राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र अन्य समान लुट्ने गिरोहका ५ जना पक्राउ


जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाको राजदेवी मन्दिरबाट चाँदीको मूर्ति, मुकुट, थालसहितका समान लुटेर लगेका ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपालिका ४ सुन्दरपुरका २९ वर्षीय मोहमद हबगुल्ला साह, सोही ठाउका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपालिका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो छन् ।
फाल्गुन १४ गते राति हतियारसहित पुगेका उनीहरू मन्दिरमा लुटपाट गरेका थिए । लुटपाट गर्दा उनीहरूको अनुहार सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
सीसीटीभी फुटेजकै आधारमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले आज सार्वजनिक गरेको छ ।
लुटपाट गरेका केहि समान, एक थान पेस्तोल र खुकुरीसहितका घरेलु हतियार समेत बरामद भएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए । उनले उनीहरूमाथि अनुसन्धान गरिरहेको र थप व्यक्तिको संलग्नता देखिए उनीहरूलाई पनि पक्राउ गरी कारबाही गरिने बताए ।
उक्त मन्दिरमा पाँचौँ पटक मूर्ति र अन्य सामानहरु चोरी भइसकेको छ । यस अघिको चोरीमा संलग्नहरू पक्राउ पर्न सकेका छैनन् । चोर पक्राउ नगरेको भन्दै मन्दिरका पुजारी र स्थानीय आन्दोलन समेत गरेको थिए ।