‘धोकेवाज’ को क्रेडिट लिन शिव परियारको व्यग्रता, एलिनासँग किन पछि परे ? – Nepal Press

‘धोकेवाज’ को क्रेडिट लिन शिव परियारको व्यग्रता, एलिनासँग किन पछि परे ?

काठमाडौं । ‘धोकेवाज’ गीतले गायिका एलिना चौहानलाई रातारात हिट बनाइदियो । उनी अहिले ‘धोकेवाज गायिका’ को नामले नै चर्चित हुन थालेकी छन् भने मेला–महोत्सवदेखि विदेशका कार्यक्रममा उनको डिमान्ड ह्वात्तै बढेको छ ।

यता, धोकेवाजको ‘मेल भर्सन’ गाउने शिव परियार भने खासै चर्चामा आउन सकेनन् । धेरै स्रोता–दर्शकलाई यो गीत शिवले पनि गाएका छन् भन्नेसमेत थाहा छैन । अहिले उनी आफैंले यो गीतको गायक म पनि हुँ भन्दै हिँड्नुपर्ने अवस्था छ ।

हरेक स्टेजहरुमा उनी अहिले धोकेवाज गीतलाई प्राथमिकतामा राख्छन् । साथै, प्रत्येक इन्टरभ्यूहरुमा पनि यो गीत आफ्नो स्वरमा सुनाउने गर्छन् । हालै एउटा टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले धोकेवाजले आफूलाई फेरी चर्चामा ल्याइदिएको दाबी गरे । अहिलेको टिनएजर्स माझ यो गीतले आफूलाई चिनाएको उनले बताए ।

धोकेवाद गीत एक वर्षअगाडि नै आएको हो । सुवास कार्कीको रचना र संगीत रहेको गीतमा एलिना चौहानले स्वर दिएकी थिइन् । २०७८ को वैशाखमा यूट्यूवमा अपलोड भएको गीत सुपरहिट भयो । भिडियोमा एलिना स्वयंले अभिनय गरेकी छिन् भने उनलाई बादलसिंह ठकुरीले साथ दिएका छन् ।
गीतले छिट्टै लोकप्रियता पाएपछि तीन महिनापछि मेल भर्सनमा रेकर्ड गरिएको हो, जसलाई शिव परियारले स्वर दिएका छन् । गीतको शब्द र संगीत उही छ । गीतले राम्रै भ्यूज बटुले पनि फिमेल भर्सनभन्दा धेरै पछाडि छ ।

पछिल्लो समय एकाएक धोकेवाज गीत भाइरल भयो । एउटा महोत्सवमा एलिना चौहानले गाउँदा सानो बालकले यसको लिरिक्समा मिलाएर लिपसिङ गरेका थिए । सो भिडियोमा एलिनाले डुयट गरेकी थिइन् । त्यसलगत्तै अर्को महोत्सवमा एलिनाले यो गीत गाउँदा एक युवतीले देखाएको एक्सप्रेसन भाइरल भयो । त्यसपछि त एकपछि अर्को महोत्सवमा धोकेवाज गीतमा युवतीहरु लठ्ठीन थाले । एक प्रकारको होड नै चल्यो र चलिरहेको छ ।

यो गीतको क्रेज नेपालमा मात्रै सिमित छैन । यही गीतका लागि एलिनालाई विदेशका कार्यक्रमहरुमा पनि खोज्न थालिएको छ । अहिले उनी अष्ट्रेलियामा छिन् । त्यहाँ पनि यही गीतमा युवायुवती झुमिरहेका छन् ।

गीत भाइरल भएसँगै युट्यूवमा पनि भ्यूज निरन्तर बढिरहेको छ । धोकेवाजको फिमेल भर्सन २ करोड ४० लाखपटक हेरिएको छ । मेल भर्सनले ८३ लाख भ्यूज पाएको छ ।

यसरी सेलाइसकेको गीत एकाएक बौरिएर एलिना चर्चाको चुलीमा पुगिरहँदा शिव परियार भने ओझेल परे । त्यसपछि उनी आफैं आफ्नो मार्केटिङ गर्न बाध्य भएका छन् । यो गीत मैले पनि गाएको हुँ भन्दै हिँड्नु परेको छ उनले ।

त्यसो त शिव परियार चर्चाको लागि कुनै अमुक गीतको सहारा लिनुपर्ने गायक होइनन् । उनी नेपाली संगीत क्षेत्रका स्थापित गायक हुन् । धोकेवाज बाहेक पनि उनले थुप्रै हिट गाइसकेका छन् । तर, अहिले उनलाई जसरी पनि ‘धोकेवाज गायक’का रुपमा चिनिनु परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *