मध्यपश्चिम विश्वविद्यालयलमा तत्काल स्ववियु निर्वाचन मिति घोषणा गर्न अनेरास्ववियूको माग – Nepal Press

मध्यपश्चिम विश्वविद्यालयलमा तत्काल स्ववियु निर्वाचन मिति घोषणा गर्न अनेरास्ववियूको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मध्यपश्चिम विश्वविद्यालयले आज सम्पन्न हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै ध्यानकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी हक अधिकारको पैरवीकर्ता, विद्यार्थी आन्दोलनको त्याग, संघर्ष र बलिदानबाट स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोक्ने विश्वविद्यालयको अलोकतान्त्रिक र मनोमानीपूर्ण निर्णयले गौरवशाली विद्यार्थी आन्दोलनलाई चुनौती दिन खोजेको घटनाको अनेरास्ववियू घोर निन्दा र भर्त्सना गर्दछ ।’

निरंकुश पञ्चायती शासन व्यवस्थादेखि नै विद्यार्थीले आफ्ना प्रतिनिधि चुन्न र चुनिन पाउने अधिकारको अभ्यास गर्दै आएको संघले उल्लेख गरेको छ ।

‘यो विश्वविद्यालय स्थापना भएपश्चात वि.स. २०७३ सालमा केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विद्यार्थीहरुको आन्दोलनपश्चात ६ वर्षपछि विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा निर्वाचन घोषणा गरिएकोमा हामीले स्वागत गरेका थियौं’, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको कार्यतालिकाअनुसार सम्पूर्ण तयारी गरिएको अवस्थामा मतदान गर्नुभन्दा एक दिन अगाडि गरिएको (निर्वाचन स्थगित) अवैधानिक घोषणाले हाम्रो गौरवशाली संगठन अनेरास्ववियू मर्माहत भएको छ ।’

विद्यार्थी आन्दोलनको अधिकार रक्षा र सुनिश्चित गर्न तत्काल स्ववियु निर्वाचनको मिति र कार्यतालिका घोषणा गर्न संगठनले माग गरेको छ ।


प्रतिक्रिया

One thought on “मध्यपश्चिम विश्वविद्यालयलमा तत्काल स्ववियु निर्वाचन मिति घोषणा गर्न अनेरास्ववियूको माग

  1. चुनावभन्दा पनि यी नेताको आम्दानीको स्रोत के हो ? यी काठमाडौंमा कामै नगरि कसले दिएको पैसाले चलिरहेका छन् । त्यो छानविन गरेमा पत्ता लाग्छ कि यी देश बनाउन हिडेका हुन् कि राजनीतिको नाममा गुण्डागर्दी गर्न ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर