बीआरआईको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री श्रेष्ठको प्रष्टोक्ति (भिडिओ) – Nepal Press

बीआरआईको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री श्रेष्ठको प्रष्टोक्ति (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताएका छन् ।

सो परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्वीकार गर्दै उनले बीआरआई पूर्णकार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेको प्रष्ट्याए । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले परियोजनाको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको बताए ।

यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भइरहेको भन्दै उनले नेपालले त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन चाहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको कुरा दोहोर्‍याउन चाहन्छु । नेपालप्रति चीनले व्यक्त गरेको सदभाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले नेपाल-चीन सम्बन्ध पारस्पारिक, मैत्रीपूर्ण र सुमधुर रहेको पुष्टि गर्दछ ।’

केही ढिलाई भएपनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बीआरआई परियोजनाको कार्यान्वयन नयाँ कोशेढुंगा हुने उनले आशा जनाए ।

‘ठूला पूर्वाधारको विकासमा बीआरआई अन्तर्गत सहयोग र सहकार्यको अपेक्षा पनि नेपाल सरकारले गरेको छ । यसका विभिन्न मोडालिटीमा छलफल गर्न हामी तयार छौं । र, विभिन्न तहमा, चरणमा यस अघि छलफल पनि भएका छन । र, अब ठोस निष्कर्षमा हामी पुग्न चाहन्छौं ’, मन्त्री श्रेष्ठले भने ।

उनले थपे, ‘पूर्वाधार निर्माणमा नेपालमा अहिले रहेका फाईनान्सियल ग्याप पूरा गर्न छिमेकी चीनको भूमिकाप्रति हामी आशावादी छौं । चिनियाँ ऋणको पासोमा पर्न लागेको भन्ने चर्चाका सन्दर्भमा पनि हामी स्पष्ट नै छौं । हामी नेपालको विकासलाई प्रतिकूल असर पार्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा पर्न चाहने छैनौं, पर्ने छैनौं । र, साथसाथै यस प्रकारको कुनै भ्रमात्मक प्रचारबाट पनि हामी प्रभावित हुने छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर