विश्व प्रसिद्ध सिलिकन भ्याली बैंक, स्थापनाको ४० वर्षमा कसरी पल्टियो टाट ? – Nepal Press

विश्व प्रसिद्ध सिलिकन भ्याली बैंक, स्थापनाको ४० वर्षमा कसरी पल्टियो टाट ?

काठमाडौं । कुनै समय संयुक्त राज्य अमेरिकाको १६ औँ ठुलो बैंकको रूपमा रहेको विश्व प्रसिद्ध सिलिकन भ्याली बैंक सदाको लागि बन्द भएको छ ।

क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवाचार विभागले उक्त बैंक बन्द गर्ने आदेश जारी गरेसँगै सिलिकन बैंक अब इतिहासमा मात्र सीमित हुने भएको हो ।

बैंकको मूल कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको शेयरमा गत ९ मार्चमा लगभग ६०% ले गिरावट आएसँगै विभागले बैंक बन्द गर्ने आदेश जारी गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको रिपोर्ट अनुसार उक्त आदेशलाई सन् २००८ को वित्तीय संकटपछिको अमेरिकी इतिहासमा सबैभन्दा ठूलो असफलताको प्रतीक रूपमा लिन सकिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार एसभीबीको सेयरमा आएको गिरावटका कारण पछिल्लो २ दिनमा अमेरिकी बैंकहरूले सेयर बजारमा १०० अर्ब डलर गुमाएका छन् भने युरोपेली बैंकहरूले पनि ५० अर्ब डलरको घाटा बेहोर्न परेको अवस्था छ ।

सिलिकन भ्यालीलाई अब संघीय निक्षेप बीमा निगम (FDIC) ले अधिग्रहण गर्ने जनाइएको छ । सबै बीमित निक्षेपकर्ताहरूले आफ्नो निक्षेप निकाल्ने स्वतन्त्रता प्रदान गर्नका निमित्त १३ मार्चमा बैंक खुला गरिने बताइएको छ ।

सन् २०२२ को अन्त्यसम्म बैंकको सम्पत्ति २०९ अर्ब डलर र निक्षेप १७५.४ अर्ब डलर रहेको थियो । यस रकमको ८९५ बीमा गरिएको थिएन। ग्राहकको जम्मा २सय ५० हजार डलर एफडीआईसीद्वारा कभर गरिएको छ। अर्थात् बैंक बन्द भएपछि पनि यो रकम ग्राहकलाई फिर्ता गरिने छ । यद्यपि यसभन्दा बढी रकम आफ्नो खातामा जम्मा गरेका निक्षेपकर्ताले आफ्नो सबै रकम फिर्ता पाउने वा नपाउने भन्ने कुनै ग्यारेन्टी छैन ।

एफडीआईसी ले त्यस्ता ग्राहकहरूलाई प्रमाणपत्र जारी गर्ने र यस अन्तर्गत कोष असुली भएपछि पहिले उनीहरूको रकम फिर्ता गरिने जनाएको छ । सिलिकन भ्याली बैंकसँग २०२१ मा १८९ अर्ब डलर निक्षेप थियो।

सिलिकन भ्याली बैंकले विगत २ वर्षमा आफ्ना ग्राहकको पैसाले अर्बौँ डलरको ऋणपत्र खरिद गरेको भए पनि ब्याजदर न्यून भएकाले सो लगानीमा उचित प्रतिफल पाउन भने सकेन । यसैबीच, फेडरल रिजर्भ बैंकले प्राविधिक कम्पनीहरूको लागि ब्याज दर बढाउने गर्‍यो ।

बैंकका धेरैजसो ग्राहकहरू स्टार्ट-अप र प्राविधिक कम्पनीहरू थिए ब्याजदर बढ्नु र लगानीकर्ता घट्नुले यी कम्पनीहरूले बैंकबाट पैसा निकाल्ने कार्यलाई तीव्रता दिए । बारम्बार निकासीका कारण बैंकले आफ्नो सम्पत्ति बेच्नु पर्ने अवस्था सिर्जना भयो ।

यसैबीच ८ मार्चमा बैंकले आफ्नो धितोहरू घाटामा बेचेको जानकारी गरायो । यति मात्र नभएर बैंकले २.२५ बिलियन डलरको नयाँ शेयर विक्रीको घोषणा समेत गर्‍यो । जसका कारण ठुला पुँजी कम्पनीहरूले पनि बैंकबाट आफ्नो रकम निकासा गर्न थाले । यस किसिमको परिस्थितका कारण बिहीबार एसबिभीको स्टकमा भारी गिरावट आयो भने अन्य बैंकहरूको शेयरमा पनि भारी नोक्सान पुर्‍यायो।

लगानीकर्ता नभेटेपछि एसभीबीको शेयर शुक्रवार बिहानसम्म रोकिएको थियो । यसका अतिरिक्त, फर्स्ट रिपब्लिक, प्याकवेस्ट ब्यानकर्प र सिग्नेचर बैंक सहित धेरै अन्य बैंक स्टकहरू पनि शुक्रवार अस्थायी रूपमा अवरुद्ध हुन पुगेका थिए । सिलिकन भ्यालीको स्थापना सन् १९८३ मा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *