कोशी नामकरणबारे माओवादीको प्रष्टीकरण- पहिचान जोड्ने प्रयास यसकारण विफल भयो


विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले संसदीय अंकगणितको प्रतिकूलताले पहिचानमा आधारित प्रदेश नामकरण गर्न नसकिएको प्रष्टीकरण दिएका छन् ।
विज्ञप्ति जारी गर्दै उनले अंकगणित नमिलेका कारण भविष्यमा पहिचानमा आधारित नाम ल्याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘संसदमा छलफलकै क्रममा पहिचानको पक्षमा आफ्नो मत सुस्पष्टरूपमा जाहेर गरेका छौं ।’
प्रदेशसभाको पहिलो कार्यकालमा हामीसहित तत्कालीन नेकपा एक्लैसँग दुईतिहाइ बहुमत हुँदा पहिचानमा आधारित प्रदेशको नामका पक्षमा आफूलाई प्रष्ट उभ्याउँदा पहिचान नरुचाउने नेतृत्वको कारण नामकरण हुन नसकेको दाबी माओवादीको छ ।
पहिचानमा आधारित नामकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशबासीसँगै आफूहरू पनि दुःखी बनेको आङ्बोको भनाई छ ।
अहिलेको बाध्यताबारे आङ्बोले भनेका छन्, ‘प्रदेशसभाको दुईतिहाइ संख्या भएका दलहरूले नामकरणको प्रस्ताव अघि बढाएपछि हामीले नाममा पहिचान जोड्न अथक प्रयास गर्यौं । तर, हाम्रो प्रयास अन्ततः विफल बन्नपुग्यो । हाम्रा अघि थोरै मात्रै विकल्प बाँकी थिए । पहिलो, पहिचानसहितको नाममा दुईतिहाइ मत पुर्याउने, दोस्रो नामकरण प्रक्रिया नै रोक्ने र तेस्रो प्रदेश नामकरण नरोक्ने । प्रतिकूल गणितले पहिलो विकल्पको सम्भावना थिएन । दोस्रो विकल्पमा जानु प्रदेशबासीको अपेक्षा र आफ्नै प्रतिबद्धताको पनि विपरीत हुन्थ्यो । त्यसैले हामीले नामकरणमा बाधक नबन्ने विकल्प रोजेका हौं ।’
‘तर, इतिहास दु:खेसोमात्र गरेर बन्दैन । संघर्ष र जनमतबाट मात्रै इतिहास निर्माण गर्न सकिन्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै हामी फेरि दोहोर्याउँछौं’, माओवादीले भनेको छ, ‘भविष्यमा पहिचान पक्षधर शक्तिहरूको दुईतिहाई संख्यासहित प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा लागिरहने प्रण गर्दछौं ।’
२०६४ को संविधानसभादेखि नै पहिचानमा आधारित संघीयता माओवादीको प्रमुख माग भएको तर, संसदीय अंकगणितको अवस्था पार्टीको एजेण्डा र मागको बिल्कुल प्रतिकूल रहेको पनि विज्ञप्तिमा लेखिएको छ ।