बन्दुकधारीहरुबाट मेस्सीलाई धम्कीको पत्र, ससुरालीको सुपरमार्केटमा गोली प्रहार


काठमाडौं । बन्दुकधारीहरूले पेरिस सेन्ट जर्मेन(पीएसजी)का फरवार्ड लियोनल मेसीलाई धम्कीपूर्ण सन्देश छोडेका छन् ।
अर्जेन्टिनास्थित रोजारियोमा रहेको उनको ससुरालीको सुपरमार्केटमा आक्रमण गरेपछि बन्दुकधारीहरुले धम्कीपूर्ण सन्देश छोडेको रोजारियो प्रहरीले बिहीबार पुष्टि गरेको छ ।
एक मोटरसाइकलमा आएका दुई व्यक्तिले बिहीबार बिहानै रोजारियोको लाभाले जिल्लामा रहेको खाद्य स्टोर ‘युनिको’को शटर र अगाडिको ढोकामा चौध गोली चलाएको बताइएको छ ।
उक्त आक्रमणमा कोही पनि घाइते भने भएनन् । आक्रमणकारीहरूले देशको तेस्रो ठूलो शहर रोजारियोमा किन मेसी वा उनकी श्रीमती एन्टोनेलाको परिवारको सुपरमार्केटलाई लक्षित गरे भन्ने बारे केहि प्रस्ट भने भएको छैन ।
बन्दुकधारीले छोडेको धम्कीपूर्ण पत्रमा, ‘मेसी हामी तपाइँलाई पर्खिरहेका छौं । जाभकिन एउटा ड्रग डिलर हो । उसले तिम्रो हरेरचाह गर्नेछैन’, पाब्लो जाभकिन रोसारियोका मेयर हुन् । बिहीबारको घटनापछि, जाभकिनले पत्रकारहरूसँग रोसारियोमा हिंसा बढेको र सहरमा प्रहरीको अभाव र सुरक्षाको अभावबारे बताएका छन् ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । विश्वकपका गोल्डेन बल विजेता मेसी गत सोमबार फिफा वर्ष खेलाडी घोषित भएका थिए ।