‘छक्का पञ्जा ४’ र ‘छड्के २’ मा कस्तो छ पहिलो दिनको अकुपेन्सी ? – Nepal Press

‘छक्का पञ्जा ४’ र ‘छड्के २’ मा कस्तो छ पहिलो दिनको अकुपेन्सी ?

काठमाडौं । यस वर्षको बहुप्रतिक्षित मानिएका दुई चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आज रिलिज भए । फरक जनरामा निर्माण भएका यी दुई चलचित्रलाई लिएर दर्शकदेखि चलचित्रकर्मीसम्ममा कौतुहल थियो ।

रिलिजको पहिलो दिन दुइटै चलचित्रले शत प्रतिशत अकुपेन्सीको आशा गरेका थिए । तर, आज हलहरूमा दर्शकको फ्लो मेकरहरुले सोचे जस्तो हुन सकेन । ‘छड्के २’ भन्दा ‘छक्का पञ्जा ४’ को अकुपेन्सी तुलनात्मक रुपमा राम्रो छ ।

छड्केको वितरण अधिकार सुनिल मानन्धरले लिएका छन् । उनले पहिलो दिनको व्यापार सन्तोषजनक नभएको बताए । यद्यपि शनिबारबाट चलचित्रले पिकअप लिने उनको आशा छ ।

मानन्धरले भने, ‘माहोल हेर्दा १०० प्रतिशत अकुपेन्सी हुने आशा थियो । तर, हलमा आज अकुपेन्सी त्यति राम्रो भएन । हेरौं भोलिबाट वर्ड अफ माउथले केही परिवर्तन ल्याउँछ कि ?’

सुपरस्टार अनमोल केसीको क्रेजका कारण आफूले केही नसोची चलचित्रको राइट्स किनेको मानन्धरको भनाइ छ ।

‘अनमोललाई हेरेर नै राइट्स लिएको थिएँ । चलचित्रले सोचे जस्तो व्यापार गरेन भने पक्कै निराशा हुन्छ’, उनले थपे ।

मानन्धरले १ करोड ५० लाखमा ‘छड्के’ को राइट्स किनेका हुन् । भोलि चलचित्रले राम्रो व्यापार गरेको खण्डमा वितरकले हालेको र १५ प्रतिशत कमिसन काटेर बचेको पैसा निर्माण टीमले पाउनेछ । अर्थात ‘छड्के २’ ले सोचे जस्तो व्यापार गरेमात्र निर्माण टीमले हलबाट उठेको बाँकी रकम प्राप्त गर्नेछ ।

यता ‘छक्का पञ्जा ४’का वितरक मनोज राठी भने आजको व्यापारबाट खुशी नै देखिन्छन् । बिहानका पहिलो शोहरुमा ६५ प्रतिशत अकुपेन्सी पाएको उनले बताए ।

बेलुकाका शोहरुमा भने ९० प्रतिशत अकुपेन्सी मिलेको उनको दाबी छ । भोलि शनिबार शत प्रतिशत अकुपेन्सीको आशा उनले राखेका छन् ।

उनले अढाई करोड रुपैयाँमा ‘छक्कापञ्जा ४’ को राइट्स किनेको चर्चा छ । आफूले वितरण गरेका चलचित्रहरुमध्ये ‘छक्का पञ्जा ४’ मा अहिलेसम्मकै ठूलो लगानी गरेको राठीले बताए । उनले यसअघि ‘कबड्डी’, ‘नाइ नभन्नु ल’ जस्ता सुपरहिट चलचित्रहरुको वितरण गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर