विष्फोटक फर्ममा कुशल मल्लः नेपालका नयाँ ब्याटिङ स्टार


काठमाडौं । भारतीय प्रशिक्षक मोन्टी देसाईले नेपाली राष्ट्रिय टीम सम्हालेपछि नेपालको ब्याटिङ लाइनअपमा एउटा महत्वपूर्ण परिवर्तन गरे । उनले नेपालको मध्यक्रमका ‘पिल्लर’ दीपेन्द्रसिंह ऐरीलाई पछाडि सारेर कुशल मल्ललाई मध्यक्रममा बढुवा गरे ।
विश्वकप लिग २ अन्तरगत हालै घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलाको पहिलो म्याचमा प्रशिक्षकको यो निर्णय जोखिमपूर्ण हुने ठानिएको थियो । कुशलले राष्ट्रिय टीमबाट यसअघि गतिलो प्रदर्शन गर्न सकिरहेका थिएनन् । धेरै म्याचमा असफल भएपछि टीमबाटै हटाइएका उनले घरेलु मैदानमा गरेको प्रदर्शनका बलमा कमब्याक गरेका थिए । उनको ब्याटिङ शैली पनि टप अर्डरभन्दा लो अर्डरका लागि उपयोगी हुने खालको थियो । तर, प्रशिक्षकले देखाएको भरोसामा कुशल खरो उत्रिएका छन् । चौंथो नम्बरमा उनले जुन स्तरको व्याटिङ गरिरहेका छन्, नेपाली क्रिकेटकै लागि यो एउटा सुखद आश्चर्य बनेको छ ।
नेपाल र नामिबियाबीचको पहिलो म्याचमा कुशललाई पाँचौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो । त्यसमा उनी सफल भएनन् । १२ बल खेल्दा ६ रन मात्रै बनाउन सके । तर, प्रशिक्षकले आफ्नो निर्णय परिवर्तन गरेनन् । स्कटल्यान्डविरुद्धको म्याचमा पनि कुशलले पाचौं नम्बरमै पालो पाए । बलियो टीमबिरुद्धको यस म्याचमा उनले आफ्नो क्षमता देखाइदिए ।
३९ रनमा तीन विकेट गुमेको अवस्थामा ब्याटिङमा आएका थिए कुशल । नेपालले २७५ रनको विशाल लक्ष्य पाएको थियो । अर्को इन्डबाट एकपछि अर्को विकेट ढलिरहँदा कुशलले स्कटल्यान्डका बलरहरूको डटेर सामना गरे । सामना मात्रै गरेनन् उनले बलरहरुमाथि पूर्णरूपमा हावी भएर खेले । ७७ रनका पाँच विकेट गुमाइसकेको स्थितिमा कुशललाई साथ दिन आएका थिए दिपेन्द्रसिंह ऐरी । यो जोडीले शतकीय साझेदारी गर्दै नेपाललाई १७७ रनसम्म पुर्याए । त्यसपछि कुशल आउट भए र बाँकी जिम्मेवारी दिपेन्द्रले लिए । उक्त म्याचमा कुशलले केवल ६७ बलमा ८१ रन बनाएका थिए, जसमा ४ छक्का र नौ छक्का सामेल थिए ।
त्यसपछि नामिबियाविरुद्धको म्याचमा प्रशिक्षकले कुशललाई अझै एक स्थान बढुवा दिए । यसमा पनि कुशल सफल भए । १३९ रनमा दोस्रो विकेट गुमेपछि ब्याटिङमा आएका मल्लले आसिफ सेख र कप्तान रोहित पौडेलसँग बलियो साझेदारी गर्दै टीमलाई जितको बाटो देखाएका थिए । ब्याक टु ब्याक अर्धशतक प्रहार गरेका कुशल ४९ बलमा ६२ रन हानेर आउट भए, जसमा ४ छक्का र ६ चौका समावेश थिए । यो म्याच नेपालले तीन विकेटले जितेको थियो ।
स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा नेपाललाई २१३ रनको सामान्य लक्ष्य प्राप्त भएको थियो । यस म्याचमा पाँचौं नम्बरमा आएका कुशलले २८ बल खेल्दा १७ रन मात्र बनाउन सके । नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए ।
घरेलु मैदानमा चम्केका कुशल नेपालको यूएई भ्रमणमा कस्तो गर्लान् भन्ने सन्देह थियो । नेपालका होनाहार ब्याट्सम्यानहरू पनि विदेशी भूमिमा भने लड्खडाउने गरेका छन् ।
नामिबियाविरुद्धको पहिलो म्याचमा परिस्थितिलाई मध्येनजर गर्दै प्रशिक्षक देसाईले कुशललाई होल्ड गरे । नेपालले १८९ रनमा पाँच विकेट गुमाएपछि कुशल ब्याटिङमा आएका थिए । कुशलले १४ बलमा अविजित १२ रन बनाएर नेपाललाई जितसम्म पुर्याए । यो खेलमा नेपालका ओपनरहरुले जितको आधार खडा गरिदिएको हुँदा पछाडिका ब्याट्सम्यानहरुलाई सजिलो भयो ।
हिजो भएको यूएइविरुद्धको कठिन खेलमा कुशल फेरि पाँचौं नम्बरमा फर्किए । उनी ब्याटिङमा आउँदा नेपाल संकटमा परिसकेको थियो । १७ रनमै ३ विकेट गुमाइसकेको अवस्थामा कुशलले सम्हालिएर खेल्न खोज्ने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन । उनले आफ्नै अन्दाजमा खेले । अर्को इन्डमा ब्याट्सम्यानहरु एक-एक रनका लागि संघर्ष गरिरहँदा कुशलले बाउन्ड्रीमाथि बाउन्ड्री लगाइरहे । दुबईको स्लो पीचमा कुशलले देखाएको यो ब्याटिङ नेपालका लागि ठूलो उत्साहको विषय बनेको छ ।
कुशलले नेपाललाई जितको बाटो त देखाउन सकेनन्, तर एक्लै यूएईका बलरहरूसँग संघर्ष गरे । कुशल क्रिजमा हुँदासम्म यूएईले दबाब महसुस गरिरहेको थियो जबकि अन्य ब्याट्सम्यानहरुमाथि यूएईका बलर पूर्णरुपमा हावी भइरहेका थिए । कुशल आउट भएसँगै नेपालको सम्भावना समाप्त भयो ।
कुशलले हिजोको म्याचमा ५३ बलमा ६० रन बनाए, जसमा ९ चौका र एक छक्का सामेल थिए । कुशलले अन्धाधुन्द खेलेर यति रन बनाएका होइनन् । उनले सकारात्मक माइन्डसेटमा आफ्ना सीमाहरू बुझेर ब्याट चलाएका थिए । जति प्रेसर भए पनि कमजोर बललाई दण्डित गर्न उनी हिच्किचाएनन् ।
यसरी पछिल्ला पाँच खेलमा कुशलले तीन अर्धशतक प्रहार गरेका छन्, सबैमा १०० भन्दा माथिको स्ट्राइक रेटमा । नेपालले मध्यक्रममा विष्फोटक शैलीमा खेल्न सक्ने एउटा सशक्त ब्याट्सम्यान पाएको छ । यसको श्रेय प्रशिक्षक मोन्टी देसाईलाई दिन सकिन्छ ।
त्यसो त दीपेन्द्रसिंह ऐरीलाई ७ औं नम्बरमा झार्ने देसाईको निर्णय भने आत्मघाती हुन सक्ने देखिँदैछ । ऐरी नेपालका म्याच विनर हुन् । हार निश्चित भइसकेपछि दीपेन्द्रलाई ब्याटिङमा पठाउँदा उनले सधैँ चमत्कार गर्न सक्दैनन् । त्यसैले कम्तीमा पनि उनलाई पाँच नम्बरमा उतार्नु आवश्यक देखिन्छ ।
कुशलको कुरा गर्दा उनले ब्याटसँगै बलबाट पनि योगदान दिइरहेका छन् । उनको पार्टटाइम बलिङ नेपालका लागि निकै प्रभावकारी बनिरहेको छ । नेपालले विशेषज्ञ स्पिनरका रूपमा सन्दीप लामिछानेलाई मात्रै टीममा राखेको छ । बाँकी स्पिन डिपार्ट कुशल मल्ल र दीपेन्द्र ऐरीले सम्हालिरहेका छन् । यसरी अलराउन्डरहरू टीममा हुँदा नेपालको ब्याटिङ निकै गहिरो बनेको छ ।
आशा गरौं आज पपुवा न्यूगिनीविरुद्धको म्याचमा फेरि एकपटक कुशलको ब्याट बोल्नेछ ।