प्रधानमन्त्रीका निजी सचिवकाे दबाबमा विवादित अहेव निमित्त रजिस्ट्रार नियुक्त


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारी नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिस्ट्रारमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट शुक्रबार नियुक्त भण्डारीले आज पदभार ग्रहण गरेका छन् ।
भण्डारी टेकु अस्पतालको इमर्जेन्सीमा अहेवका रुपमा कार्यरत थिए । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अवधिभर सरुवा, बढुवा र नियुक्तिमा रोक लगाउन जारी गरेको आचारसंहिताविपरीत उनलाई नियुक्त गरिएको हो ।
परिषद्मा मेडिकल डाक्टर, नर्स, फर्मासिस्ट र आयुर्वेदबाहेकका सबै स्वास्थ्य व्यवसायीहरूको दर्ता हुन्छ । ल्याब, जनरल मेडिकललगायतले परिषद्बाट लाइसेन्स नलिई काम गर्न पाउँदैनन् । भण्डारी नेकपा माओवादी केन्द्र निकट अखिल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सहअध्यक्ष हुन् । स्वास्थ्य मन्त्रालय आफूसँगै राखेको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रजिस्ट्रारमा भण्डारीलाई नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयले रजिस्टारमा नियुक्त गरेर पठाएको परिषद्का खरिदार तथा सूचना अधिकारी शीतल बस्नेतले जानकारी दिए । परिषद्को काम–कारबाही रोकिने भएकाले क्याबिनेटबाट निमित्त रजिस्टार नियुक्त गरिएको उनको भनाइ छ ।
मन्त्रालयको निर्णयबाट उनी नियुक्त भएकोबाहेक थप जानकारी नभएको बस्नेतले जानकारी दिए । उनले नेपाल प्रेससँग भने, ‘रजिस्टार नियुक्त हुन परिषद्ले तोकेको मापदण्ड पूरा हुनुपर्ने हो । उहाँ कसरी नियुक्त हुनुभयो, उहाँलाई नै थाहा होला ।’
उनले भण्डारीको विगत राम्रो नभएको सुने पनि त्यसबारे खासै जानकारी नभएको बताए ।
स्रोतका अनुसार प्रधानमन्त्रीका निजी सचिव नवराज ढुंगानाले भण्डारीलाई नियुक्ति दिलाउन सोर्स लगाएका थिए । महालेखामा भ्रष्टाचार आरोप लागेका ढुंगानाले सबै मन्त्रालयमा हुने सरुवा, बढुवा र नियुक्तिमा अस्वाभाविक चलखेल गर्ने गरेको स्रोतले जनाएको छ ।
भण्डारीले अहेवको पदमा कार्यरत रहँदै अध्ययन बिदा स्वीकृत नगराई हेल्थ असिस्टेन्ट पूरा गरेपछि सो मुद्दा अहिलेसम्म अख्तियारमा विचाराधीन छ । त्यसवेला उनको एक पद घटुवासमेत भएको थियो । उनी पाँचौं तहबाट चौथो तहमा घटुवा भएका थिए ।
स्वास्थ्य क्षेत्रभित्र निकै बदनाम भण्डारी कुनै बेला घुस कारोबारमा संलग्न भएको पाइएपछि स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. गुणराज लोहनीले आफ्नो सचिवालयबाट निकालेका थिए । चिकित्सकहरुको सरुवामा घुस लिएको रकमसहित रंगेहात फेला पारेपछि डा. लोहनीले निलम्बन गर्ने तयारी गरेका थिए । तर, राजनीतिक आडमा जागीर जोगाउन सफल भए र अर्को कार्यालयमा पुगे ।
प्रधानमन्त्रीका निजी सचिव नवराज ढुंगाना र लीला भण्डारीको साइनो भने पुरानो छ । स्वास्थ्य सेवा विभागमा ढुङ्गाना कुनै समय शाखा अधिकृतको पदमा कार्यरत थिए । त्यतिवेला स्वास्थ्य सेवा विभागबाट हुने सरुवा, बढुवा र स्तरवृद्धिमा ढुङ्गानाले अहेव भण्डारीमार्फत सेटिङ गर्ने गर्थे । निजी सचिव ढुंगानाले अहिले पनि अख्तियारमा मुद्दा खेपिरहेका छन् ।
सरुवा–बढुुवामा बिचौलियाको काम गर्ने भण्डारी माओवादीका नेताहरू देवेन्द्र पौडेल र कल्पना धमलासँग पनि निकट रहेको स्रोतले बतायो । माओवादीकोे स्वास्थ्यकर्मी संगठन हुँदै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेका भण्डारी त्यहाँ केही उपाय नलागेपछि फेरि बीचमै माओवादीमा फर्किएका थिए ।
टेकु अस्पतालको इमर्जेन्सीमा कार्यरत भण्डारी कोभिडको समयमा सामग्री खरिदमा समेत भ्रष्टाचारमा मुछिएका थिए । अहिले सो मुद्दा अख्तियारमा छ ।
माओवादीले यस्ता भ्रष्ट व्यक्तिहरु सिफारिस गर्दा स्वास्थ्य व्यवसायी परिषद्को समेत गरिमामा आँच पुग्ने पदाधिकारी बताउँछन् । उनी नियुक्त भएकोमा काउन्सिलकै पदाधिकारीमात्र नभई स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुसमेत खुशी छैनन् ।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारी राजनीतिक पहुँचको आधारमा भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई नियुक्त गरिएको बताउँछन् ।
नाम नखुलाउने सर्तमा भन्छन्, ‘यो निर्णय गर्नुअघि उहाँको बारेमा सचिवज्यूलाई पनि थाहा थियो । तर, स्वास्थ्यमन्त्रीसमेत रहेका प्रधानमन्त्रीको निजी सचिवको आदेशमा उहाँलाई नियुक्त गरियो ।’
भ्रष्टाचार मुद्दा खेपेका र पदसमेत घटुवामा परेका उनी राजनीतिक पहुँचमा नै नियुक्ति लिन सफल भएको मन्त्रालयका एक कर्मचारीले नेपालप्रेसलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको निजी सचिवको दबाबमा नियुक्ति खानुभयो । सबैलाई थाहा छ, उहाँ कस्तो व्यक्ति हो भनेर । यसमा सचिवज्यूको पनि केही लागेन ।’
हेर लुटेराहरूको काम ?