भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री र कर्मचारीको एकै स्वरः श्रोतसाधनको अभावमा बजेट खर्च गर्न सकेनौं – Nepal Press

भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री र कर्मचारीको एकै स्वरः श्रोतसाधनको अभावमा बजेट खर्च गर्न सकेनौं

रुपन्देही । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको समीक्षामा श्रोतसाधन अभावका कारण बजेट खर्च हुन नसकेको निष्कर्ष निकालेको छ । अर्धवार्षिक प्रगति समीक्षामा यस्तो निष्कर्ष निकालिएको हो ।

चालु वर्षको माघ मसान्तसम्म मन्त्रालयले जम्मा २३ दशमलब ५४ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । मन्त्राललयले मुख्यतयाः प्रदेशका योजना कार्यान्वयनमा जनशक्तिको अभाव, रकम अभाव, योजनामा स्थानीय सरकारको समन्वय नहुँदा समस्या भएको जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुले मन्त्रालयकै लागि भवनको अभाव हुँदा नयाँ संरचना, नयाँ स्थानबाट काम कारवाही गर्दा योजना कार्यान्वयनमा समस्या रहेको बताए ।

नयाँ सरकार निर्माण भएपछि ५० प्रतिशत भौतिक प्रगति गरेको दावी गर्दै जनशक्तिको पदपूर्ति भएमा योजना कार्यान्वयनमा सहज हुने उनको भनाइ छ । उनले भने–‘सरकार गठन भएको छोटो समयमा धेरै प्रगति भएको छ, तैपनि चाहेजति काम गर्न सकिएको छैन त्यसको लागि जनशक्ति अभाव नै मुख्य हो । ’

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले चालु आर्थिक बर्षमा पूँजिगत खर्च २३ प्रतिशत मात्र खर्च गरेको बताए । सचिव श्रेष्ठले जनशक्ति अभावकै कारण योजना कार्यान्वयनमा समस्या भएको बताउँदै भने–‘मन्त्रालयमा सम्बन्धित कार्यालयमा जम्मा चार सय ८४ जनाको जनशक्तिको दरवन्दी छ तर, तीस प्रतिसतको हाराहारीमा दरशन्दी रिक्त छ, यसबाट पनि अपेक्षित काम हुन सकेको छैन ।’

मन्त्रालयले सीमित श्रोतसाधनका वाबजुत पनि २५ प्रतिशतको हाराहारीमा पूँजीगत खर्च गर्न सफल उनको दावी छ । उनले प्रदेश सरकारको अनुभूति दिनेगरी काम गरेको भएपनि सबै योजना स्थानीय सरकारकै रुपमा जनताले बुझेकाले प्रदेश सरकारलाई उपेक्षा गरेको हुनसक्ने दावी गरे ।सचिव श्रेष्ठले भन्ने–‘हामी प्रदेशबाट पनि धेरै काम गरेका छौं, तर प्रचारप्रसार स्थानीय सरकारकै मात्र हुने गरेको पो होकी भन्ने लागेको छ ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत चालु आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने समानीकरणतर्फ सडक तथा पुल एकहजार आठसय ८५,सशर्त योजना दुई सय दश, समपुरकतर्फ आठ गरी जम्मा दुई हजार एकसय तीनवटा योजना रहेका छन । यस्तै ऊर्जा तथा जलश्रोततर्फ समानीकरणतर्फ एकहजार ४२ योजना सशर्त योजना तीन सय ५७ समपुरकतर्फको योजना गरी एक हजार तीनसय ९९ वटा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर