई एकताबद्ध गरे ।

‘सबै कुरा प्रक्रियाअनुसार भएको छ, अहिले बाहिरको माहोलको प्रभाव टीमभित्र पर्नु आस्वभाविक होइन । तर, मैले टीमको एकतामा पनि ध्यान दिएको छु’, देसाई भन्ने गर्थे । फेब्रुअरीको दोस्रो साता भएको नामिबिया र स्कटल्यान्ड सम्मिलित श्रृंखलामा नेपालले अस्वाभाविक प्रदर्शन गर्‍यो । तालिकाको शीर्ष तीनमध्येका दुई टोलीसँगका सबै भिडन्तमा नेपाल विजयी भयो ।

खासगरी नेपालले अभूतपूर्व ब्याटिङ गर्‍यो । हरेक खेलमा आशा गरिएकामध्ये एकदुई ब्याट्सम्यान जम्नु, बलियो साझेदारी बन्नु र तल्लो क्रमका ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्नु राम्रो भविष्यका बलिया संकेतहरु थिए ।

श्रृंखलाको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध करन केसीसँग नवौं विकेटका लागि अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई २ विकेटको जीत दिलाएपछि रोहितलाई पोस्ट म्याच कन्फेरेन्समा सोधिएको थियो- के यो तपाईंको करियरकै सर्वोत्कृष्ट इनिङ हो ? रोहितले भविष्यमा यस्ता सफलता अझै धेरै आउन बाँकी रहेको भन्दै घुमाउरो जवाफ फर्काएका थिए । उनले त्यसै श्रृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध पनि ७२ रनको पाली खेलेका थिए ।

प्रशिक्षकका रुपमा देसाईलाई पनि यही सोधिएको थियो । उनले मुस्कुराउँदै जवाफ दिएका थिए, ‘मैले जसरी सिकाएँ र जुन छोटो अवधिमा खेलाडीहरुले त्यसलाई लागू गरेर देखाए, त्यो रुपमा चाहिँ मान्न सकिन्छ ।’

त्यस्तो सफलताका लागि समय लाग्ने भए पनि नेपाली खेलाडीको मेहनत र सिक्ने जाँगरको उनले खुलेर प्रशंसा गरेका थिए । लगत्तै नेपाली टोली यूएईमा अर्को श्रृंखला खेल्न जानुपर्ने थियो ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना बलियो बनाएर फर्किएको नेपाली टोलीले यसै साता विश्वकप लिग- २ को अन्तिम श्रृंखला खेल्दै विश्वकप छनोटमा स्थान बनाइसकेको छ ।

विदेश जान प्रतिबन्ध भएका कारण सन्दीप नेपाली टोलीमा थिएनन् । तर, नेपाली टोलीले यूएईमा पनि जीतबाटै श्रृंखला सुरु गरेको थियो । सर्वोच्च अदालतले अनुमति दिएपछि सन्दीप दोस्रो खेलमा उपलब्ध भए । त्यस खेलमा भने नेपाली टोली पराजित भयो । तर, त्यसपछिका लगातार दुई खेल जित्यो । तेस्रो खेलमा पीएनजीविरुद्ध सन्दीप र आसिफ शेखले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना बलियो बनाएर फर्किएको नेपाली टोलीले यसै साता विश्वकप लिग- २ को अन्तिम श्रृंखला खेल्दै विश्वकप छनोटमा स्थान बनाइसकेको छ । सबै खेल जितेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने पक्का गरेको छ । नेपालले पहिलो खेलमै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै २९८ रनको लक्ष्य दिएको थियो ।

अन्तिम खेलमा बिहीबार यूएईले ३११ रनको लक्ष्य दिए पनि नेपाल डकवर्थ एन्ड लुइस नियमको आधारमा ९ रनले विजयी भएर विश्वकप छनोटमा पुगेको हो । नेपाली क्रिकेट टोली, कप्तान रोहित, प्रशिक्षक देसाईको अहिले नेपालमा मात्र होइन, विश्वस्तरमै चर्चा भइरहेको छ ।

युवा टोलीका युवा कप्तान

नेपाल क्रिकेट टोलीले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको यो तेस्रोपटक हो । यसअघि सन् २०१४ र २०१८ मा पनि नेपालले एक दिवसीय विश्वकपको विश्वस्तरको छनोट खेलेको थियो । ५ वर्षअघि आयोजित छनोट प्रतियोगितामा टेस्ट टोली पनि थिए । त्यही प्रतियोगिताबाट नेपालले पहिलोपटक एक दिवसीय मान्यता पाएको थियो ।

तर, त्यतिबेला नेपाली टोली बिल्कुल फरक थियो । करिब १२-१५ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका पारस खड्का, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल नेपाली टोलीमा थिए । उनीहरु सबै पहिलो रोजाइका थिए र नेपाली टोलीको सफलता उनीहरुमै निर्भर रहन्थ्यो । उनीहरुसँग यू-१९ विश्वकपका केही संस्करण खेलेको अनुभव पनि थियो । पारसले सन् २००९ मा सिनियर राष्ट्रिय टोलीको कप्तानी पाएका थिए । त्यसयता अहिले नेपाली टोलीमा उनीहरुमध्ये ज्ञानेन्द्रमात्र छन् ।

उनीपछि सबैभन्दा अनुभवी सोमपाल कामी र करण केसी हुन् । उनीहरुले करिब १० वर्षअघि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्लले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएको केही वर्षमात्र भएको छ । गुल्झन झाले एक वर्षअघि डेब्यु गरेका हुन् । भीम सार्की र प्रतिस जीसी पछिल्लो समय डेब्यु गरेका खेलाडीहरु हुन् । रोहित, दीपेन्द्र, सन्दीप पछिल्लो ७-८ वर्षमा सिनियर राष्ट्रिय टोलीमा भित्रिएका हुन् ।

रोहित पछिल्लो एक महिना दुई पूर्वकप्तान ज्ञानेन्द्र र सन्दीपलाई आफ्नो नेतृत्वमा खेलाउन उत्रिए, महत्वपूर्ण तीन श्रृंखलामा । मैदानमा उनको समन्वय र कप्तानी ‘सोच’ सफल देखियो । उनले निर्णय लिनुअघि प्रायः सन्दीप, सोमपाल, दीपेन्द्रलगायत अनुभवी खेलाडीसँग सल्लाह गरेको देखिन्छ ।

रोहितले सन् २०२३ मा खेलेका १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतकसहित ३५७ रन जोडेका छन् । उनी ब्याटिङमा कहिल्यै हतारमा देखिँदैनन् । सम्हालिएर, कुनै जोखिम नलिई सट प्रहार गर्छन् र आवश्यक खेल खेल्छन् । त्यसैले त एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा सर्वाधिक रनको साझेदारीका ५ वटा राष्ट्रिय कीर्तिमान छन् ।

फिल्डिङको प्लान कसरी बनाउने र कुन बेला कसलाई बलिङ गराउने भन्ने निर्णयले कप्तानको क्षमता देखिने बताइन्छ । अप्ठेरोमा पनि मुस्कुराइरहेको देखिने रोहित कप्तानका रुपमा खह्रो उत्रिए । अन्तिम खेलमा बिहीबार यूएईविरुद्ध दुई अनुभवी ज्ञानेन्द्र र करणलाई बेन्चमा राखेर युवा खेलाडीद्वय भीम सार्की र गुल्सन झालाई उतार्ने निर्णय पक्कै सजिलो थिएन ।

तर, कप्तानका रुपमा रोहित र प्रशिक्षकका रुपमा देसाईको सफलता मान्नुपर्छ- नेपालको जीतका प्रमुख कारण नै यी दुई खेलाडी बने । उनीहरुले राम्रो सन्देश दिएका छन्- अब अनुहार र अनुभव हैन, लय र टीमको आवश्यकता हेरिन्छ ।

संकटमा रोहितको ब्याटिङ, एक हजार रनको कोसेढुंगा पार

रोहितले सन् २०१८ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । त्यसयता उनी नियमितजसो राष्ट्रिय टोलीमा छन् । सन् २०१९ मा उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गर्ने सबैभन्दा कम उमेरका खेलाडीका रुपमा विश्व कीर्तिमान बनाउन सफल भएका थिए ।

पछि यो कीर्तिमान नेपालकै कुशल मल्लले तोडे । रोहितको ब्याटिङ लोभलाग्दो छ । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेल खेल्दै एक शतक र ८ अर्धशतकसहित एक हजार ३०२ रन बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । हालै आसिफ शेखले पनि एक हजार रन पूरा गरेका छन् ।

उनले विश्वकप लिग-२ मा ३३ खेलमा ६ अर्धशतकसहित ९०९ रन बनाए । प्रतियोगितामा उनी दोस्रो सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने । आसिफ शेखले ३० खेलमा एक शतक र ७ अर्धशतकसहित ९३४ रन बनाए । रोहितले सन् २०२३ मा खेलेका १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतकसहित ३५७ रन जोडेका छन् । उनी ब्याटिङमा कहिल्यै हतारमा देखिँदैनन् । सम्हालिएर, कुनै जोखिम नलिई सट प्रहार गर्छन् र आवश्यक खेल खेल्छन् ।

त्यसैले त एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा सर्वाधिक रनको साझेदारीका ५ वटा राष्ट्रिय कीर्तिमान छन् । रोहितले तेस्रो विकेटका लागि कुशल भुर्तेलसँग १३३ (नामिबियाविरुद्ध), चौथो विकेटका लागि कुशल मल्लसँग ९२ रन (नामिबियाविरुद्ध), पाँचौं विकेटका लागि आरिफ शेखसँग १०४ रन (पीएनजीविरुद्ध), सातौं विकेटका लागि करण केसीसँग ६६ रन (पीएनजीविरुद्ध) र नवौं विकेटका लागि करण केसीसँगँ ७५ रन (स्कटल्यान्डविरुद्ध)को कीर्तिमानी साझेदारी गरेका थिए । उनी आफ्ना हरेक सफललाई अहिले नै सर्वोत्कृष्ट मानिहाल्ने पक्षमा छैनन् । त्यसैले त भन्छन्- यस्ता सफलता भविष्यमा अरु धेरै आउनेछन् ।


प्रतिक्रिया

One thought on “कान्छा कप्तानको अभूतपूर्व उपलब्धि

  1. भरपर्दो खेलाडी अनि कप्तान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *