८ हजार विद्यार्थी भएको मीनभवन : तालाबन्दीकै बीच निर्वाचन – Nepal Press

८ हजार विद्यार्थी भएको मीनभवन : तालाबन्दीकै बीच निर्वाचन

काठमाडौं । देशभरका कतिपय आंगिक, सामुदायिक र निजी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले तोकेकै मिति स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बन्दा नेपाल कमर्स क्याम्पस मीनभवनमा भने चैत ५ मै स्ववियु निर्वाचन हुने भएको छ ।

केही समयअघिसम्म विद्यार्थी संगठनहरुबीचको विवादका कारण क्याम्पसमा निर्वाचन हुने सम्भवना क्षीण भएको थियो । तर, अहिले निर्वाचन हुने पक्कापक्की भएको छ ।

सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुले तालमेल गरेर उम्मेदवार घोषणा गरिसकेका छन् । गठबन्धनको तर्फबाट नेविसंघका गणेश टण्डनको नेतृत्वमा उम्मेदवारहरु चुनावी मैदानमा छन् । एमाले निकट अखिलबाट प्रवीण गिरीको नेतृत्वमा उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

आठ हजारभन्दा बढी विद्यार्थी रहेको मीनभवनमा विद्यार्थी नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, निर्वाचनमा कसले बाजी मार्ला, त्यो भने ५ गतेले नै निर्क्योल गर्नेछ ।

सभापति उम्मेदवारहरुको भने आ-आफ्नै दाबी छ । गिरी र टण्डन दुवै आफूले जित्ने दाबी गरिरहेका छन् । दुवैको दाबीको आधार एकै छ, आफूले क्याम्पसमा राम्रोसँग काम गरेको, विद्यार्थीको हकहितका लागि लडेको, सबै विद्यार्थीमाझ परिचित रहेको ।

गिरीको दाबी छ, ‘हामी एक हजार बढी मतान्तरले चुनाव जित्छौं । मेरो प्यानल नै निर्वाचित हुन्छ ।’

गिरीको दाबीको आधार मीनभवन क्याम्पसमा अखिलको विगत पनि हो । विगतका धेरैवटा स्ववियु चुनाव अखिलले जितेकोमात्रै छैन, संगठनात्मक हिसाबले पनि अखिल बलियो भएको क्याम्पस मानिन्छ, मीनभवन ।

अर्कातिर नेविसंघका सभापति उम्मेदवार टण्डनको दाबी छ, ‘हामीसँग भएको विद्यार्थीको मतको हिसाबले पनि हामीलाई चुनाव जित्न गाह्रो छैन । यसपटक हामी अत्यधिक मत ल्याएर निर्वाचित हुन्छौं ।’

क्याम्पसमा आफूहरुको मतदाता संख्या अखिलको तुलनामा बढी भएका कारण र आफूहरुले क्याम्पसमा विद्यार्थीको हकहितका लागि गरेको कामका आधारमा यसपटक स्ववियु निर्वाचन जित्न गाह्रो नहुने टण्डनको दाबी छ ।

तालाबन्दीकै बीच चुनाव

गत फागुन २६ मा मतदाता नामावली प्रकाशनको विषयमा विवाद भएपछि केही विद्यार्थी संगठनले तालाबन्दी गरे । अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी विप्लव, नेविसंघ वीपी, नेसवियुलगायत संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका थिए ।

उनीहरुले क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिले निश्चित विद्यार्थीलाई जिताउने गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाएका थिए ।

नामावली सच्याइयोस् भनेर गरिएको तालाबन्दी अहिलेसम्म खुलेको छैन । तर, क्याम्पस प्रशासन र निर्वाचन समिति भने तलाबन्दीकै बीचमा निर्वाचन गर्ने तयारीमा छ । यता तालाबन्दी नै गरेका संगठनका विद्यार्थीहरु पनि चुनावमा होमिएका छन् । तालाबन्दी गरेका अखिल क्रान्तिकारीका सम्राज राई गठबन्धनका तर्फबाट सचिवका उम्मेदवार छन् । अनेरास्ववियूका विद्यार्थी नेताहरु पनि उठेका छन् ।

क्याम्पस प्रशासनले बल प्रयोग गरेरै भए पनि चुनाव गराउने अडान लिएपछि तालाबन्दी गरेका विद्यार्थी संगठनका नेताहरु पनि चुनावमा होमिएको एक विद्यार्थी नेताले बताए । उनका अनुसार तालाबन्दी गरेका विद्यार्थी नेता नै चुनावमा होमिएपछि ५ गते चुनाव हुने पक्कापक्की जस्तै भएको छ ।

यसबारे बुझ्न खोज्दा निर्वाचन समितिका अध्यक्ष तुल्सी रेग्मीको फोन भने उठेन ।

नेविसंघको आन्तरिक कलह, तर एक ढिक्का भइसकेको टण्डनको दाबी

गत माघ २३ गते मीनभवनमा संस्थापन पक्षधर र शेखर-गगन समूहबीच लफडा भएको थियो । शेखर समूहका विद्यार्थीहरुले आफूहरुले गरेका कार्यक्रममा संस्थापन पक्षका विद्यार्थीहरु आएर अवरोध गरेको थियो । सो क्रममा ढुंगामुढासमेत भएको थियो ।

स्ववियु चुनावबारे सुुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेविसंघका सभापति दुजाङ शेर्पासहितका नेताहरु आएर अवरोध सृजना गरेको आरोप शेखर समूहका विद्यार्थी नेताहरुले लगाएका थिए । स्थिति तनावग्रस्त बनेपछि क्याम्पस परिसरमा प्रहरी परिचालन गरिएको थियो ।

यसपटक मीनभवनमा नेविसंघकै तर्फबाट बागी उम्मेदवार पनि छन्, रवीन्द्र रोकाया । संगठनले टिकट नदिएपछि उनी बागी उठेका हुन् । उनी क्याम्पस एकाइ कमिटीका उपसभापति थिए ।

तर, विगतमा जे जे भए पनि नेविसंघ एक ढिक्का भएर अगाडि बढेको टण्डनको दाबी छ । विगतमा जे जस्तो भए पनि अहिले एक ढिक्का भएर नेविसंघलाई जिताउन आफूहरु लागिपरेको उनको भनाइ छ । उनले भने, ‘हामी बहुमतले जित्छौं । नेविसंघमा भएका व्यक्तिगत लफडालाई सिंगो नेविसंघ र पार्टीसँग जोड्न मिल्दैन । त्यति वेलाका लफडा मिलिसक्यो । हामी एक ढिक्का भएर अगाडि बढिसक्यौं ।’

विगत अखिलको पक्षमा, इतिहास बदल्ने रणनीतिमा नेविसंघ

मीनभवन क्याम्पसको स्ववियुकाे विगत हेर्ने हो भने अखिलको पक्षमा देखिन्छ । २०३६ र २०३८ सालमा अखिलबाट जगन्नाथ थपलियाले स्ववियु सभापति जितेका थिए । उनी अघिल्लोपटक बागमती प्रदेशमा मन्त्रीसमेत बनेका थिए । २०५७ सालमा जितेका आनन्दकुमार श्रेष्ठ अहिले एमालेको रामेछाप जिल्ला कमिटी अध्यक्ष छन् । साथै उनी बागमती प्रदेशका समानुपातिक सांसद हुन् ।

२०५९ सालमा अखिलका कमलराज सुनुवारको प्यानलले नै स्ववियु निर्वाचन जितेको थियो । त्यस्तै २०६२ सालमा पिताम्बर घिमिरेको प्यानलले निर्वाचन जितेको थियो । २०६५ सालमा अखिलबाट बागी उठेका तुलसी मैनाली स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

अखिल यसपटक पनि विगतको इतिहास दोहोर्‍याउने रणनीतिमा छ । चुनावी माहोल हेर्दा आफ्नो टीमले सहजै जित्ने आकलन छ सभापतिका उम्मेदवार गिरीको ।

तर, विगतले केही पनि फरक नपार्ने र यसपटक मीनभवनमा नेविसंघले निर्वाचन जित्ने सत्ता गठबन्धनका सभापति उम्मेदवार टण्डनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर