कांग्रेस नेता उत्पादन गर्ने त्रिचन्द्र : ८ हजार विद्यार्थी रहेको क्याम्पसमा यसपालि स्ववियू चुनाव नै अनिश्चित – Nepal Press

कांग्रेस नेता उत्पादन गर्ने त्रिचन्द्र : ८ हजार विद्यार्थी रहेको क्याम्पसमा यसपालि स्ववियू चुनाव नै अनिश्चित

काठमाडौं ।  यही चैत ५ गते देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसहरूमा निर्विरोध स्ववियु कार्यसमिति चयन पनि भइसकेको छ भने कतिपय क्याम्पसमा निर्वाचन नै अनिश्चित बनेर गएको अवस्था छ ।

राजनीतिक दलले स्ववियु निर्वाचनलाई आफ्नो शक्ति र प्रतिष्ठाको रूपमा हेर्ने भएकाले पनि निर्वाचन पेचिलो बन्ने गरेको छ । कतिपय क्याम्पसमा राजनीतिक दलका भातृ संगठनहरुको स्वार्थ बाझिँदा १४ वर्षदेखि स्ववियु निर्वाचन सम्पन्न हुन सकेको छैन । त्यसमध्येकै एक क्याम्पसको हो, त्रिचन्द्र बहुमुखी क्याम्पस ।

करिब आठ हजार मतदाता भएको यस क्याम्पसमा त्रिविले तोकेकै मितिमा निर्वाचन हुने सम्भावना न्यून बनेर गएको छ । मतदाता नामावली विवादका कारण अहिलेसम्म निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्न सकेको छैन । गएको फागुन २५ गते नै सार्वजनिक गर्नुपर्ने नामावली चैत २ गतेसम्म पनि सार्वजनिक हुन सकेको छैन । यसकारणले पनि त्रिविले तोकेकै मितिमा निर्वाचन सम्पन्न हुने सम्भावना सकिएको विद्यार्थी नेताहरूको दाबी छ ।

नामावली विवादको कारण

नेवि संघका विद्यार्थी नेता तथा स्ववियु सभापति सुमन बसौलाका अनुसार एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कारण मतदाता नामावली सार्वजनिक नभएको हो ।

बसौला भन्छन्, ‘अखिल र क्रान्तिकारी निकट साथीहरूका कारण मतदाता नामावली सार्वजनिक हुन सकेको छैन । नामावली सार्वजनिक गरेपछि छानबिन गर्दा हुन्छ भन्ने हाम्रो अडान हो । तर, उहाँहरू भने नामावली सार्वजनिक हुनु अगावै आफूहरूले रुजु गर्नुपर्ने अडानमा हुनुहुन्छ, जो सम्भव नै हुँदैन ।’

तर, त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले समयमै नामावली सार्वजनिक गर्न नसक्नुको कारण भने नेवि संघ रहेको अखिलका नेता तथा सभापतिका प्रत्याशी मनराज थापा बताउँछन् । उनका अनुसार गएको फागुन ४ गते नेवि संघको नेतृत्वले दिउँसो चार–पाँच बजे भर्ना बन्द गरेर साँझ ७ बजे क्युआर कोडमार्फत् क्याम्पसको खातामा दुई लाख हालिदिए । जो ३४ जना फर्जी विद्यार्थीको भर्नाका लागि पठाइएको पैसा थियो ।
थापा भन्छन्, ‘उक्त दुई लाखले ३४ जना फर्जी विद्यार्थीको नाम टिपाएर मतदाता नामावली सार्वजनिक गर्ने रणनीति थियो उहाँहरूको । तर, कुनै भौचर विना क्युआरकोडबाट पैसा पठाइएपछि हामीले विरोध गर्‍यौँ । त्यसपछि नामावली सार्वजनिक भएन ।’

गएको फागुन २१ गते पनि नामावली सार्वजनिक भएन । यही कारण तोकिएको मितिमा निर्वाचन अनिश्चित बनेर गएको थापाको दाबी छ । उनी थप्छन्, ‘नामावली सार्वजनिक गर्नुपर्छ भनेर हामीले सहमतिमा जाऔँ पनि भनेको हो । तर, नेवि संघले के गरेको रहेछ भने फागुन ७ गते बिदाको दिन पनि भर्ना गरेका रैछन् । ११ र १७ गते पनि भर्ना गरेका रहेछन् । तर, सबैलाई ४ गतेको मिति राखेर गरिएको रहेछ । हामीले त्यो भर्नालाई खारेज गरेर मात्रै नामावली सार्वजनिक गर्नुपर्छ भनेका हौं ।’

क्यरआर कोडबाट दुई लाख क्याम्पसको खातामा रकमजसले डिपोजिट गरेको हो, चुनावपछि उनैलाई फिर्ता पठाइदिने सहमति भएको बताउँछन् बसौला । उनी भन्छन्, ‘सर्वदलीय बैठकले छानबिन समिति बनाएर छानबिन गर्न सक्छ । तर, उहाँहरू आफूले छानबिन गर्न पाउनुपर्ने अडान राखेर निर्वाचन रोक्ने ध्याउन्नमा हुनुहुन्छ । उहाँहरू सारा विद्यार्थीको भविष्य अन्यौलमा पर्ने दाउमा लाग्नुभएको छ । छानबिन उहाँहरूले गर्ने होइन, छानबिन समिति गठन गरेपछि त्यो समितिले गर्ने हो ।’

यसबारे क्याम्पस प्रशासनसँग बुझ्न खोज्दा कसैको पनि फोन उठेन । सहायक क्याम्पस प्रमुख बालकृष्ण पौडेलले भने यस विषयमा बोल्नै चाहेनन् ।

नेविसंघमै तीनजना सभापतिको प्रत्याशी

०३६ सालदेखि भएका १४ वटा स्ववियु निर्वाचनमा सुरुवातका ०३६ र ०३८ को निर्वाचन बाहेक बाँकी १२ वटा निर्वाचन नेवि संघले जितेको छ त्रिचन्द्रमा । त्रिचन्द्रलाई नेवि संघको बलियो पकड भएको क्याम्पसको रूपमा पनि लिइन्छ ।

नेवि संघबाट विवेक बानियाँ, सुमन बसौला, विपिन ढुंगाना र टेकराज भट्टले सभापतिमा दाबी गरिरहेका छन् । बानियाँ रामचन्द्र पौडेल निकट छन् भने बसौला गगन–शेखर समूह निकट छन् । ढुंगाना संस्थापन निकट हुन् । भट्ट पनि संस्थापन निकट हुन्, तर उनको भन्दा ढुंगानाकै सम्भावना बढी रहेको चित्रन्द्रका एक विद्यार्थी नेता बताउँछन् ।

सभापतिको प्रत्याशीहरूले पार्टीको गुटगत राजनीतिमा आफ्नो खेमा स्पष्ट पारे पनि त्यतिले मात्रै नपुग्ने ती नेताको दाबी छ । उनका अनुसार क्याम्पसका सिनियर विद्यार्थी नेताहरू प्रेमराज जोशी, सरोज थापा, विष्णु पौडेल दाह्री लगायत नेताहरू निर्णायक अवस्थामा छन् । उनीहरूले लिने निर्णयले नै सभापतिको टिकट कसले पाउने, त्यसको छिनोफानो हुने ती नेताको भनाइ छ ।

तर, त्रिचन्द्रमा संस्थापन नै बलियो भएकाले ढुंगानाको सम्भावना बलियो देखिएको बताइन्छ । कलेजमा महामन्त्री गगन थापाको विरासत पनि जोडिएकाले थापा स्वयंले चासो दिइरहेका छन् । यदि संस्थापनले सभापति पाउने हो भने थापा समूहले सचीव पाउनु पर्ने अडान राखिरहेको छ । कतिपय नेता भने सचिवका लागि बार्गेनिङ पावर बढाउन सभापतिको दाबी गरेको ती विद्यार्थी नेताको अनुमान छ ।

तर, त्रिचन्द्रमा निर्वाचन नै अनिश्चित बनेर गएको छ । नेविसंघका नेताहरू भने ५ गते निर्वाचन नभए पनि १० गतेसम्ममा निर्वाचन सम्पन्न हुने अनुमान गर्छन् । यदि निर्वाचन भएमा अखिल, अखिल क्रान्तिकारी, अखिल समाजवादीबीच तालमेल गरेर नेविसंघ विरुद्ध चुनावमा ओर्लने तयारी अखिलका विद्यार्थी नेताहरूको छ ।

कांग्रेसका नेता उत्पादन गर्ने कारखाना त्रिचन्द्र

०३६ र ०३६ सालमा एमालेका गोपीकृष्ण घिमिरे र ऋषिकेश घिमिरे त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएका थिए । तर, अहिले भने दुवै सक्रिय राजनीतिमा छैनन् । यसपछि ०३९ सालमा नेवि संघका अच्युत गौतम सभापतिमा निर्वाचित भए । भलै उनी पनि अहिले सक्रिय राजनीतिमा छैनन् ।

०४१ सालमा नेवि संघकै किशोर घिमिरे निर्वाचित भए । ०४३ सालमा नेविसंघकै रामहरि ढुंगेल सभापति बने । ०४५ सालमा सुरेन्द्र पाण्डे सभापतिमा निर्वाचित भए, जो अहिले नेपाली कांग्रेसको गण्डकी प्रदेशको संसदीय दलको नेता छन् ।

प्रतिनिधिसभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी ०४९ सालमा सभापति निर्वाचित भएका थिए । ०५१ सालमा कांग्रेस सहमहामन्त्री किशोर सिंह राठौर सभापति बने । ०५३ सालमा हरि आचार्य त्रिचन्द्रको स्ववियु सभापति बने । उनी अहिले बाग्लुङबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । ०५५ सालमा कांग्रेस महामन्त्री गगन थापा सभापति निर्वाचित भएका थिए ।

०५९ सालमा राजुराज काफ्ले नेविसंघबाट स्ववियु सभापति भए । तर, अहिले उनी सक्रिय राजनीतिमा भने छैनन् । प्राध्यापन पेशामा आबद्ध छन् । ०६० सालमा स्ववियु सभापति जितेका सुरज कुमार थापा गएको महाधिवेसनमा काठमाडौं–७ बाट महाधिवेशन प्रतिनिधि पराजित भए । ०६२ सालमा दीपक भट्टराई स्ववियु सभापतिमा निर्वाचित भए । तनहुँका महाधिवेशन प्रतिनिधि भट्टराई उपचुनाव लड्ने तयारीमा छन् । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपचुनावको बाटो खुलेको हो ।

०६५ मा विनयराम भट्ट स्ववियु सभापति निर्वाचित भएका थिए ।अहिले उनी सक्रिय राजनीतिमा छैनन् । शैक्षिक संस्था चलाएर बसेका छन् । त्यस्तै ०३८ सालमै दिवगत कांग्रेस नेता नवीन्द्रराज जोशी सचिवमा निर्वाचित भएका थिए । दाङका प्रदेश सांसद प्रचण्ड विक्रम न्यौपाने पनि त्रिचन्द्रमै नेविसंघ मार्फत विद्यार्थी राजनीति गरेका नेता हुन् । उनी लुम्बिनी प्रदेशको प्रवक्ता हुँदै अहिले सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर