स्ववियु चुनावका लागि विद्यार्थी संगठन देशभर धमाधम दर्ता (तस्बिरहरू / भिडिओ) – Nepal Press

स्ववियु चुनावका लागि विद्यार्थी संगठन देशभर धमाधम दर्ता (तस्बिरहरू / भिडिओ)

काठमाडौं । स्ववियु निर्वाचनको प्रक्रिया सुरू भएको छ । आगामी चैत ५ गते निर्धारण गरिएको चुनावमा प्रतिस्पर्धा गर्ने विद्यार्थी संगठनले धमाधम आफ्नो संगठन दर्ता गराइरहेका छन् । विद्यार्थी संगठन दर्ताको समय अपरान्ह ३ बजेसम्म तोकिएको छ ।

विद्यार्थी संगठनहरू दलबलसहित विभिन्न क्याम्पसमा पुगेका छन् । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदैछ ।

चुनावी कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी-विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी-विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार विद्यार्थी संगठनले फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो ।

स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।

त्रिविमा २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सम्म प्रत्येक वर्ष स्ववियू निर्वाचन हुँदै आएकोमा २०३६ देखि दुई-दुई वर्षमा गराउन थालियो । २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियू निर्वाचन भएको थियो । २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।

२०६५ सालयता भने यो चुनाव नियमित हुनसकेको छैन । २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियू चुनाव भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर