माओवादी भँगालोको शिर-पुछार : लड्दा र पर्दा प्रचण्डलाई आधार, सत्ता राजनीतिमा ९ धार – Nepal Press

माओवादी भँगालोको शिर-पुछार : लड्दा र पर्दा प्रचण्डलाई आधार, सत्ता राजनीतिमा ९ धार

काठमाडौं । द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पुराना ‘जनयुद्ध’ का सहकर्मीको साथ खोजेका छन् । आफूविरुद्ध अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढेपछि प्रचण्डले मंगलबार बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक बोलाएर औपचारिकरूपमा सहकार्यको प्रस्ताव अघि सारेका हुन् ।

बालुवाटार बैठकमा माओवादी धारका ८ घटक सहभागी भए । प्रचण्डमाथि मुद्दाको पराकम्पले बालुवाटारबाट जम्मा भएका माओवादीका ८ घटकले आफूहरू एकमत भएर प्रतिवाद गर्ने सहमति गरेका छन् ।
बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरूले संक्रमणकालीन न्यायको विषयमा चलिरहेको बहसको बारेमा छलफल गरेको बताए ।

‘माओवादी आन्दोलनको विषयमा दीर्घकालीनरूपमा कसरी जान सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौं । संक्रमणकालीन न्यायको विषयमा उठिरहेको बहसको बिषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै यसको निरुपण हुनुपर्ने हो’ उनले भने, ‘राज्यको वृहत्त शान्ति सम्झौता र प्रचलित कानूनले सत्य निरुपण मेलमिलाप आयोगबाट अहिलेको समस्या समाधान गर्नुपर्छ भन्ने कुरामा सहभागी घटकहरू एकमत भएका छौं ।’

जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि तीन पटक प्रधानमन्त्री हुँदा आफ्ना पुराना सहकर्मीलाई वास्ता नगरेका प्रचण्डले आफूलाई अप्ठ्यारो पर्ने स्थिति देखिएपछि सहकार्य हात बढाएका छन् । बैठकमा प्रचण्डले सके पार्टी एकता नभएर पूर्वमाओवादी घटककको मोर्चा बनाएर जान प्रस्ताव गरेको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले बताए ।

उनले भने, ‘माओवादी घटकहरू एकजुट नहुँदा अहिले आफूहरूविरुद्ध षड्यन्त्रको प्रयास भइरहेको छ । त्यसैले हामी पुराना कमीकमजोरीलाई सच्चाएर एकजुट भएर जानुपर्छ । त्यसका लागि मैले गर्नपर्ने म गर्न तयार छु ।’

आइतबार बसेको सत्तारुढ ९ दलीय गठबन्धनले पनि संक्रमणकालीन न्यायको विषयवस्तुलाई जोड दिएको थियो ।

होलान् त एकजुट ?

तर, अहिले प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि पूर्वमाओवादीहरू फेरि एकैठाउँमा आउने आधार बनेको नेताहरूको बुझाइ छ । अहिले अदालतमा दर्ता भएको मुद्दा प्रचण्डविरुद्ध मात्रै नभएको नेकपा बहुमतको नेता हेमन्त प्रकाश वली बताउँछन् ।

उनी भन्छन्, ‘यो मुद्दा जुन षड्यन्त्रको साथ आएको छ । अहिले प्रचण्डजीविरुद्ध भएको मुद्दा शान्ति सम्झौताविपरीत भयो । त्यसकारण संक्रमणकालीन मुद्दा सत्य निरुपण मेलमिलाप आयोगबाट समस्याको समाधान गर्नुपर्नेमा अदालतमार्फत् अघि बढाउन खोजेको छ । हामी त्यसका विरुद्ध एकजुट छौं ।’

द्वन्द्वकालीन मुद्दा अदालतमा जानु गतल भएको उनको भनाइ छ ।

उनले भने, ‘यो विशुद्ध उहाँ (प्रचण्ड) माथि मात्रै भएन । समग्र माओवादी आन्दोलनकै समस्या भयो । बिहानको बैठकमा पनि यही कुरा भएको छ ।’

प्रचण्डविरुद्धको मुद्दाले माओवादी घटक एकैठाउँमा आउने सम्भावना बढेको हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अहिले आएको मुद्दा षड्यन्त्रमुलक ढंगबाट आएको हामीले बुझेका छौं । त्यो विषयमा हामी एकजुट हुन्छौं ।

उनले छलफलको वातावरण बन्दै गइरहे पार्टी एकता नभए मोर्चा हुनसक्ने विषयलाई नकार्न नसकिने तर्क राखे ।

यसअघि शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले आफूहरूलाई हेप्न खोजे एकजुट भएर प्रतिकार गर्ने अभिव्यक्ति दिएका थिए ।

माओवादी फुटको श्रृंखला

व्यवस्था परिवर्तन गर्न भन्दै १० वर्षे ‘जनयुद्ध’ को नेतृत्व गरेका प्रचण्ड अहिले एकपछि अर्को गर्दै आफ्ना सहकर्मी गुमाउँदै गइरहेका छन् । प्रचण्डले आफूलाई अप्ठ्यारो परेपछि ८ घटकलाई एकजुट बनाउन सफल भएपनि अझै विश्वस्त आधार भेटेका छैनन् । प्रचण्डको साथ छाडेका नेताहरूले दोष उनैलाई दिएका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन ७ दलसँग १२ बुँदे सम्झौता गरेपछि मणि थापा र रवीन्द्र श्रेष्ठले माओवादीमा विद्रोह थालेका थिए । थापा अहिले एमालेमा छन् भने श्रेष्ठ माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय बर्षमान पुन, जनार्दन शर्माभन्दा सिनियर नेता थिए । तर, अहिले उनी सक्रिय राजनीतिमा छैनन् ।

प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दा भारतको जेलमा रहेको मोहन वैद्य किरण र सिपी गजुरेलले पनि शान्ति प्रक्रियामा आउने सहमतिको सैद्धान्तिक विरोध गरेका थिए । तर, तत्काल पार्टी छाडेनन् ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि ०६४ मा बहुमत ल्याएर ठूलो पार्टी बन्यो । पहिलो संविधानसभाको निर्वाचनपछि मन्त्री भइसकेपछि मातृका यादव अलग भएर मधेसकेन्द्रित दलमा लागे । तर, पछि फेरि माओवादीमै फर्केर अहिले पनि सक्रिय छन् ।

प्रचण्डप्रति नेताहरूको बढ्दो असन्तुष्टिको क्रममा ०६९ सालमा एमाओवादीमा ठूलो समूह विभाजन बन्यो । प्रचण्डसँग रुष्ट बनेका मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल, नेत्रविक्रम चन्द्र विप्लव, पम्फा भुसाल, देव गुरुङलगायतले पार्टी फुटाएर नेकपा-माओवादी गठन गरे । त्यसअघि केही नेताहरू मात्रै बाहिरिए पनि यो पटक प्रचण्डसँग असन्तुष्ट बनेका आधाजसो नेताहरू नै अलग भए ।

प्रचण्डबाट अलग भएर नेकपा-माओवादी गठन गरेपनि उनीहरू सँगै टिक्न सकेनन् । वैद्यबाट विप्लव फुटेर अहिले नेकपा कम्युनिष्ट पार्टी नेकपा चलाइरहेका छन् । तर, विप्लव नेतृत्वको नेकपा पनि फुटेर धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत गठन गरेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी दोस्रो संविधानसभाको निर्वाचनपछि निरन्तर ओरालो यात्रामा छ । अहिले तेस्रो तर निर्णायक शक्तिको रूपमा आफूलाई स्थापित गर्न सफल भएपनि एक्लै चुनावमा जानसक्ने अवस्थामा छैन ।

यस्तै, माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले पनि २०७२ असोज ९ मा माओवादी छाडे । त्यसपछि नयाँ शक्ति, जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनी अहिले प्रचण्डसँग पुनः पार्टी एकता गर्ने अन्तिम तयारीमा छन् ।

यस्तै, प्रचण्डबाट गोपाल किरातीले पनि अलग भएर नेकपा माओवादी केन्द्र गठन गरे । तर, एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएपछि नेकपा माओवादी समाजवादी गठन गरे । तर, अहिले त्यो पार्टी कणजित बुढाथोकीले कब्जा गरे ।

किरातीलाई बुढाथोकीले पार्टीबाट निष्कासन गरेपछि अहिले कुनै पार्टीमा आबद्ध भएका छैनन् । किराती प्रचण्डले माओवादीलाई एमालेसँग मिसाउन लगेपछि असन्तुष्टि भएर पार्टीबाहिरै बसेका थिए ।

यस्तै, प्रचण्डले एमालेसँगको एकतमा पनि आफ्ना जनयुद्धका सहयात्रीलाई गुमाउन पुगे । एकता भंग भएपछि बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रमुख शाहलगायत नेताहरू एमालेमै बसे ।

त्यस्तै, माओवादीबाट अलग भएका प्रभु साहले पनि हालै आम जनता पार्टी गठन गरेका छन् । विश्वभक्त दुलाल ‘आहुती’ भने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर