यातायात व्यवस्था विभागमा किन टिक्दैनन् महानिर्देशक ? ८ महिनामा फेरिए चार जना – Nepal Press

यातायात व्यवस्था विभागमा किन टिक्दैनन् महानिर्देशक ? ८ महिनामा फेरिए चार जना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको यातायात व्यवस्था विभागको महानिर्देशक १५ दिनमै सरुवा भएका छन् । गत माघ २५ गतेमात्रै विभागमा जिम्मेवारी सम्हालेका सहसचिव तुलसीनाथ गौतमलाई फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले माघ २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत गौतमलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको सो बैठकले प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशमा कार्यरत सहसचिव नारायणप्रसाद भट्टराईलाई भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ । सम्भवतः उनैलाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिने मन्त्रालयको तयारी छ ।

उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशकले सुटुक्कै विभागबाट सरुवा मिलाएका थिए । उनले सरुवा पहल गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौतिक मन्त्रालयलसँग सहमति लिएको सचिवालले जनाएको छ ।

मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले विभागमा कर्मचारी बस्नै नमानेका कारण महानिर्देशक सरुवा भएको नेपाल प्रेसलाई जानकारी दिए । मन्त्रीको भन्दा कर्मचारीको चाहना हाबी भएका कारण विभागमा महानिर्देशक फेरिइरहने गिरीले बताए ।

‘यातायात व्यवस्था विभागलाई कर्मचारीले महत्वपूर्ण विभागका रुपमा नलिने रहेछन् । आउनेबित्तिकै अर्को कुनै महत्वपूर्ण निकायमा जान रहर गर्ने रहेछन्’, उनले भने, ‘पछिल्ला दुईजना महानिर्देशक आफैं सरुवा हुनुभएको हो, मन्त्रीले गर्नुभएको होइन ।’

सरुवा भएका सहसचिव गौतमले सरकारले गरेको निर्णयअनुसार आफूले काम गर्ने प्रतिक्रिया दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि आफू त्यसैअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर भएको उनले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘विभागमा १५ दिनमात्रै भए पनि भौतिक मन्त्रालयमा गएको १५ महिना पुगिसकेको थियो ।’

गौतमले कर्मचारीको चाहनाले मात्र सहसचिवको सरुवा हुन नसक्ने प्रतिक्रिया दिए ।

८ महिनामा चार जना महानिर्देशक

पछिल्लो ८ महिनामा यातायात व्यवस्था विभागले ४ जना महानिर्देशक पाएको छ । तत्कालीन महानिर्देशक गोगनबहादुर हमाल र नमराज घिमिरेले एक वर्षभन्दा बढी समय विभागमा बसे पनि त्यसपछिका महानिर्देशक बढीमा ६ महिनामात्रै बसेका छन् ।

यसअघि २०७९ असार २० देखि भदौ २० गतेसम्म विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव सुरेश राउतले सम्हालेका थिए । सहसचिव राउतको ३ महिने कार्यकालपछि २०७९ भदौ २० गतेदेखि डा.टोकराज पाण्डेयले महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनी पनि ६ महिना नबित्दै सरूवा भए ।

सहसचिव नमराज घिमिरे २०७७ चैत २ देखि २०७९ असार १९ गतेसम्म १५ महिना विभागको महानिर्देशक भए । विभागको ३२औं महानिर्देशक घिमिरेलाई छोडेर त्यसपछि आएका सुरेश राउतपछि ८ महिनामा ४ जना महानिर्देशक फेरिए ।

घिमिरेअघिका हमालले घिमिरे १८ महिना महानिर्देशक भए । हमालअघि पनि विभागको महानिर्देशकमा कोही पनि लामो समय बसेनन् । हमालले विभागमा महानिर्देशक नटिक्ने थितिमा ब्रेक लगाएका थिए ।

हमालअघि महानिर्देशक कुमारप्रसाद दहालले ४ महिनामात्रै जिम्मेवारी सम्हाले । त्यसअघि लावण्डयकुमार ढकालले ७ महिनामात्रै जिम्मेवारी सम्हाले । त्यसअघि उपसचिव प्रेमकुमार सिंहले २ महिना कायममुकायमको जिम्मेवारी सम्हालेका थिए ।

पूर्वमहानिर्देशक रुपनारायण भट्टराईलाई यातायात व्यवसायीको सिण्डिकेट हटाउन पहल गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विभागबाट सरुवा गरेका थिए । ‘म विभागमा ११ महिना बसे । मैले यातायात व्यवसायीको सिण्डिकेट हटाउन पहल गरें’, उनले भने, ‘यस विषयमा मन्त्रीसँगै लफडा परेपछि सरुवा हुनुपर्‍यो ।’

यातायात व्यवसायीलाई राजनीतिक दलले पालेका कारण उनीहरुले विभागको महानिर्देशकलाई टिक्नै नदिने गरेको पूर्वमहानिर्देशक भट्टराईको अनुभव छ । उनले भने, ‘विशेषगरी यातायात व्यवसायी महासंघमा एमाले-कांग्रेसको वर्चस्व छ । त्यसैले व्यवसायीले एमाले र कांग्रेसका नेतालाई पालेका छन् । यदि व्यवसायीले भने जसरी काम महानिर्देशकले गरेन भने पार्टीका नेतालाई उनीहरुले गुहार्छन् र महानिर्देशकलाई काम गर्न दिँदैनन् । त्यसैकारण विभागमा महानिर्देशकले काम गर्न सक्दैन र सरुवा लिएर जान्छ ।’

३ जना महानिर्देशक एक महिना पनि टिकेनन्

२०४१ सालमा स्थापना भएको यातायात व्यवस्था विभागमा २०४६ सालदेखि २०७९ सालसम्म ३३ वर्षमा ३५ जना महानिर्देशक फेरिएका छन् । सुरुवाती ६ वर्षको अवधिमा २०४६ देखि २०५१ सालसम्ममा ८ जना महानिर्देशक फेरिसकेको भए पनि कुन महानिर्देशकले कति वर्ष वा कति महिना जिम्मेवारी सम्हाले भन्ने विभागसँग रेकर्ड छैन । तर, २०५२ सालपछिका महानिर्देशकको समयावधि भने विभागले राखेको छ । २०४६ सालदेखि सुरुमा ७ जना महानिर्देशक राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरहका थिए ।

२०५१ सालदेखि राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसरहका कर्मचारीले महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन् । ३ जनाले मात्रै कामु महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

विभागमा २०५२ देखि २०७९ सम्म २७ वर्षमा २७ जना महानिर्देशक भएका छन् । यहाँ अधिकांश महानिर्देशकले ६ महिनाभन्दा कम जिम्मेवारी सम्हालेको छन् । यस अवधिमा १७ जना महानिर्देशक एक वर्ष पनि बसेनन् । ११ जना महानिर्देशक ६ महिना पनि बसेनन् भने ३ जना महानिर्देशक १ महिना पनि टिकेनन् ।

सबैभन्दा कम समय महानिर्देशक हुने हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका तुलसीनाथ गौतम नै हुन् । उनले १५ दिनमात्रै महानिर्देशको जिम्मेवारी सम्हालेका थिए ।

दोस्रोमा महानिर्देशक बन्नेमा पूर्वसहसचिव नरेन्द्रराज शर्मा छन् । उनी २०६८ कात्तिक १६ देखि मंसिर ९ गतेसम्म २३ दिनमात्रै महानिर्देशक बने । तेस्रोमा पूर्वसहसचिव हरिप्रसाद नेपाल छन् । उनी २०६२ बैशाख ३ देखि ३० गतेसम्म महानिर्देशक बने ।

४ वर्षभन्दा बढी महानिर्देशक बनेका थिए मल्लिक

विभागका अनुसार अहिलेसम्म सबैभन्दा बढी ४ वर्ष पूर्वसहसचिव बैद्यनाथ मल्लिकले महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनले २०५२ असार ६ देखि २०५६ भदौ २३ गतेसम्म ४ वर्ष २ महिना जिम्मेवारी सम्हालेका थिए । त्यसपछि पूर्वसहसचिव छविराज पन्तले साढे २ वर्ष महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनले २०५८ जेठ १८ देखि २०६० पुस २३ गतेसम्म २ वर्ष ७ महिना जिम्मेवारी सम्हालेका हुन् ।

तेस्रोमा पूर्वसहसचिव खगेन्द्रमणि पोखरेलले २ वर्ष विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनले २०६३ भदौ २८ देखि २०६५ असोज ५ गतेसम्म जिम्मेवारी सम्हालेका थिए ।

महानिर्देशक प्रशासन सेवाको सहसचिव हुने गरेको भए पनि उक्त विभाग प्राविधिक विभागका रुपमा लिइन्छ । त्यसैले यहाँ सरूवा भएर आउनेलाई पनि यहाँको अवस्था र के-कस्ता काम भइरहेका छन् भन्ने बुझ्न समय लाग्छ । यसरी सामान्य जानकारी लिँदालिँदै विभागबाट बिदा हुने अवस्थाले दीर्घकालीन रणनीतिक योजना बनाउन र कार्यान्वयनमा लैजान समस्या भइरहेको कर्मचारीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर