प्रदेश १ को नामाकरण हुँदै, आजै ‘सरप्राइज’ दिने दलहरूको दाबी – Nepal Press

प्रदेश १ को नामाकरण हुँदै, आजै ‘सरप्राइज’ दिने दलहरूको दाबी

विराटनगर । प्रदेश १ को प्रदेशसभा प्रदेश नामकरणको विषयले प्रवेश पाउने भएको छ । केही समयदेखिको निरन्तर नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसदमा नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ । बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ ।

अघिल्लो कार्यकालको संसदले प्रदेशको नाम राख्न नसकेको भनेर आलोचना खेपिरहँदा आजै ‘सरप्राइज’ रूपमा प्रदेशको नामकरण हुने स्रोतले जनाएको छ ।

नेकपा माओवादीका प्रदेश सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेती सुशीलले कुनै नाटकीय परिवर्तन नभए आज बुधवार राती ८ बजेसम्म भएपनि नामको विषय टुंगोमा पुग्ने बताए ।

नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिएको छ । यद्यपि अरू नाममा दुई तिहाइ पुग्ने भएपछि जातीय पहिचान नभएको नाममा समेत सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलबार माओवादीका प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्थितिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति लिएको छ ।

माओवादीले कोसी नाममा समेत सहमति जनाउने रणनीति लिएको छ । नेकपा एमालेले भने मंगलबार निर्देशानात्मक संसदीय दलको बैठक गरेको थियो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाएका थिए । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले यस अघि नै प्रदेशको नाम कोसी हुनुपर्ने लबिङ गर्दै आएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलहरुबीच नामकरणको विषयमा छलफल भएको स्वीकार गर्दै यदि सभामा नामको प्रस्ताव आएमा आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिए ।यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर