देउवाको त्यो ‘वचन’ ले संकटमा शाह सरकार – Nepal Press

देउवाको त्यो ‘वचन’ ले संकटमा शाह सरकार

कैलाली । चुनावको प्रचार प्रसारमा डडेल्धुरा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटै मञ्चबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रूपमा खगराज भट्टलाई चित्रण गरे ।

प्रधानमन्त्री देउवासँग लगातार तेस्रो पटक पराजित भएका भट्ट यस पटक देउवाकै सुझावमा प्रदेशमा लड्न तयार भएका थिए ।

देउवा सत्ता गठबन्धनमा सकारात्मक भए आफू निर्वाचित हुनेमात्र होइन सुदूरपश्चिम प्रदेश माओवादीको भागमा पर्ने र सरकारको नेतृत्व आफूले गर्नेमा भट्ट विश्वस्त थिए ।

तर, पुस १० मा तत्कालीन गठबन्धन भत्कियो । सुदूरपश्चिम एमालेको भागमा पर्दा एमालेमा रावल मुख्यमन्त्री भए । पुरानो गठबन्धन भत्किएको ६३ दिन पछि पुरानै गठबन्धन ब्यूँतियो । विनाविभागीय मन्त्री भएर हटेका भट्ट पुस १० अघिको गठबन्धन तयार बन्दा आफू मुख्यमन्त्री बन्ने दाउमा लागे । अहिले उनी काठमाडौंमै छन् । देउवा र प्रचण्डले सँगै उभिएर आफूलाई मुख्यमन्त्री बनाउन दिएको आश्वासन उनले दुवैजनालाई सुनाइसकेका छन् । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डभन्दा कांग्रेस सभापति देउवा सुदूरपश्चिममा भट्टलाई मुख्यमन्त्री बनाउन सकारात्मक देखिएका छन् ।

‘उहाँ (देउवा) ले सबैको अघि डडेल्धुरामा भट्टलाई मुख्यमन्त्री बनाउने बताउनुभएको थियो’ कांग्रेसका एक नेताले भने ‘उहाँ (देउवा) को पनि त्यही निर्वाचन क्षेत्र भएको हुँदा आफ्नो वचन पूरा गर्ने योजनामा हुनुहुन्छ ।’

२०४८ सालदेखि अहिलेसम्म डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवालाई अर्को पटक आफू वा आफ्नो मान्छे जिताउन पनि भट्टलाई रिझाउनु पर्ने बाध्यता छ । त्योसँगै अहिले भट्टलाई माओवादी कोटाबाट मुख्यमन्त्री बनाउँदा आधा कार्यकाल पछि कांग्रेसको कोटाबाट आफ्नो सहोदर भतिजा प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन सकिने देउवाको बुझाइ छ । कैलाली ५ बाट प्रत्यक्ष निर्वाचित देउवा अहिले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

माओवादीमा समस्या, नागरिक उन्मुक्ति अनिर्णीत

केन्द्रमा एमाले नेतृत्वको गठबन्धन हुँदा पनि सुदूरपश्चिम प्रदेशमा एमालेकै मुख्यमन्त्रीले विश्वासको मत पाउन सकेनन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको गरी २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, उनले ३० दिन भित्र विश्वासको मत पाउन सकेनन् । त्यसपछि कांग्रेस संसदीय दलका नेता कमल शाह माघ २६ मा मुख्यमन्त्रीमा नियुक्त भए ।

आफूसँग स्पष्ट बहुमत हुँदा पनि माओवादीभित्रको समस्या र नागरिक उन्मुक्ति पार्टी अनिर्णित बन्दा मुख्यमन्त्री शाहको पद धरापमा भएको चर्चा बढ्न थालेको छ । माओवादी संसदीय दलका नेता समेत रहेका स्थायी कमिटी सदस्य आफैं मुख्यमन्त्री बन्ने दाउमा छन् । माओवादीभित्रैका केही सांसद भने कांग्रेस सरकार जोगाउनु पर्ने बताउँछन् ।

वागमती र कर्णालीमा माओवादी सरकारलाई कांग्रेसले साथ दिएको हुँदा यहाँ कांग्रेस सरकारलाई माओवादीले साथ दिनुपर्ने केही सांसदको भनाई छ । तर, केही सांसद भने प्रचण्ड र देउवाले दिएको वचन पूरा गर्नुपर्नेमा जोड दिइरहेका छन् । माओवादीभित्रैको विवादका कारण अहिलेसम्म शाह सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।

यता नागरिक उन्मुक्ति पार्टी पनि अहिलेसम्म निर्णयविहीन छ । केही सांसदहरू सरकारमा जानुपर्ने बताउँदा केन्द्रीय नेतृत्वले भने मुद्दा सम्बोधन नहुँदासम्म विश्वासको मत नदिन र सरकारमा नजान दबाब दिइरहेको छ । पावर शेयरिङमा पनि उक्त पार्टी रुष्ट छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९ र कांग्रेससँगै सरकारमा रहेको नेकपा एकीकृत समाजवादीको ४ मत छ । अहिले यी दुई दल सरकारमा छन् । केन्द्रमा माओवादी र नागरिक उन्मुक्ति पनि गठबन्धनमा छ । तर,उनीहरूले अहिलेसम्म स्पष्ट निर्णय गर्न सकेका छैनन् ।

‘उपधारा ५’ को सम्भावना कति ?

यदि आगामी ३० दिनभित्र शाहले संविधानको धारा १६८को उपधारा ४ अनुसार विश्वासको मत पाउन नसके उपधारा ५ अनुसार सरकार गठन प्रक्रिया अघि बढ्न सक्छ ।

उपधारा ५ मा भनिएको छ, ‘(३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।’

यो धारामा कुनै पनि प्रदेश सभा सदस्यले दाबी गर्न सक्ने छन् । ती सदस्यले पनि ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । यस्तो अवस्थामा पनि विश्वासको मत प्राप्त गर्न नसके संसद् विघटन हुने र छ महिनाभित्र प्रदेशसभाको अर्को निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ ।

तर, शाहले विश्वासको मत लिन प्रयास जारी राखेका छन् । ,यता कांग्रेस सभापति देउवा आफ्नो बचनका कारण माओवादी केन्द्रका खगराज भट्टलाई मुख्यमन्त्री बनाउन चाहेको स्रोतको दाबी छ ।

मुख्यमन्त्री शाहले फागुन २५ सम्म विश्वासको मत लिनु पर्ने छ । सोही दिन राष्ट्रपतिको निर्वाचन हुँदैछ । २४ गते काठमाडौंमा सत्ता गठबन्धनका सांसदहरूको अन्तरक्रिया राखिएको छ । त्यसको लागि २४ गते भित्रै काठमाडौँ पुग्नुपर्ने छ । २२ र २३ गते होली पर्व भएका कारण २१ गते नै विश्वासको मत लिने मुख्यमन्त्री शाहको तयारी छ । २१ गते विश्वासको मत लिन १९ गते प्रदेशसभा सचिवालयमा उक्त सूचना जानकारी गराउनुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख छ ।

आज प्रदेशसभा सचिवालयमा दर्ता गर्नुपर्ने भएपनि अहिले सम्म उक्त विषयमा कुनै निर्णय नभएको कांग्रेस स्रोतको भनाइ छ ।

मुख्यमन्त्री शाह पनि यस विषयमा अहिले सम्म निर्णय भइनसकेको सुनाउँछन् ।

‘हामी विश्वासको मत पाउँछौँ तर, मिति भने अझै निर्णय भइसकेको छैन ’ उनले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर