मिडियाहरु चर्चित नेताकाे पछाडि मात्रै दौडिए: सभामुख घिमिरे (भिडिओ)


काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढीरहेको भएपनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताए ।
उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शुन्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाएपनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताए ।
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गरे ।
उनले भने, ‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । सहभागिता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाहरुले बाहिर प्रचार गर्न सकेको छैन । किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढंगकै हेर्ने हो भनेपनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शुन्य समयमा होस् वा विशेष समयमा होस् उहाँहरुको सहभागिता राम्रो छ । तर त्यो खालको प्रचारप्रसारहरु छैन । अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु ।’
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने सुझाए ।