मेयर बालेनसँग चीनका राजदूत चेन सङको शिष्टाचार भेट – Nepal Press

मेयर बालेनसँग चीनका राजदूत चेन सङको शिष्टाचार भेट

काठमाडौंको मौलिक शैली चीनमा प्रवर्द्धन गर्न चाहन्छौँ- प्रमुख शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ् प्रमुख शाहको कार्यकक्षमा आएका थिए ।

भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख शाहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्द्धन गर्न चाहेको बताए ।

‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ’, शाहले भने ।

मेयर शाहले अगाडि थपे, ‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’

नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध २ हजार वर्षभन्दा पनि पुरानो उल्लेख गर्दै बालेनले काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको र यस सम्बन्धलाई बिर्सन नहुने बताए ।

भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ । ‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन्’, राजदूत सङ्को भनाइ छ ।

कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।

भेटका अवसरमा प्रमुखका व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *