फिल्म बजारमा महाभिडन्तः दीपकराजको ब्रान्ड भर्सेस अनमोलको क्रेज


काठमाडौं । बहुप्रतिक्षित दुई नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आज एकैदिन रिलिज हुँदैछन् । फरक जनराका यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला भन्ने चासो र चर्चा सिने बजारमा व्याप्त छ ।
`छक्का पञ्जा ४´ कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र हो । यो समूहसँग अहिलेसम्म एकपटक पनि ‘फेल’ भएको अनुभव छैन । ‘६ एकान ६´ देखि छक्कापञ्जाका ३ वटा सिक्वेल सबै सुपरहिट भएका थिए । छक्का पञ्जा ४ भने लामो समयको ग्यापपछि आएको हो । कोरोनाका कारण चलचित्र निर्माणमा ढिलाइ भएको थियो ।
अर्कोतर्फ `छड्के २ ´चाहीँ आठ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को सिक्वेल हो । सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीजस्ता अभिनयका उस्तादहरू रहेको छड्के व्यपारिक रूपमा भने सफल भएको थिएन । यद्यपि, फरक खालका चलचित्रमा रमाउने ‘क्वालिटी’ दर्शकहरूले चलचित्रलाई रूचाएका थिए ।
हिट चलचित्रको सिक्वेल नभएकाले ‘छड्के २’ को व्यापारिक सफलता सुपरस्टार नायक अनमोल केसीमा अत्यधिक निर्भर छ । अनमोलले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनी थोरै चलचित्र खेल्ने, तर दिलोज्यान लगाएर काम गर्ने नायक हुन् । अनमोलको युवापुस्तामा चर्को फ्यान फलोइङ भएकाले उनका चलचित्रले उच्च इनिसियल व्यापार गर्ने पक्काजस्तै हुन्छ । त्यसपछि भने माउथ पब्लिसिटीमै भर पर्छ ।
छक्कापञ्जा ४ र छड्के २ एकै दिन रिलिज हुनु चाहीँ दुर्भाग्यपूर्ण मान्छन् नेपाली चलचित्रका शुभेच्छुकहरू । दुवैले एकअर्कासँग इगो राखेर वा ओभर कन्फिडेन्स देखाएर चलचित्र जुधाएको आरोप छ ।
रिलिजको अघिल्लो दिन दुवै चलचित्रका टिम मेम्बरले एक अर्कालाई शुभकामना दिएर स्वस्थ प्रतिस्पर्धाको भावना प्रदर्शन गरेका छन् । अनमोलले छड्केसँगै छक्का पञ्जालाई पनि शुभकामना दिएपछि दीपकराजले पनि पैँचो तिर्दै छड्केलाई शुभकामना दिए ।
छड्केले पहिला फागुन १९ गते रिलिज डेट तय गरेको थियो र पछि छक्कापञ्जाले पनि यही मिति घोषणा गरेको हो । छक्का पञ्जा आएपछि छड्केले मिति सार्ने दीपकराज गिरीको आशा थियो, तर त्यस्तो भएन । अनमोल केसी विगतमा बिग बजेटको दक्षिण भारतीय चलचित्रसँग समेत भिड्न नडराएको नजिर छ । उनले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बहुचर्चित दक्षिण भारतीय फिल्मसँग जुध्नुपरेको थियो । यसका बाबजुद चलचित्रले नाफाको व्यापार गरेको थियो ।
यद्यपि यसपालि अनमोललाई बढी रिस्क छ । उनले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर गएर ग्याङ लिडरको भूमिका निभाएका छन् । लभरव्वाईका रूपमा बढी रूचाइएका अनमोललाई ग्याङस्टर अवतारमा दर्शकले कत्तिको रूचाउने हुन् यसै भन्न सकिन्न । यद्यपि उम्दा निर्देशक निगम श्रेष्ठले अनमोलको अभिनयमा धेरै निखार ल्याएको आशा राख्न सकिन्छ ।
यता छक्कापञ्जामा पनि यसपालि केही नयाँपनको आश गरिएको छ । अघिल्ला सिक्वेलहरूको निर्देशन दीपाश्री निरौलाले गरेकी थिइन् भने यसपटक हेमराज विसी निर्देशक छन् । दीपाश्रीको तुलनामा निकै क्षमतावान निर्देशक हुन् हेमराज । छक्कापञ्जा ४ मा उनले आफ्नो खुबी कत्तिको पोख्न पाएका छन् त्यो चाहीँ चलचित्र हेरेपछि थाहा हुनेछ ।
रिलिजको अघिल्लो दिन दुवै चलचित्रका टिम मेम्बरले एक अर्कालाई शुभकामना दिएर स्वस्थ प्रतिस्पर्धाको भावना प्रदर्शन गरेका छन् । अनमोलले छड्केसँगै छक्का पञ्जालाई पनि शुभकामना दिएपछि दीपकराजले पनि पैँचो तिर्दै छड्केलाई शुभकामना दिए ।
एकै दिन रिलिज भएका दुई नेपाली चलचित्र एकसाथ हिट भएको रेकर्ड खासै छैन । यदि अब भयो भने त्यो सुखद अपवाद हुनेछ । तीन करोडभन्दा माथिको बजेटमा बनेको चलचित्रले लगानी उठाउन १० करोडभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ । यदि दुवै चलचित्र सफल भए भने नेपालको फिल्म बजारले ठूलो फड्को मारेको मान्नुपर्नेछ ।
दुवै चलचित्रका मेकरहरू आफ्नो चलचित्रको व्यापारलाई लिएर ढुक्क देखिन्छन् । दुवै चलचित्रले पब्लिसिटीमा धेरै खर्च गरेनन् । छक्का पञ्जाले टिभी रियालिटी शो कमेडी क्लवलाई प्रमोसनका निम्ति `कब्जा´ गर्यो । छड्केले भने सामाजिक सञ्जालमै चित्त बुझायो । विगतमा जस्तो यसपालि अनमोलले कुनै मिडियामा अन्तर्वार्तासमेत दिएनन् ।
दुवै चलचित्रका निर्माताले मिनिमम ग्यारेन्टीमा वितरकलाई बेचिसकेका छन् । छक्का पञ्जालाई मनोज राठीले अढाई करोडमा र छड्केलाई सुनिल मानन्धरले डेढ करोडमा खरिद गरेको बताइन्छ । त्यसैले यी दुवै चलचित्रमा वितरकहरूको आफ्नो लडाइँ छ । क्यूएफएक्स चेनले ६०:४० को अनुपातमा छक्कापञ्जा र छड्केलाई प्रारम्भिक शो दिएको छ । दर्शकको फ्लोका आधारमा आगामी दिनमा शो थपघट हुनसक्छ ।