मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ? – Nepal Press

मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ?

जसपा नेता प्रदीप यादव भन्छन्- गठबन्धनमा बस्ने भए सहमतिअनुसार चल्नुपर्छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विरुद्ध मधेसकेन्द्रित साना दलहरूले मोर्चाबन्दी थालेको छ। जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएपछि मधेसमा जसपा एक्लिएको हो ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष डा. सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता चौधरीले शनिबार संयुक्तरूपमा कार्यगत एकताको हस्ताक्षरसहित एकैठाउँ उभिसकेका छन् ।

मधेस केन्द्रित तीन दल एकै ठाउँमा आउँदा उपराष्ट्रतिको निर्वाचनपछि उपनिर्वाचन लडेर संसद प्रवेश गर्ने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई धक्का लाग्नसक्ने कतिपयले टिप्पणी गर्न थालेका छन् । पछिल्लो समय मधेसमा जसपाको भन्दा जनमतको लहर बढ्दै गइरहेको मंसिर ४ को प्रनितिधि र प्रदेशसभाको निर्वाचनले देखाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधनलगायतको विषयमा आफूहरुले कार्यगत एकता गर्ने सहमति बनेको जनमत पार्टीका अध्यक्ष राउतले बताए ।

उनले भने, ‘नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजवन्दीहरूको रिहाई, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न तीन पार्टी सहमत भएको हौं ।’

१० दलीय सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई उम्मेदवार बनाउने सहमति भएपनि तीन दलको मोर्चाले जनमतकी ममता झालाई पनि प्रतिस्पर्धामा उतारेको छ । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा अहिले सत्तागठबन्धन दुई उम्मेदवार छन् । तर, गठबन्धनमा भएको सहमति अनुसार जसपाका यादवलाई कांग्रेस, माओवादीसहित ठूला दलको पनि समर्थन छ ।

जसपाले उपराष्ट्रपति पाएपछि मोर्चाबन्दी थालेको तीन दलका नेताहरू मित्रवत् प्रतिस्पर्धा हुने जनमतका अध्यक्ष राउतले बताइसकेका छन् ।

कार्यगत एकता ?

तर, लोसपा नेता शरदसिंह भण्डारी जसपाले उपराष्ट्रपति पाएकै कारणले आफूहरूले मोर्चाबन्दी नथालेको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले माओवादी घटकहरूले जुन सहकार्यको कुरा गरिरहेका छन् । हामीले पनि हिजो मधेस आन्दोलनबाट आएको पार्टीहरूबाट पनि सहकार्य गरौं भनेर थालेका हौं । मधेस कार्यक्षेत्र बनाएका लोसपासहित जनमत र नागरिक उन्मुक्ति पार्टी पनि छ ।’

उनले लोसपा मधेस र थरुहट आन्दोलन र सीके राउत स्वतन्त्र मधेसी गठबन्धनको नाममाको आन्दोलनबाट आएको उनको भनाई छ ।

उनले भने, ‘मधेस आन्दोलनको विषयमा हाम्रो सरकारसँग विभिन्न चरणमा सहमति भएका छन् । अहिले पनि कैदीबन्दीदेखि राजनीतिक बन्दीहरूको विषय छन् । कैयौं झुटा मुद्दामा जेलजीवन बिताइरहेका छन् । सबै मागलाई एकमुष्टरूपमा पूरा गर्न सरकारसँग पहल गर्छौँ ।’

लाखौँ नागरिक अहिले पनि नागरिकताविहीन भएकाले आफूहरूको प्राथमिकता नागरिकता विधेयकमा हुने उनको भनाई छ ।

‘अहिले हामीले प्राथमिकताका साथ नागरिकको विषयलाई उठाएका छौं । मधेसका लाखौं नागरिकहरू अहिले पनि नागरिकताविहिन भएर बस्नुपरेको छ’ नेता भण्डारीले भने, ‘पहिलाको सरकार अध्यादेश ल्याएपछि सर्वोच्च अदालतबाट खारेज भइसकेपछि विधेयकको रूपमा आएको थियो । तर, संसदबाट दुई पटक बहुमतले पारित गर्दा समेत राष्ट्रपतिबाट रोकिएको थियो ।’

उनले अपराध संहितालाई अध्यादेशको रूपमा पेश गरेकोदेखि मधेसका सवै मुद्दालाई साझा विषय बनाएर यसअघि सम्झौता कार्यान्वयनमा पनि दबाब दिने बताए ।

उनले भने, ‘सरकारसँगको सम्झौता लागू गराउन सँगै हिँड्ने भनेर सहमति गरेका हौं ।’

तर, तपाईंहरूले मधेसकेन्द्रित सबैभन्दा ठूलो दललाई त एक्ल्याउन खोजेको चर्चा छ नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘तत्काल हामी तीनजनाको विचार मिलेर सरकार थालेका छौं । भोलि विचार मिल्ने धारहरू बढ्दै जान्छ । हामीले कसैलाई एक्लाउन खोजेका छैनौँ । हामी अहिले दशदलीय गठबन्धनमा छौं । उहाँहरू पनि त्यहीभित्रको घटक हुनुहुन्छ ।’

तर, जसपा सांसद प्रदीप यादव जनमत, लोसपा र नागरिक उन्मुक्तिको मधेसमा भएको मोर्चाले आफूहरूलाई कुनै असर नगर्ने दाबी गर्छन् ।

उनले भने, ‘उहाँहरूको मोर्चाले हामीलाई कुनै फरक पर्दैन । उहाँहरूलाई गठबन्धनमा बस्नु छ भने गठबन्धनको सहमतिअनुसार अघि बढ्नुहुन्छ । गठबन्धनको सहमतिअनुसार बस्न सक्नुहुन्न भनेर बाहिरिन सक्नुहुन्छ ।’


प्रतिक्रिया

One thought on “मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ?

  1. दिल्लीको काम हो यो । यी तीन दल खोल्न मात्र नेपालमा खोलिएका हुन । यिनको खटन पटन सञ्चालन सबै उतैबाट हुन्छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर