स्थानीय तहको परामर्शपछि मात्र निजामति सेवा विधेयक ल्याउन गाउँपालिका महासंघले गरायो ध्यानाकर्षण – Nepal Press

स्थानीय तहको परामर्शपछि मात्र निजामति सेवा विधेयक ल्याउन गाउँपालिका महासंघले गरायो ध्यानाकर्षण

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले संघीय निजामती सेवा विधेयकबारे सरकारलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमार्फत सरकारलाई ८ बुँदे ध्यानाकर्षण पत्र महासंघले बुझाएको हो ।

प्रशासनिक संघीयताको कार्यान्वयनको मुख्य कार्यभारको रूपमा रहेको कर्मचारी समायोजनको प्रक्रिया प्रभावकारी हुन नसक्नु र संघीय निजामती सेवा ऐन संघीयता लागू भएको ६ वर्षसम्म जारी हुन नसक्नु महासंघका लागि गम्भीर चिन्ताको विषय भएको महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

उनका अनुसार महासंघले प्रस्तावित विधेयक प्रशासनिक संघीयताको महत्त्वपूर्ण पक्ष र स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएकोले तत्काल उक्त विधेयकलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लगायत सरोकारवालाबीच परामर्शपछि मात्र संसदमा पेस गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

साथै स्थानीय सेवाको व्यवस्थापनमा आवश्यक एकरूपता ल्याउन स्थानीय सेवाको मापदण्ड (सेवाका सर्त, सेवा सुविधा,पदोन्नी इत्यादि)मा समावेश हुने मुख्य मुख्य विषयवस्तु सोही विधेयकमा समावेश गर्न पनि महासंघको माग छ ।

त्यसैगरी संघमा श्रेणी र स्थानीय तथा प्रदेशमा तहगत प्रणाली लागु भएको र तहगत सरकारमा श्रेणी र तह दुई प्रकारका प्रणालीको सट्टा सबै संघीय एकाइबिच एकरूपता कायम गरी कर्मचारीमा रहेको मानसिक विभेदलाई हटाउन तीन वटै तहको सेवामा तहगत प्रणाली लागु गर्नु आवश्यक रहेको महासंघको ठहर छ ।

स्थानीय सरकार तथा अन्तर तह (तीन तह) बीच हुने सरुवा प्रणालीलाई संघीय कानुनमै व्यवस्थित गर्न जरुरी रहेको भन्दै महासंघले स्थानीय तहमा कार्यरत कर्मचारी प्रदेशभित्र आवश्यकता अनुसार सम्बन्धित स्थानीय तहको सहमतिका आधारमा प्रदेश तहबाटै सरुवा हुन सक्ने व्यवस्था संघीय कानुनद्वारा नै सुनिश्चित गर्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *