एआईजीको फुली लगाएको एक सातामै कुँवर बन्लान् त आईजीपी ? – Nepal Press

एआईजीको फुली लगाएको एक सातामै कुँवर बन्लान् त आईजीपी ?

काठमाडौं । रिक्त ५ अतिरिक्त महानिरीक्षक-एआईजीमा शुक्रबार बढुवा सिफारिस भएकैमध्येबाट नेपाल प्रहरीले आगामी चैत ११ गतेदेखि कार्यभार सम्हाल्ने गरी नयाँ प्रमुख पाउनेछ ।

बढुवा समितिले गरेको सिफारिसमा पहिलो नम्बरमा बसन्त कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँमा किरण बज्राचार्य रहेका छन् । यीमध्येबाट सरकारले एक जनालाई नयाँ आईजीपीमा बढुवा गर्नेछ ।

वर्तमान आईजीपी धिरजप्रताप सिंहले आगामी चैत १० गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । बढुवा समितिको सिफारिसविरुद्ध एक साताभित्र उजुरी दिन सकिनेछ । कसैको उजुरी नपरे सिफारिस भएका ५ जनाले चैतको पहिलो साता एआईजीको फुली लगाउने छन् । एआईजीको फूली लगाएकै एक सातामै एक जनाले आईजीपी बन्ने अवसर पाउने छन् ।

एआईजीको बढुवा सिफारिसअनुसार एआईजीको वरियतामा कुँवरलाई पहिलो नम्बरमा राखिएको छ । यसअघि गत असारमा एसएसपीबाट डीआईजीमा बढुवा हुँदा पनि कुँवर पहिलो नम्बरमा थिए । त्यसअघि एसपीबाट एसएसपीबाट बढुवा हुँदा भने १३ औँ नम्बरमा रहेका थिए । उनले डीआईजीको बढुवामा छलाङ मारेका थिए ।

प्रहरी नियमावलीअनुसार सरकारले उपलब्ध एआईजीमध्येबाट र एआईजी नभएको अवस्थामा उपलब्ध डीआईजीमध्येबाट आईजीपी बनाउने उल्लेख छ । अन्तिम समयमा भएको बढुवा सिफारिससँगै भावी आईजीपी एआईजीबाट बढुवा हुने तय भएको छ । प्रहरी नियमावलीअनुसार सरकारले कार्य सम्पादन मूल्यांकन, नेतृत्व गर्ने क्षमता, कार्य कुशलतालगायतलाई आधार मानेर आईजीपी बनाउन सक्ने छ ।

विगतमा वरियता वा ज्येष्ठताको पहिलो नम्बरमा रहेकालाई आईजीपी बनाउने गरिएको भएपनि अघिल्लो आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले त्यसलाई तजविजि अधिकारका रुपमा ब्याख्या गरेको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार एआईजीमा बढुवा हुने पाँचै जना आईजीपीको दावेदार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर