निर्वाचन आयुक्तका आवासमा खटिने सुरक्षाकर्मीलाई पनि थप शत प्रतिशत तलब सुविधा – Nepal Press

निर्वाचन आयुक्तका आवासमा खटिने सुरक्षाकर्मीलाई पनि थप शत प्रतिशत तलब सुविधा

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तका आवासमा रहने सुरक्षाकर्मी, आयुक्त र सचिवका निजी सुरक्षा अधिकारी (पीएसओ)ले पनि थप शत प्रतिशत तलब सुविधा पाउने भएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन (आर्थिक) कार्यविधि २०७९ अनुसार निर्वाचनको काममा संलग्न, आयुक्त, आयोगको सचिवालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारीलाई थप शत प्रतिशत सुविधा पाउने भएका हुन् ।

आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तोकिएको मिति २०७९ माघ १६ गतेदेखि मतगणना कार्य सम्पन्न भएको एक साता अर्थात २०७९ चैत पहिलो सातासम्म प्रतिमहिना प्राप्त गर्ने सुविधामा थप शत प्रतिशत सुविधा उपलब्ध गराइनेछ । जसमा आयुक्तले सुरु तलब स्केलको शत प्रतिशतसहित सञ्चार सुविधा २ हजार ५ सय प्राप्त गर्नेछन् ।

आयोगका सचिव, सहसचिव र उपसचिवले सुरु तलव स्केलको शत प्रतिशतसहित सचिवले २ हजार, सहसचिवले १ हजार ५ सय र उपसचिवले १ हजार सञ्चार सुविधा खर्च पाउनेछन् ।

सचिवालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारीले भने सुरु तलब स्केलको शत प्रतिशतमात्रै प्राप्त गर्नेछन् ।

निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी, आयुक्तको आवासमा खटिने सुरक्षाकर्मी, आयुक्त र सचिवका पीएसओ, निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारी, निर्वाचन अधिकृतका पीएसओ निर्वाचन अधिकृतको कार्यालयमा खटिएका सुरक्षाकर्मी, आयोगको कार्यालय भवन तथा परिसर, निर्वाचन कार्यालयको भवन, मतपत्र छपाइ स्थल र निर्वाचन सामग्री ढुवानीको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि सुरु तल स्केलको शत प्रतिशत प्राप्त गर्नेछन् ।

निर्वाचन अधिकृतलाई भने एकमुष्ट २ हजार सञ्चार सुविधा खर्च उपलब्ध गराइनेछ ।

प्रमुख निर्वाचन आयुक्तदेखि सेवा करारसमेतका कर्मचारीलाई खाजा खर्च र खाना खर्च पनि उपलब्ध गराइने भएको छ । अर्थ मन्त्रालयबाट जारी गरिएको कार्य सञ्चालन निर्देशिका, २०७७ बमोजिम खाजा खर्च र खाना खर्च उपलब्ध गराइनेछ । कार्यविधि अनुसार मतदान केन्द्रमा खटिने कर्मचारीले दैनिक भत्ता र मतदान केन्द्र निर्माणलगायत खर्च पनि तोकेको छ ।

जसमा प्रत्येक मतदान केन्द्रमा खटिने कर्मचारीलाई ४ दिनको दैनिक भत्ता तथा भ्रमण खर्च निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइनेछ ।

जसअनुसार मतदान अधिकृत र अधिकृतस्तरको कर्मचारीले प्रतिदिन २ हजार ५ सय, सहायक कर्मचारीले १ हजार ६ सय, सहयोगी कर्मचारीले १ हजार २ सय, मतदान केन्द्र निर्माणका लागि एकमुष्ट १० हजार र विविध तथा भैपरी आउने खर्च ३ हजार तोकिएको छ ।

मतगणना कार्यमा खटिने कर्मचारीको सुविधा पनि कार्यविधिमा तोकिएको छ । जसमा प्रमुख मतगणना अधिकारी अर्थात निर्वाचन अधिकृतले ३ हजार, सहायक मतगणना अधिकारीले २ हजार ५ सय, सहायक कर्मचारी अर्थात कम्प्युटर अपरेटरले १ हजार ६ सय, कार्यालय सहयोगीले १ हजार २ सय र पीएसओले ६ सय रुपैयाँ भत्ता प्राप्त गर्नेछ ।

कार्यविधिअनुसार निर्वाचन अधिकृतको कार्यालयमा १० जना कर्मचारी खटिनेछन् । जसमा निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत (राजपत्रांकित द्वितीय श्रेणी वा तृतीय श्रेणी) एक जना, अधिकृतस्तरको कर्मचारी (राजपत्रांकित तृतीय श्रेणी) एक जना, लेखा अधिकृत वा लेखापाल एक जना खटिनेछन् ।

यस्तै सहायक कर्मचारी (राजपत्र अनंकित प्रथम) एक जना, कम्प्युटर अपरेटर (राजपत्र अनंकित प्रथम) एक जना, सवारी चालक एक जना, सहयोगी कर्मचारी २ जना र सुरक्षा गार्ड (पीएसओ) एक जना खटिनेछन् ।

मतदान केन्द्रमा भने ७ जना खटिनेछन् । जसमा मतदान अधिकृत (राजपत्रांकित द्वितीय श्रेणी) एक जना, अधिकृतस्तर कर्मचारी (राजपत्रांकित तृतीय श्रेणी) मतपत्र दिने एक जना, सहायक कर्मचारी (मतदाता नामावली रुजु गर्न एक जना, तथ्यांक भर्ने एक जना र नङमा मसी लगाउन एक जना महिलासहित) ३ जना र सहयोगी कर्मचारी (एक महिलासहित) २ जना खटाइनेछ ।

निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापनमा २ लाख २० हजार खर्च गरिनेछ । जसमा कार्यलय सञ्चालनसम्बन्धी खर्च ५० हजार, मतगणना व्यवस्थापन खर्च ४० हजार खर्च गर्न पाइनेछ । त्यसपछि इन्धन तथा अन्य इन्धनमा ३० हजार, विविध खर्च ३० हजार, पानी तथा बिजुली महसुल २० हजार, सञ्चार महसुल २० हजार र मतगणना खाजा र चियापान खर्च १० हजार गर्न पाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर