पाल्पामा जनप्रतिनिधि र प्रहरीकै मिलेमतोमा कानुन विपरीत नदीजन्य पदार्थ उत्खननको आरोप – Nepal Press

पाल्पामा जनप्रतिनिधि र प्रहरीकै मिलेमतोमा कानुन विपरीत नदीजन्य पदार्थ उत्खननको आरोप

रुपन्देही । पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा जोडिएको निर्माण कम्पनीले कालीगण्डकी नदीमा निर्माण भएका पुल नजिकै मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् नरोकिएपछि स्थानीयले प्रहरी प्रशासनलाई गुहारेका छन् ।

थापाको श्रीमतीको नाममा रहेको सुविधा कन्सर्टक्सनका लागि सो क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गरिएको स्थानीयले बताएका छन् । अहिले कालीगण्डकी नदीमा धेरै ठाउँमा पुल निर्माणाधीन छन् । तर सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ निकाल्न रोक लगाएको छ ।

निर्माण कम्पनीहरुले यस्तै आयोजनाको नाममा नदीबाट आवश्यक वस्तुहरु निकालेर अन्य क्षेत्रका आयोजनामा बेच्न थालेको भन्दै स्थानीयले विरोध जनाउन थालेका हुन् ।

स्थानीयका अनुसार मेयर थापा सुविधा कन्टक्सन मात्रै होइन नदीजन्य पदार्थ संकलन गरी बेच्ने सेभेन स्टार क्रसरमा पनि जोडिएका छन् । कालीगण्डकीबाट त्यसरी गैरकानुनी तरिकाले ल्याइएका नदीजन्य पदार्थ त्यो क्रसरमा जाने र कालीगण्डकीमा बन्न लागेका पुलमा नभई अन्यत्र बिक्री वितरणका लागि लगेकाले रोक्नुपरेको स्थानीयको भनाइ छ ।

तर जनप्रतिनिधि, प्रहरी, निर्माण आयोजना तथा राजनीतिक दलको नेतृत्वको मिलेमतो भएकै कारण एकले अर्कोलाई नदेखेजस्तो गर्ने, एकले अर्कोलाई आरोप लगाउनेगरी नियमित गैरकानुनी काम गरिरहेको स्थानीय दीपक घिमिरेको गुनासो छ ।

वडा नं ८ का माधव पोखरेलसहितको टोलीले वडा नं ६ र ८ जोड्ने तुरून्दे खोलाको पक्की पुल नजिकबाट मापदण्ड विपरीत नदीजन्य पदार्थ निकालिएपछि वडा नं ८ का वडाध्यक्ष दिनेश आचार्यलाई तत्काल रोक्न आग्रह गरेका थिए । आचार्यले स्थानीयको आग्रहअनुसार तत्काल फिल्डमा पुगेर प्रहरी बोलाएर रोके तर मेयर थापाले नरोक्न भनेपछि उनी ब्याक भएका थिए ।

स्थानीयले वडाध्यक्ष आचार्यसमेत मेयर तथा प्रहरीसँग मिलेर यसो गरेको हुनसक्ने आशंका गरेका छन् । तुरुन्दे खोलाको पुललाई क्षति हुनेगरी नजिकबाट सामग्री निकालिएको छ, हामीले सुक्ष्म तरिकाले अध्ययन गर्यौ त्यहाँबाट निकालिएको सामग्री यहाँका आयोजनामा नलगी अन्तै लगिएपछि हामीले विरोध गरेका हौं– स्थानीय दामोदर पंगेनीले भने । सो पुल कालीगण्डकी किनारबाट २०० मिटर माथि पर्छ।

यो पुलको छेउबाट नदीजन्य पदार्थ तस्करहरू र नगरपालिकाका पदाधिकारीको मिलेमतोमा पुललाई क्षति पुर्याउने गरी पुल नजिकैबाट रातको समयमा नदीजन्य वस्तु निकालिएको छ । पुल छेउबाट निरन्तर नदीजन्य पदार्थ निकाल्दा पुलको संरचनामै क्षति पुग्ने अबस्था छ,यो बिषयमा स्थानीयले नगरपालिकाका जनप्रतिनिधि र प्रशासन कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएको छैन– वडा नं ८ का राजाराम घिमिरेले बताए । सो पुल संसद बिकाष कोषबाट २०७४ सालमा ५० लाखमा निर्माण सम्पन्न भएको हो।

अहिले ट्याक्लुक दामाचौर जोड्ने पुलका लागि काम भइरहेको छ, सो पुल निर्माणका लागि इलाइट एसबीजेवीको नाममा ठेक्का परेपनि अहिले उसको काम मेयर थापाकै श्रीमतिको नाममा रहेको सुविधा कन्सर्टकसनले काम गरिरहेको छ ।

यसका लागि आवश्यक सामग्री सेभेन स्टार क्रसरले उपलब्ध गराउँछ त्यसमा पनि मेयर थापाकै लगानी रहेको छ । यसकारण पनि स्थानीयले जनप्रतिनिधिकै लगानीमा रहेका ठेक्का आयोजनामा बढी खबरदारी गरेको हुनसक्छ ।

वडा नं ८ का वडाध्यक्ष दिनेश आचार्यले आफ्नो संलग्नता देखिए कारबाही भोग्न तयार रहेको बताए । ’स्थानीयको उजुरीका आधारमा प्रहरी बोलाएर फिल्डमा गएको साँचो हो, तर मेयर सापले पुल निर्माण आयोजनाका लागि मन्त्रालयबाट पत्रसमेत आएकाले छाडिदिन भनेपछि फर्केको हुँ’– उनले भने ।

इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख लक्ष्मण देवकोटाले स्थानीयले विरोध गरेपछि आफूहरु सो क्षेत्रमा पुगेको तर निर्माण आयोजनाकै लागि पुललाई असर नपर्नेगरी निकालेको जनप्रतिनिधिकै भनाइ आएकाले फर्किएको बताए ।

‘स्थानीयले खबरदारी गर्नु जायज हो, कानुन विपरीत र जनप्रतिनिधि तथा प्रहरीको मिलेमतो आरोपको छानविन होस्, हामी कानुन कार्यान्वयन गर्न आएका हौं तर सबैले यसलाई ख्याल गर्नुपर्यो, यहाँ निर्माण भएका आयोजना कसरी चल्ने ? उनले भने–‘सर्वोच्चले कालीगण्डकीबाट नदीजन्य पदार्थ निकाल्न रोकेको छ, काम भइरहेको छ, जुन आयोजनाका लागि निकालिने मापदण्डा अनुसार निकालिने हो त्यही प्रयोग गरिनुपर्छ भन्ने विषय जायज छ ।’

सो क्षेत्रमा भएका विभिन्न आयोजना निर्माणका लागि निर्माण कम्पनीहरुले कानुन छलेर नदीजन्य पदार्थ निकालेका छन् । प्रहरीले उठाएको जरिवाना दस्तुरबाट पनि त्यसको प्रमाणित हुन्छ । नगर प्रमुख रमणबहादुर थापाले कानुन विपरीत कुनै काम नभएको बताए ।

महत्त्वपूर्ण काम गर्दा रोक्नखोज्ने केहीले गुनासो गरेका होलान्, तपाईंहरू फिल्डमा पुगेर बुझ्नुहोस्, सबै काम पारदर्शी छ, राष्ट्रिय आयोजनाका काम कसैले रोक्न भएन, साना खोलाछेउँमा फालेका नदीजन्य वस्तु दस्तुर लिएरै उठाइन्छ सबै ठाउँमा, यहाँ पनि त्यहीँ भएको हो, कसैलाई गलत लागेको भए छानविन भइहाल्छ, आरोप गुनासो गरेर मात्र हुँदैन, निकास दिनसक्नुपर्छ, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *